सामाजिक उत्तरदायित्वमा खर्च गर्ने संघ/संस्थाहरुले नै यसको प्रभावकारिताबारे प्रश्न उठाएका छन्।
खासगरी बैंकिङ क्षेत्रले यसको मौजुदा व्यवस्था प्रभावकारी नभएकाले पूर्ण रुपले परिवर्तन हुनुपर्ने बताएका हुन्।
वर्तमान व्यवस्थाअनुसार बैंकहरुले गर्ने नाफाको १ प्रतिशत खर्च सामाजिक कार्यमा हुँदै आएको छ।
राष्ट्र बैंक ऐनको दफा ७९ मा भएको व्यवस्थाअनुसार बैंकहरुले खुद नाफाको १ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।
तर अहिलेसम्म भएका यस्ता खर्चको प्रभावकारिता नभएको बैंकहरुको भनाइ छ।
नेपाल राष्ट्र बैंकले यस्तो खर्चको ‘मोडालिटी’बारे पुनर्विचार गर्न लागेका बेला बैंकहरुले यसको आद्योपान्त समीक्षा हुनुपर्ने सुझाव दिएका छन्। केन्द्रीय बैंकले सोहीअनुसार यसको नयाँ फ्रेमवर्क तयार गरिरहेको छ।
बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले अहिलेको व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
राष्ट्र बैंकका एक अधिकारीले बैंकहरुले नै यसको प्रभावकारिता नभएकाले पूर्ण परिवर्तन गर्न सुझाव दिएको बताए।
ती अधिकारीले भने, ‘उनीहरुले बैंकले गर्ने खर्चको कारण बैंकिङ शिक्षा पाओस्, बैंकिङ तथा आर्थिक क्षेत्रमा केही योगदान हास् भन्ने हो, त्यसमा शून्य प्रभाव रहेको कुरा उठान भएको छ। केही हदसम्म यो कुरा जायज र सही पनि छ।’
बैंकका प्रतिनिधिहरुले स्वास्थ्य क्षेत्रमा गरेको खर्चले आज एक दिन मात्रै नभई त्यसको प्रभाव दिगो हुनुपर्ने राय दिएको उनको भनाइ छ।
‘जस्तो बैंकसँग सरोकार राख्ने तथा आर्थिक क्षेत्रमा काम गर्नेहरुले छुट पाउने गरी स्वास्थ्य संस्था खोल्न सकिने होस्’, ती अधिकारीले उदाहरण दिए, ‘आर्थिक विषयवस्तु बुझाउने गरी शैक्षिक संस्थाहरु स्थापना गराउनेजस्ता काममा यस्तो खर्च गर्न बैंकका प्रतिनिधिहरुले सिफारिस गरेका छन्।’
बैंकहरुले दिएका सुझाव, छलफलमा सिफारिस भएका विषयहरुलाई समेत समेटेर नेपाल राष्ट्र बैंकले एउटा फ्रेमवर्क तयार गर्ने र सोहीअनुसार प्रभावकारी हुने गरी लागू गराउने जनाएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्रै नयाँ फ्रेमवर्क तयार गरेर अर्को आर्थिक वर्षदेखि लागू गराउने तयारी गरेको छ। सोहीअनुसार योजना बनाएर यसको काम भइरहेको छ।
४ क्षेत्रमा खर्च गर्न पाइने यस्तो छ हालको व्यवस्था
हालको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्छ।
अघिल्लो वर्षको सो रकम पछिल्लो वर्ष खर्च गर्नुपर्ने व्यवस्था छ। यसलाई समेत थप सिर्जनशील गराउने गरी खर्च प्रणाली विकास गर्नुपर्ने बैंकहरुले माग गरेका छन्।
संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न ४ वटा क्षेत्रहरु नै तोकिएको छ। सामाजिक परियोजना, प्रत्यक्ष अनुदान, दिगो विकास लक्ष्य, चाइल्ड डे केयर सेन्टरलगायतमा यस्तो खर्च गर्न पाइन्छ।
सामाजिक परियोजनाहरुअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम आदिमा गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष खर्च देखाउन मिल्नेछ। परियोजना छनौट गर्दा सम्बन्धित क्षेत्रमा कार्य गरिरहेका विशिष्टीकृत संस्थाहरुबाट सार्वजनिक सूचनामार्फत प्रस्ताव माग गरी छनौट गर्नुपर्ने र सोहीअनुसार खर्च गर्नुपर्ने व्यवस्था छ।
प्रत्यक्ष अनुदान खर्चअन्तर्गत अतिविपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा हुने खर्च व्यहोरिदिने गरी हुने प्रत्यक्ष अनुदान खर्च वा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको भौतिक संरचना निर्माण, साधन खरिद सञ्चालन खर्च आदिलाई सामाजिक उत्तरदायित्व देखाउन मिल्नेछ।
दिगो विकास लक्ष्यअन्तर्गत नेपालको दिगो विकास लक्ष्यले पहिचान गरेका १७ वटा क्षेत्रहरुमा तोकिएका लक्ष्यहरुको प्राप्तिमा सहयोग हुने गरी गरिने अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरु सामाजिक उत्तरदायित्वमा देखाउन मिल्नेछ।
चाइल्ड डे केयर सेन्टरअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरुका लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लागेको खर्च समेत सामाजिक उत्तरदायित्वमा देखाउन मिल्नेछ।
तर संस्थाको ब्राण्ड प्रवर्द्धन हुने गरी गरिने खर्च यस कोषबाट व्यहोर्न पाइनेछैन। तर, संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा संस्थाको नाम सौजन्यको रुपमा उल्लेख गर्न भने बाधा पुगेको नमानिने उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्रको विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।
Shares
प्रतिक्रिया