ad ad

कारोबार


नेपालमा उडान नै नगर्ने वायुसेवालाई भ्याट तिर्न ताकेता, पन्छाइयो पर्यटनमन्त्रीको हटाउने प्रस्ताव

भ्याटको व्यवस्थामा चौतर्फी असन्तुष्टि, प्राधिकरण भन्छ– कार्यान्वयन जटिल छ
नेपालमा उडान नै नगर्ने वायुसेवालाई भ्याट तिर्न ताकेता, पन्छाइयो पर्यटनमन्त्रीको हटाउने प्रस्ताव

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी र नेपाली व्यवसायीले यसको विरोध गर्दै आएका छन्। तस्बिर : एआई


वसन्त अर्याल
असार २३, २०८१ आइतबार ११:४३, काठमाडौँ

सरकारले नेपालमा उडान नै नगर्ने वायुसेवा कम्पनीलाई मूल्यअभिवृद्धि कर (भ्याट) तिर्न सूचना जारी गरेको छ।

आन्तरिक राजस्व विभागले नेपाल उडान नगर्ने (अफलाइन) एयरलाइन्सलाई समेत भुक्तानी गर्न भनेको हो। 

हवाइ यातायातमा चालू आर्थिक वर्षदेखि लागू भएको मूल्यअभिवृद्धि कर हटाउन पहल भइरहेको बेला नेपालमा उडान नै नगर्ने कम्पनीलाई समेत भ्याट तिर्न ताकेता गरेको छ। 

‘आर्थिक विधेयक २०८१ मा भएको व्यवस्थाअनुसार नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय हवाइ यातायात सेवाप्रदायकहरुले विदेशबाट मूल्यअभिवृद्धि कर दाखिला गर्नका लागि खाता खोलिएको छ’, विभागले भनेको छ, ‘मूल्यअभिवृद्धि करबापतको रकम तोकिएको म्यादभित्र राजस्व खातामा दाखिला हुने गरी पठाउनु।’

विदेशबाट खातामा रकम पठाउन कुनै शुल्क लाग्ने भएमा करदाता स्वयंले व्यहोर्नुपर्ने पनि सूचनामा उल्लेख छ।

नेपालबाट विदेशमा टिकट काट्दा कर कार्यालयमा १३ प्रतिशत भ्याट बुझाउने गरिए पनि विदेशबाट टिकट काट्ने र नेपालमा उडान नै नगर्ने हवाइ यातायात सेवाप्रदायकले भुक्तानी गर्ने व्यवस्था जटिल देखिएको छ।

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी र नेपाली व्यवसायीले यसको विरोध गर्दै आएका छन्। 

प्रधानमन्त्रीले खारेज हुने बताए, बजेटमा आयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममै हवाइ टिकटमा लाग्ने भ्याट खारेज हुने बजेटअघि घोषणा गरेका थिए।

तर बजेटले अफलाइन एयरलाइन्सहरुले समेत भ्याट तिर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल सरकारले विदेशमा नभएको व्यवस्था लागू गरेको भन्दै पर्यटन व्यवसायीले विरोध गर्दै आएका छन्। 

उदाहरणका लागि सरकारको व्यवस्थाले नेपालबाट कुनै पनि यात्रुले भारतलाई ट्रान्जिट बनाएमा युनाइटेड एयरलाइन्सबाट अमेरिका पुग्दा यात्रुले भ्याट तिर्नुपर्नेछ। युनाइटेड एयरलाइन्सले ट्रान्जिटको यात्रु लगेकाले नेपालमा उडान नगरे पनि नेपाल सरकारलाई भुक्तानी गर्नुपर्नेछ। 

‘विभागले अफलाइन एयरलाइन्सको भ्याट उठाउनको लागि ठूला करदाता कार्यालयलाई तोकेको छ’, प्रमुख कर प्रशासक जनकराज शर्माले भने, ‘अफलाइन एयरलाइन्सको रुपमा अहिलेसम्म एउटा कम्पनी सम्पर्कमा आएको छ।’

आन्तरिक राजस्व विभागले विश्वको जुनसुकै कुनाबाट टिकट काटे पनि यात्रुले भ्याट तिर्नुपर्ने जनाएको छ। 

‘नेपाल सरकारले विदेशबाट नेपाल आउने हवाइ टिकटमा भ्याट लगाएको छैन’, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलले भने, ‘नेपालबाट जुनसुकै गन्तव्यमा जाने यात्रुले हवाइ टिकटको भ्याट तिर्नुपर्छ।’

पोखरेलले अधिकांश अन्तर्राष्ट्रिय हवाइ यातायात कम्पनीले भ्याट तिरिरहेको बताए। 

‘अहिले अधिकांश कम्पनीले नै भ्याट तिरेको अवस्था छ’, उनले भने, ‘भ्याट नतिरेका कम्पनीहरुलाई असोजसम्म म्याद दिइएको छ। उक्त समयसम्म जरिवाना लाग्दैन।’ 

आन्तरिक राजस्व विभागले हवाइ यातायातमा भ्याट लगाउँदा वार्षिक ५ देखि ६ अर्ब रुपैयाँ उठ्ने गरेको बताएको छ। 

‘अन्तर्राष्ट्रिय हवाइ यातायात संगठनको सफ्टवेयर प्रयोग गरी टिकट काट्छन्’, विभागका निर्देशक आनन्द कुमार गुप्ताले भने, ‘उनीहरुले काटेको टिकटको भ्याट आइटाको टी ६ सफ्टवेयरमार्फत ठूला करदाता कार्यालयमा आउने व्यवस्था छ।’

भ्याट खारेज गर्न मन्त्रिपरिषद्मा पर्यटनमन्त्रीको ठाडो प्रस्ताव, स्वीकृत भएन 
हवाइ यातायातमा भ्याट लाग्ने व्यवस्था हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ठाडो प्रस्ताव लगेका थिए। तर उक्त प्रस्ताव स्वीकृत भएन। मन्त्रिपरिषद्मा थप छलफल गर्ने भन्दै पन्छाइएको छ। 

‘नेपालको पर्यटन क्षेत्रलाई नै अप्ठ्यारो पर्ने देखेर भ्याट खारेजीको ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थिएँ’, मन्त्री तामाङले नेपालखबरसँग भने, ‘फेरि छलफल गर्नुपर्ने भन्दै अगाडि बढाइएन।’

चिनियाँ कम्पनीहरुले नेपाल सरकारले भ्याट खारेज नगरे उडान नै रोक्ने चेतावनी दिएका छन्। सरकारले चीनसँग सम्झौता गर्दा अतिरिक्त कर नलगाउने शर्त मानेको थियो। तर जथाभावी कर लगाएको भन्दै वायुसेवा कम्पनीले असन्तुष्टि व्यक्त गरिरहेका छन्। 

अन्तर्राष्ट्रिय उडानमा भ्याट कार्यान्वयन जटिल : प्राधिकरण 
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले आन्तरिक उडानमा भ्याट लागू गर्न सहज देखिए पनि अन्तर्राष्ट्रिय हवाइ सेवामा अप्ठ्यारो भएको स्वीकार गरे। 

‘नेपालभित्र दर्ता भएका वायुसेवा कम्पनीहरुबाट भ्याट उठाउन सजिलो भयो र विरोधका बीच पनि लागू भयो’, पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय एयरलाइन्सको गुनासो पनि बढी देखिएको छ र नियमन गर्न पनि अप्ठ्यारो देखिएको छ।’

अन्तर्राष्ट्रिय टिकटको कार्य विभिन्न वालेट, कार्डमार्फत गर्दा कुन टिकट कतिमा बिक्री भयो भन्ने नै जटिल छ। 

‘एउटै जहाजमा लाखको टिकट काट्ने यात्रु पनि हुन्छन् र हजारको टिकट काट्ने पनि हुन्छन्’, पाण्डेले भने, ‘हवाइ यातायातको व्यावसायिक मोडल जटिल भएकाले भ्याटको रकम उठाउन अप्ठ्यारो छ।’

व्यवसायी भन्छन्– पर्यटक आउँदैनन्, आउने पनि डाइभर्ट हुन्छन्
भ्याट कसरी उठाउने विषय अर्थ मन्त्रालयको भए पनि नागरिक उड्डयन प्राधिकरणले भ्याट लगाउँदा भाडा महंगो भएकाले यात्रु डाइभर्ट हुने चिन्ता छ। 

ट्राभल एजेन्सीको काम गर्ने व्यवसायीहरुका अनुसार अमेरिकाबाट भारतमा आउनुभन्दा नेपालमा आउँदा १ लाख रुपैयाँ बढी हवाइ लागत बढ्ने अवस्था देखिएको छ। नेपालको हवाइ भाडादर नै बढी हुँदा पर्यटक नेपालको सट्टा अन्य गन्तव्य रोज्ने अवस्था आएको व्यवसायीको दाबी छ। 

नेपाल टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले सरकारको भ्याट नीतिले नेपालको हवाइ भाडा नै महंगो भएको बताए। 

‘विश्वमा कहीँ पनि नभएको र नेपालमा छुट्टै कानुनी व्यवस्था नगरी हवाइ यातायातमा भ्याट लगाइएको छ’, थपलियाले भने, ‘अहिले पर्यटक सिधै नेपाल आउनुको सट्टा भारत हुँदै नेपाल आउने गरेका छन्।’

नाट्टाले हवाइ यातायातमा भ्याट लगाउँदा नेपालको समग्र पर्यटन व्यवसायमा कस्तो असर प¥यो भन्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। 

पाटा नेपाल च्याप्टरका महासचिव नेत्रदेव भट्टले नेपालको हवाइ भाडा वृद्धि हुँदा पर्यटकले गन्तव्य नै परिवर्तन गरेको दाबी गरे। 

‘नेपाल आउँदा हवाइ भाडामा लाग्ने खर्चले इन्डोनेसिया, थाइल्यान्डमा बस्ने खर्च उठ्दो रहेछ’, उनले थपे, ‘पर्यटकहरु नेपाल आउनुको सट्टा अरु देशमा नै घुम्ने गरेका छन्।’

नेपालको सडक पूर्वाधार बिग्रिएको र हवाइ टिकटमा भ्याट लागू हुँदा पर्यटक डाइभर्ट हुन खोजेको व्यवसायी बताउँछन्। 

‘लुम्बिनीबाट पोखरा आउने पर्यटक दाउन्नेमा घण्टौँ बस्नुपर्छ। पोखरा जोमसोम जाने पनि त्यस्तै अवस्था छ’, भट्ट भन्छन्, ‘हवाइ यातायातमार्फत जान हवाइ इन्धन र भ्याटले टिकट महंगो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .