ad ad

कारोबार


नाफामा प्रभु बैंकको ऐतिहासिक छलाङ, अन्य सूचकमा पनि असाधारण सुधार

अघिल्लो वर्ष २८ करोड नाफा गरेको प्रभु बैंकले यसरी पुर्‍यायो साढे ४ अर्ब नाफा
नाफामा प्रभु बैंकको ऐतिहासिक छलाङ, अन्य सूचकमा पनि असाधारण सुधार

नेपालखबर
साउन २१, २०८१ सोमबार १५:२६, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० (अघिल्लो वर्ष) मा करोडमाथि उक्लिन नसकेको प्रभु बैंकले नाफामा एकै वर्ष ४ अर्बमाथिको छलाङ मारेको छ। यो नै प्रभु बैंकको अहिलेसम्मकै सर्वाधिक नाफा हो। 

वाणिज्य बैंकहरुमध्ये ५० प्रतिशतको नाफामा अधिकतम ८० प्रतिशतसम्मको कमी आइरहँदा प्रभु बैंकले भने एकै वर्ष असाधारण नाफा आर्जन गरेको हो। 

बैंकले आव २०७९/८० सालमा जम्मा २८ करोड २ लाख रुपैयाँ मात्रै खुदा नाफा कमाएको थियो। सो वर्ष बैंकको नाफामा ८५ प्रतिशतले कमी आउनुमा बैंकले देशको खस्किँदो अर्थतन्त्रको उपज मानेको थियो। 

तर अर्थतन्त्रमा देखिएको सुस्तता तथा आर्थिक मन्दीको अवस्था कायमै रहँदा पनि बैंकले नाफामा ऐतिहासिक छलाङ मारेको छ। एकै वर्षमा खुद नाफा १४९९ प्रतिशतले बढाउन सफल भएको छ।  

बैंकले असार मसान्तसम्म कुल ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो बैंकको अपरिष्कृत विवरण हो। अघिल्लो वर्ष बैंकले २८ करोड रुपैयाँ नाफा कमाएको थियो। 

त्यसअगाडिका वर्षहरुमा औसतमा १ अर्बमाथिको नाफा गर्दै आएको बैंकले २०७९/८० मा भने नाफा करोडमा मात्रै गर्न सक्यो। सो वर्ष अर्बमा उक्लिन नै नसकेको बैंकले एक वर्षमा सर्वाधिक नाफा वृद्धि गर्ने पहिलो बैंकको रुपमा आफूलाई उभ्याएको छ।

प्रभु बैंकले पछिल्ला ६ वर्षमा गरेको नाफा  

आर्थिक वर्ष नाफा (रु)
२०७५/७६ १ अर्ब ७८ करोड
२०७६/७७ १ अर्ब १९ करोड
२०७७/७८ १ अर्ब ७२ करोड
२०७८/७९ १ अर्ब १९ करोड
२०७९/८० २८ करोड
२०८०/८१ ४ अर्ब ४८ करोड (अपरिष्कृत)

आर्थिक वर्ष २०७५/७६ सालमै १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको बैंकले त्यसपछिका वर्षहरुमा उस्तै नाफा कमाउन सकेन। कहिले बैंकले अर्थतन्त्रलाई देखाउँदै नाफा घटेको निष्कर्ष निकाल्यो त कहिले कर्जा नोक्सानी व्यवस्थापनको कारण देखायो। यो बीचमा बैंकको नाफामा अपेक्षित सुधार आउन सकेको थिएन। फलतः बैंकको आव २०७६/७७ मा नाफा खुम्चिएर १ अर्ब १९ करोडमा झर्न पुग्यो। त्यसपछिको वर्ष २०७७/७८ मा भने बैंकको नाफा बढ्दै पुनः १ अर्ब ७२ करोडमा पुगेको देखिन्छ। 

यस्तै २०७८/७९ मा भने बैंकको नाफा पुनः १ अर्ब १९ करोडमै ओर्लिएको छ। यो अवधिसम्म नाफामा अर्बको क्लबमै रहेको बैंक त्यसपछिको वर्ष अर्थात् २०७९/८० मा भने ५ प्रतिशतले घट्दै २८ करोडमा झरेको थियो। 

नाफा खस्किनुमा बैंकले सुस्त आर्थिक गतिविधिलाई कारण मानेको थियो। यद्यपि त्यसपछिको एक वर्ष अर्थात् गत असार मसान्तसम्म भने बैंकले नाफामा व्यापक सुधार गरेको हो। 

आर्थिक वर्ष २०८०/८१ मा १४९९ प्रतिशतको वृद्धिसहित प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। 

नेपाल राष्ट्र बैंकले बैंकहरुले झेल्नुपरेको पुँजी कोष दबाब, उच्च खराब कर्जा तथा कर्जा नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकमका कारण नाफामा घटेको निष्कर्ष निकाल्दै मौद्रिक नीतिबाट थप सहुलियत दिएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाफा बढाउनकै लागि कर्जा नोक्सानी व्यवस्थापनअन्तर्गत असल कर्जामा कुल कर्जाको १.१ प्रतिशत रकम मात्रै राख्न पाउने व्यवस्था गरेका छन्। उनले पुँजीकोषको दबाब घटाएर नाफा बढाउन विभिन्न मौद्रिक उपकरण समेत चलाएका छन्। 

बैंकहरु नाफा घटेको रोइलो गरिरहँदा प्रभु बैंकले भने नाफामा ऐतिहासिक छलाङ मार्न सफल देखिएको छ। 

बैंकका अन्य सूचकमा पनि असाधारण सुधार 
नाफामा मात्रै नभएर नाफालाई सघाउ पुर्‍याउने बैंकका अन्य सूचकहरुमा पनि असाधारण सुधार देखिएको छ। 

अघिल्लो वर्षको तुलनामा बैंकले ५.५३ प्रतिशतले बढी निक्षेप संकलन गरेको छ। 

अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत असारसम्म (आव २००/८१) मा ३ खर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो। 

निक्षप संकलन बढाएसँगै बैंकको ब्याज आम्दानी पनि उल्लेख्य बढेको छ। यो वर्ष बैंकले कुल ३२ अर्ब ३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष ३९ अर्ब ८९ करोड रुपैयाँ थियो। 

बैंकको सञ्चालन नाफा पनि १ अर्बबाट बढेर यो वर्ष ७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा १ अर्ब ५५ करोड रहेकोमा यो वर्ष बढेर ७ अर्ब ५ करोड रुपैयाँमा पुगेको छ। 

बैंकले यो वर्ष ९ करोड ७६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापनमा राखेको छ। अघिल्लो वर्ष पनि यति नै रकम व्यवस्थापनमा राखेको थियो। बैंकको लाभांश क्षमता ५.२ प्रतिशत छ। 

नाफा बढे पनि खराब कर्जा चिन्ताजनक 
नाफा बढे पनि खराब कर्जा अनुपातमा भने सुधार देखिएको छैन। गत असारसम्म बैंकको खराब कर्जा अनुपात ४.७८ प्रतिशतमा छ। 

अघिल्लो वर्षको तुलनामा यो वर्ष घटे पनि खराब कर्जा चिन्ताजनक अवस्थामै रहेको हो।

अघिल्लो वर्ष बैंकको खराब कर्जा ४.९८ प्रतिशत थियो। यो वर्ष खराब कर्जा सामान्य घटेको छ तर यसलाई सुधार भएको मान्न सकिन्न। 

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको सीमा ५ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .