नेपालको आफ्नै ‘नेपाल पेमेन्ट कार्ड’ छिट्टै आउने भएको छ।
नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसन मिलेर भिसा र मास्टरकार्डजस्तै नेपालको आफ्नै कार्ड ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
यसको लागि नेपाल क्लियरिङ हाउस लिमिटेडले नेशनल पेमेन्ट स्विचको पूर्वाधार तयार गर्दै आफ्नै कार्ड सञ्चालनमा ल्याउन लागेको छ। सुरुमा नेपाली बैंकहरूले ‘नेपाल पेमेन्ट कार्ड’ आफ्ना ग्राहकलाई वितरण गर्नेछन्।
नेपालका अधिकांश बैंकले अमेरिकी भिसा कार्ड प्रयोग गर्दै आएका छन्। प्रभु बैंकले भने चिनियाँ यूपीआई सिस्टम ‘युनियन पे’ प्रयोग गर्दै आएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनमा मात्रै १ करोड १ लाख पटक एटीएमबाट कारोबार भएको छ। नेपाली प्रयोगकर्ताले भिसा वा युनियन पे (एटीएम कार्ड) मार्फत गर्ने हरेक कारोबारमा वार्षिक करोडौँ रुपैयाँ विदेशिने गरेको छ।
विश्वभर प्रयोगमा रहेको भिसा कार्ड प्रयोगकर्ता २ अर्ब ५० करोड छन्। त्यस्तै मास्टरकार्डका विश्वभर डेढ अर्ब प्रयोगकर्ता छन्। ८ वर्षअघि भारतले प्रयोगमा ल्याएको रुपे कार्डका प्रयोगकर्ता ६५ करोड बढी पुगिसकेका छन्।
भारतले रुपेलाई भिसा र मास्टरकार्डसँग प्रतिस्पर्धा गर्ने गरी व्यापक बनाइरहेको छ। सिंगापुर, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, साउदी अरेबिया, म्यान्मार, भुटान र नेपालले भारतीय रुपे कार्डलाई स्वीकार गरिसकेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपालको आफ्नै कार्डको लागि राष्ट्र बैंकले नेशनल पेमेन्ट स्विचको विकास गरी अघि बढिसकेको बताए। पौडेलले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई पेमेन्ट स्विच स्थापना गर्नको लागि निर्देशन दिइसकेको बताए।
‘एनसीएचएलले ग्लोबल टेन्डर आह्वान गरेर नेशनल पेमेन्ट स्विच स्थापनाको लागि धेरै काम गरिसकेको छ’, राष्ट्र बैंकको पेमेन्ट सिस्टम विभागका प्रमुख समेत रहेका पौडेलले भने, ‘यो सिस्टम निजी र सरकारी सबै प्रयोजनको लागि डिजिटल पेमेन्टमा उपयोग हुन्छ।’
एनसीएचएलले सफ्टवेयरको विकास गरी नेपालका सबै बैंक तथा वित्तीय संस्था, वालेट, पेमेन्ट सर्भिस प्रोभाइडर, पेमेन्ट सर्भिस अपरेटर सबैलाई जोड्नेछ।
‘मुलुकमा सम्पूर्ण भुक्तानी गर्ने संयन्त्र बन्दै छ। राष्ट्र नेपालको आफ्नै डोमेस्टिक कार्ड ल्याउन लागेको छ’, उनले भने, ‘भारतमा रुपे कार्ड, श्रीलंकामा लंका कार्डजस्तै नेपालमा आफ्नै कार्ड ल्याउने काम अघि बढिसकेको छ।’
राष्ट्र बैंकले नेपालकै आफ्नो कार्ड हुँदा भिसा र युनियन पेको लागि बाहिरिने रकम जोगिने बताएको छ। अहिले बैंकहरूबीच कारोबार हुँदा सेवाशुल्कबापत ग्राहकको बढी खर्च हुने गरेको छ। नेपालकै आफ्नै सिस्टम हुँदा सेवाशुल्क एकदमै न्यून हुनेछ।
सफ्टवेर डेभलप हुँदै, केही समयमै लञ्च
राष्ट्र बैंक र बैंकहरूको संयुक्त लगानीमा खुलेको नेपाल क्लियरिङ हाउस लिमिटेडले नेशनल पेमेन्ट स्विचअन्तर्गतकै ‘रिटेलिङ पेमेन्ट स्विच’ लाइभ गरिसकेको छ। कम्पनीले गत मंसिरबाट ‘नेपाल पे’ नामबाट डिजिटल कारोबार गरिरहेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले नेपालीले आफ्नै कार्डमार्फत कारोबार गर्न पाउने बताए।
‘नेपालमा जसरी भिसा, मास्टरकार्ड र युनियन पेको कार्ड चलिरहेको छ’, प्रधानले भने, ‘नेपालको आफ्नो नेपाल पे कार्ड बैंकहरूले आफ्ना ग्राहकलाई वितरण गर्नेछन्।’
एनसीएचएलले बनाइरहेको अनलाइन संयन्त्र नेशनल पेमेन्ट स्विचले नेपालमा अहिले जति पनि खुद्रा डिजिटल कारोबारहरू कार्ड, वालेट, मोबाइल बैंकिङ, विभिन्न क्यूआर कोडबीच सञ्चालन गर्न मिल्ने प्रणाली स्थापना गर्ने गरिरहेको छ।
‘पहिलो चरणमा रिटेलर पेमेन्ट स्विच (नेपाल पे) कार्डबाहेकको मोबाइल बैंकिङ, वालेट, क्यूआर कोर्डको स्विच लाइभ भइसकेको छ’, प्रधानले भने, ‘दोस्रो चरणमा नेपालको आफ्नै कार्डको लागि पूर्वाधार निर्माण गरिरहेका छौँ।’
उनले नेपालको आफ्नै कार्ड बजारमा ल्याउने अन्तिम चरणमा पुगेको बताएका छन्।
‘नेपालकै सिस्टम डेभलपमेन्टको काम अन्तिम चरणमा पु¥याएका छौँ’, उनले भने, ‘केही समयमै यस विषयमा थप जानकारी गराउँछौँ।’
Shares
प्रतिक्रिया