अग्लो डाँडा आउँदा छेड्ने र गहिरो खाल्डो वा खोला आउँदा अग्ला पुल बनाउने। हो, नेपालको सडक पूर्वाधारले पुरानो मोडल छोडी अब नयाँलाई आत्मसात् गर्दै छ।
अब बन्ने सडक खोली बग्ने किनारै किनार वा नदी वहने तिरैतिर वहकिनेछैन। बरु, यस्तो इन्जिनियरिङ पाउँदै छ, जसले यात्राको समय छोट्याउनेछ र गन्तव्यलाई अझै नजिक ल्याउनेछ।
विदेशका सिधा र फराकिला बाटा, गाडी हुइँकिने अग्ला पुल, दोबाटा र चौबाटाका ओभरपास र अन्डरपास, भीमकाय पहाडको मुन्तिर छेडिएका सुरुङ देखेर गरिने कल्पना अब चाँडै नेपालको यथार्थ बन्दै छ।
निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग त्यही यथार्थको एउटा उदाहरण हो। नेपाली सेनाले निर्माण गरिरहेको यो मार्ग तयार भएसँगै काठमाडौंबाट निजगढसम्मको कम्तीमा ५ घण्टा लाग्ने हालको यात्रा १ घण्टामा छोटिनेछ। यसलाई छोट्याउने काम बनिरहेका आधा दर्जन सुरुङ र २ दर्जन विशेष पुलले गर्नेछन्।
खोला र डाँडामा घुम्ने नेपालका सडक सिधा हुँदै छन्। घण्टौँ लाग्ने सडक यात्रा मिनेटमा झर्दै छ। ठाडा र उकाला सडक तेर्सा बन्दै छन्। गाडीको गति बढाउन घुम्ती काटिँदै छन्।
त्यसकारण पनि यो द्रुतमार्ग भविष्यको सडक यातायात पूर्वाधारको एउटा मानक नमूना बन्दै छ। एसियाली मापदण्डअनुसारको नेपालका लागि पहिलो द्रुतमार्ग त हुनेछ नै, यसले पहाडै पहाडको भूगोलका लागि सुहाउँदो सडक पूर्वाधारको नयाँ मोडल दिनेछ।
द्रुतमार्ग मात्र नभई नेपालभर सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ। राजमार्ग छोट्याउन पुल निर्माण र घुमाउरो सडक बन्ने पहाडलाई छेड्ने योजना बनिरहेका छन्।
द्रुतमार्गमा ३ वटा फ्लाई ओभर बन्दै गर्दा उपत्यकाभित्रै ट्राफिक सहज बनाउन बलम्बु, ग्वार्को, कोटेश्वर, बानेश्वरमा समेत फ्लाई ओभर र अन्डरपासका योजना तयार भइरहेका छन्।
भौगोलिक अवस्थाअनुसार यातायात पूर्वाधार
भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा नेपालको भौगोलिक अवस्थाअनुसार यातायात पूर्वाधार बनाउनेतर्फ लागेको बताउँछन्।
त्यसका लागि सुरुङमार्ग आवश्यक भएकाले यससम्बन्धी सम्भाव्यता अध्ययन भइरहेको उनको भनाइ छ।
‘सुरुङमार्ग नेपालको लागि आवश्यक छ। तर इनिसियल इन्भेष्टमेन्ट (सुरुको लागत) सडकको तुलनामा बढी हुन्छ’, शर्मा नेपालखबरसँग भन्छन्, ‘अहिले सम्भाव्यता अध्ययन गरिराख्ने, वैदेशिक सहयोग वा हाम्रो लगानी गर्ने क्षमता वृद्धि हुनेबित्तिकै कार्यान्वयन गर्ने सोच हो।’
पछिल्लो समय विस्तार र मर्मतसम्भारका कामले काठमाडौं–मुग्लिङ सडक, पूर्व–पश्चिम राजमार्गलगायत अधिकांश ठूला राजमार्गको दूरी घट्दै छ। मध्यपहाडी राजमार्गको काम भइरहेको छ।
मध्यपहाडमा यसको निर्माण हुँदै गर्दा घुमाउरो राजमार्गलाई सुरुङ बनाई छोट्याउनुपर्ने बहस सुरु भएको छ। नेकपा एमालेले त केही समयअगाडि गरेको मध्यपहाडी यात्रापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदनमार्फत राजमार्ग छोट्याउन सुझाव दिइसकेको छ।
‘पहिले सडकको पहुँच पुर्याउने मात्र उद्देश्य थियो’
नेपालमा सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्गको अध्ययन गरिरहेको छ।
केन्द्रका निर्देशक नरेशमान शाक्य पहिले नेपालमा पहुँच पुर्याउने उद्देश्यले मात्रै सडक निर्माण गरिएको बताउँछन्। जसका कारण घुमाउरा, ग्रेड नमिलेका (उकालो ओरालो बढी) र मोड नमिलेका सडक निर्माण भएको उनको भनाइ छ।
‘सडक विभागसँग पुल बनाउने क्षमता थिएन। एउटा पुल घटाउन २५ किलोमिटर लामो बाटो बनाउँथ्यौँ’, सुपरिटेन्डेन्ट इन्जिनियर शाक्य भन्छन्, ‘अहिले सवारीसाधन बढी गुड्न थाले। दुर्घटना बढ्दै गएपछि हाम्रा पूर्वाधार संरचना बनाउने शैली नै परिवर्तन गर्न लागेका छौँ।’
नेपाल सरकारको नीतिमै सुरक्षित र दिगो सडक बनाउने उल्लेख छ। यसअनुसार अब सुरुङमार्ग र अग्ला पुलसहितको सडक निर्माण हुनेछन्। जसको डिजाइन नै १२ महिनै सञ्चालन भइराख्ने गरी हुने उनी बताउँछन्।
‘अहिले विस्तार भइरहेका सडकमा घुमाउरो बाटो छ भने सिधा बनाउँदै दूरी छोट्याउने गरिरहेका छौँ’, शाक्य थप्छन्, ‘पहिलाको तुलनामा हाम्रो क्षमता बढेको छ। घुमाउरो बाटोमा पुल हालेर छोट्याउने काम गरेका छौँ।’
तत्कालको लागि सुरुङमार्ग र पुल बनाउँदा लागत बढी देखिए पनि दीर्घकालीन रुपमा बढी उपयुक्त रहेको उनको भनाइ छ।
शाक्यका अनुसार सवारीको चाप बढी हुने सडकमा सम्भाव्यताको आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको छ।
‘अन्तर्राष्ट्रिय दातृनिकायले यातायात पूर्वाधार बन्दा सुरक्षामा बढी ध्यान दिन्छन्। सुरुङमार्गको योजना सुनाउँदा लगानी गर्न बढी उत्सुक हुने गरेका छन्’, उनी भन्छन्।
दशैँसम्म ४ सुरुङको ‘ब्रेक थ्रु’, सिद्धबाबामा छेडिँदै
निर्माणाधीन द्रुतमार्गमा कुल ६ सुरुङ छन्। सेनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ती सुरुङको लम्बाइ १० किलोमिटर छ। यीमध्ये ३ वटा सुरुङमार्ग आगामी दशैँसम्म छेडिसकिनेछ।
काठमाडौंतर्फका १ किमिको देवीचौर, ०.३९ किमिको सिसौटारको ठेक्का लाग्ने प्रक्रियामा छ भने २.२५ किमिको चन्द्राम भीर सुरुङ निर्माण सुरु भइसकेको छ।
तीव्रगतिमा निर्माण भइरहेकामध्ये महादेवडाँडा सुरुङ ३.३५ किमि दसैँसम्म सक्ने लक्ष्य छ। अहिलेसम्म यसको करिब २ किलोमिटर सुरुङ खनिसकिएको छ। अर्को १.६३ किलोमिटरको धेद्रे सुरुङमार्गको हालसम्म १.१७ किमिको छेडिसकिएको छ। यसको जेठसम्म ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ।
मधेशतर्फको अन्तिम सुरुङ १.४३ किलोमिटर लम्बाइको लेनडाँडामा १.२३ किमि सकिएर ‘ब्रेक थ्रु’ हुने अवस्थामा छ। यो सुरुङ चैतसम्म ‘ब्रेक थ्रु’ हुनेछ।
नेपाली सेनाका महासेनानी इन्दीबर गुरुङले सुरुङमार्ग र अग्ला पुल हुँदा २ घण्टा लाग्ने ठाउँ १५–२० मिनेटमै पुग्न सकिने बताउँछन्।
‘काठमाडौं–तराई द्रुतमार्गमा सुरुमा एउटा मात्रै सुरुङ प्रस्ताव गरिएको थियो। पछि दूरी घटाउन ३ वटा बनाइयो’, द्रुतमार्ग निर्माणका इन्चार्ज समेत रहेका गुरुङ भन्छन्, ‘सडकको दूरी घटाउन र सुरक्षित बनाउन डीपीआर नै संशोधन गरी ६ वटा पुर्यायौँ।’
द्रुतमार्गले बदल्नेछ दृष्टिकोण
द्रुतमार्ग बनिसक्दा नेपालका सडक पूर्वाधारलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्ने गुरुङ बताउँछन्।
‘नेपाली सेनाले दुर्गमका सडकमा ट्रयाक खोल्दै आएको थियो। अहिले द्रुतमार्ग निर्माण हेरिरहेका छौँ’, उनी भन्छन्, ‘यो नेपालकै मेगा प्रोजेक्ट हो। दु्रतमार्गले पूर्वाधार निर्माणमा नेपालको क्षमतामा समेत वृद्धि गर्छ।’
चालू आर्थिक वर्षमा नागढुंगा सुरुङमार्गको निर्माण कार्य सक्ने बजेट वक्तव्यमा उल्लेख छ। सरकारले ५ अर्ब १३ करोड रुपैयाँ बजेट यसका लागि विनियोजन गरेको थियो।
एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको कुल २.६ किमि लम्बाइको यो सुरुङमार्ग करिब १२ मिटर मात्रै पूरा हुन बाँकी छ।
आगामी मार्च ६ मा यसको ‘ब्रेक थ्रु’ हुने भनिए पनि जग्गा विवाद, मुआब्जा, घर चर्किएको, पानीको मुहान सुकेको भन्दै स्थानीयले विरोध गर्दा ब्रेक थ्रुको समय केही पछि धकेलिएको छ।
‘सुरुङमार्गको काम करिब १२ किमि बाँकी छ। बलम्बुमा फ्लाई ओभरको लागि मुआब्जा विवाद कायमै छ’, आयोजना प्रमुख नविनमान श्रेष्ठ भन्छन्, ‘सुरुङको काम सकिए पनि फ्लाई ओभर नबन्दा कसरी चलाउने भन्ने विकल्पबारे छलफल भइरहेको छ।’
सुरुङमार्ग निर्माण हुँदा काठमाडौंको ‘लाइफलाइन’ मानिने सडकखण्डको दूरीसँगै यातायात सहज हुनेछ। नागढुंगाको उकालोमा हाल एउटा गाडी बिग्रिँदा जाम हुने, साँघुरो बाटोलगायतका समस्या हुँदै आएको छ।
त्यस्तै बुटवलबाट पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग पनि धमाधम निर्माण भइरहेको छ। रुपन्देही र पाल्पाको सीमामा पर्ने आयोजना हरेक वर्ष पहिरोले सडक अवरुद्ध गर्ने र यात्रुको ज्यान समेत जाने गरेको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएसीईसी)ले यसको ठेक्का पाएको छ। १.१२ मिटर लामो यो सुरुङमार्ग ईपीसी (डिजाइन गरी आफैँ निर्माण गर्ने) मोडलमा बनिरहेको छ। यो कुल ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लागेको छ।
यसअनुसार ४ वर्षमा सुरुङमार्ग निर्माण गरी हस्तान्तरण गर्नुपर्नेछ।
चिनियाँ कम्पनीले केही दिनअघि मात्रै आधिकारिक रुपमा सुरुङमार्ग खन्न थालेको थियो। उक्त सडक प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ, स्याङ्जा हुँदै कास्कीको पोखरासम्म यातायात साधन चल्छन्।
यता प्रस्तावित टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन चाँडै सक्ने लक्ष्य राखिएको छ। विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन गरी निर्माण कार्य अघि बढाउन १ अर्ब विनियोजन गरिएको छ। बागमती प्रदेशले टोखा–छहरे सुरुङमार्ग बनाउन बजेट विनियोजन गरेको छ।
सामान्य सडकभन्दा ३० प्रतिशतसम्म बढी लागत
सामान्य सडकभन्दा सुरुङमार्ग निर्माण गर्दा २० देखि ३० प्रतिशत लागत बढी हुन्छ।
सचिव शर्माले मन्त्रालयको नियमित बजेटबाट सुरुङ निर्माण गर्न अप्ठ्यारो भइरहेको बताए। दातृनिकाय तयार भएका आयोजना भने छिट्टै बन्ने सम्भावना रहेको उनले सुनाए।
‘टोखा–छहरे सुरुङमार्ग निर्माण गर्नको लागि चिनियाँ र खुर्कोट–चियाबारी (सिन्धुली) सुरुङमार्ग बनाउन जापान इच्छुक छन्’, उनले भने, ‘यी २ सुरुङमार्गको पूर्ण अध्ययनपछि दुई देश निर्माणमा अघि बढ्छन्।’
७ सुरुङमार्गको सम्भाव्यता अध्ययन सकियो
देशका कतिपय ठाउँमा धमाधम सुरुङमार्ग बनिरहँदा सडक विभागले अन्य ७ ठाउँमा यसको सम्भाव्यता अध्ययन गरिसकेको छ। चालू आर्थिक वर्षमा एउटा सुरुङमार्गको तयारीको लागि थोरै बजेट छुट्याए पनि अरु योजनामै छन्।
३.८७ किमिको धरान–लेउती सुरुङमार्गको आर्थिक वर्ष २०७८/०७९ मै अध्ययन सम्पन्न भएको थियो। ११ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
त्यसैगरी, कैलालीबाट डोटी जोड्ने ७ किलोमिटर लामो खुटिया–बीपीनर–दिपायल सुरुङमार्गको योजना छ। आर्थिक वर्ष २०७९/८० मा इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सलटेन्टले अध्ययन गर्दा यो बनाउन १३ अर्ब ४० करोड रुपैयाँ लाग्ने देखिएको छ।
ललितपुर–काभ्रे जोड्ने गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्गको पनि आर्थिक वर्ष २०७९/०८० मा अध्ययन सकिएको थियो। ३.६५ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माणमा ७ अर्ब ९७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
अहिलेसम्म अध्ययन भएको सबैभन्दा लामो बाग्लुङ ब्युं नरेठाटी सुरुङमार्गको चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिएको छ। ३ वटा कम्पनीले संयुक्तरुपमा गरेको अध्ययनले ७.४४ किलोमिटर लामो सुरुङ निर्माण गर्न २० अर्ब ४८ करोड रुपैयाँ खर्च हुने देखिएको छ।
यो वर्ष नै अध्ययन सकिएको पाल्पाको प्रवास–जोर्ते ४ किलोमिटर सुरुङमार्ग निर्माण गर्न ९ अर्ब ३५ करोड रुपैयाँ लाग्ने देखिएको छ।
आर्थिक वर्ष २०७६/७७ मै अध्ययन सम्पन्न भएका कुलेखानी–भीमफेदी सुरुङमार्ग र खुर्कोट–सिन्धुली सुरुङमार्ग निर्माण गर्न सकिने देखिएका छन्। दुवै सुरुङको टेको–होमलेन्ड–नर्थ स्टारले संयुक्तरुपमा अध्ययन गरेका हुन्।
३.१ किलोमिटर दूरीको कुलेखानी–भीमफेदी सुरुङमार्ग बनाउन १० अर्ब ७२ करोड र ४.९ किलोमिटर दूरीको खुर्कोट–सिन्धुली सुरुङमार्ग निर्माण गर्न १६ अर्व ८१ करोड लाग्ने देखिएको छ।
थप ११ वटा सुरुङमार्गको अध्ययन हुँदै
सडक विभागले नै ११ वटा नयाँ सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिरहेको छ।
पोखराको फुस्रेखोला छोरेपाटनदेखि स्याङ्ग्जा गुडीकोला जोड्न गत असोजमा अध्ययन गर्न ठेक्का सम्झौता नै भएको छ।
त्यस्तै, रारा राजमार्गको कुशे पाटन अर्थात् जाजरकोटको ब्याउलीढुंगादेखि जुम्लाको इमिलचा खोलासम्म सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न असोजमै सम्झौता भएको छ।
सरकारले काठमाडौं उपत्यका जोड्न ‘चार भन्ज्याङः चार सुरुङमार्ग’को योजना बनाएको छ।
त्यस्तै अरनिको राजमार्गलाई छोटो दूरीको बनाउन भक्तपुरको ताथलीदेखि काभ्रेको रविओपी हुँदै पाँचखालसम्मको सुरुङमार्ग बनाउने योजना छ। जहाँ करिब ४.९ किलोमिटर लम्बाइको सुरुङमार्ग हुने अनुमान छ।
उता बबई–छिन्चु सुरुङमार्गको ईआरएमसी–स्लेट जेभीले अध्ययन गरिरहेको छ।
यता, मझिमटार–शक्तिखोर सुरुङमार्ग डीबी मल्टी युनिट्स–डिजाय जेभीले अध्ययन गरिरहेको छ। यसको लागि गत आर्थिक वर्षको जेठ २ मा अध्ययन सम्झौता भएको थियो।
इलामको सुनमाई–राजदुबोल सुरुङमार्गको विषयमा ३ वटा कम्पनीले संयुक्तरुपमा अध्ययन गरिरहेका छन्। असोजबाट उक्त सुरुङमार्गको अध्ययन थालिएको हो।
कास्कीको हेम्जा नयाँपुल खण्ड सुरुङमार्ग र नवलपरासीको दुम्कीबास–बर्दघाटको ठेक्का सम्झौता बाँकी छ। चालू आर्थिक वर्षभित्रै यसको ठेक्का सम्झौता भई अघि बढ्ने सडक विभागले जनाएको छ।
त्यसैगरी लम्जुङ–मनाङ जोड्ने बेसीसहर–नाल्म बेसी सुरुङमार्ग, तुलसीपुर–लुहाम सुरुङमार्ग र अर्घाखाँचीको पाणिनि गाउँपालिकादेखि दुर्गाफाँटसम्म जोडिने सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ। ३ वटा सुरुङमार्गको अध्ययनको लागि चालू आर्थिक वर्षभित्रै ठेक्का आह्वान हुनेछ।
Shares
प्रतिक्रिया