डाबर नेपालले १ वर्षमै साढे २ अर्ब रुपैयाँले सञ्चालन आम्दानी बढाएको छ। गत आर्थिक वर्षमा कम्पनीले १३ अर्ब रुपैयाँको कारोबार गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा १० अर्ब ६९ करोड रुपैयाँको वस्तु बिक्री गरेको थियो। कम्पनीको कर, ब्याज र भाडाअघिको नाफा १३.९० प्रतिशत छ। एक वर्षमा कम्पनीको आम्दानी २१.७१ प्रतिशतले बढेको हो।
नयाँ प्रोडक्ट ल्याएसँगै व्यापारमा स्वाभाविक वृद्धि भएको डाबर नेपालले जनाएको छ।
‘अहिले बढेको कारोबार नियमित वृद्धि हो’, डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह वेदीले भने, ‘डाबर नेपालले नयाँ प्रोडक्ट लन्च गर्दा व्यापार बढाउन सहयोग गरेको छ।’
पछिल्लो ५–६ वर्षमा कम्पनीले १० अर्ब रुपैयाँकै आसपासमा व्यापार गरिरहेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा उसको सञ्चालन आम्दानी १० अर्ब १ करोड रुपैयाँ छ।
उक्त वर्ष कर, ब्याज र मुद्रा अवमूल्यनसहितको नाफा १४.२१ प्रतिशत थियो। त्यस्तै, ०७५/०७६ मा १० अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले कर, ब्याजलगायत सहितको नाफा १३.८२ प्रतिशत कमाएको छ।
‘गत आर्थिक वर्षमा कारोबार बढ्नुमा नयाँ प्रोडक्टसँगै मुख्यतः पेय पदार्थको व्यापार वृद्धिले कारोबार बढेको हो’, उनले भने।
कम्पनीको बेभरेजको रुपमा ‘रियल’ ब्रान्ड छ। रियलका मात्रै ४० बढी भेरियन्ट (प्रकार) बजारमा उपलब्ध छन्। बजारमा रियलका जुसको माग बढी हुने गर्छ।
कोभिड महामारीको कारण ०७६/०७७ मा कम्पनीको कारोबार २ अर्ब रुपैयाँले घटेको थियो। फलतः उक्त वर्ष कम्पनीले ८ अर्ब ९ करोड रुपैयाँ मात्रै कारोबार गरेको थियो भने नाफा ११.४० प्रतिशतमा सीमित भएको थियो।
कोभिडपछि भने कम्पनीको व्यापार फस्टाएको छ।
नेपालमा डाबर, रियल र हाजमोला ब्रान्ड सबैभन्दा चर्चित छन्। आयुर्वेदिक र जडीबुटीजन्य सेगमेन्टका उत्पादन कम्पनीले गर्दै आएको छ। डाबरले जुस, पेयपदार्थ, च्यवनप्रास, ग्लुकोज, मञ्जन, हेयर आयल, हाजमोला र मह बिक्री गर्दै आएको छ।
डाबर नेपाल सन् १९८९ मा स्थापना भएर १९९२ बाट व्यवसाय सुरु गरेको कम्पनी हो। नेपालमा यो भारतको मुख्य कम्पनीको सहायक कम्पनीको रुपमा छ।
यसमा ९७.५० प्रतिशत सेयर डाबर इन्डिया लिमिटेडको छ। डाबर बहुराष्ट्रिय ब्रान्डको रुपमा स्थापना भइसकेको छ।
कम्पनीको नेपालमा ३०० बढी वितरक र १ लाख बढी रिटेलरमा डाबर नेपालका प्रोडक्ट पाइने कम्पनीले उल्लेख गरेको छ।
९ अर्ब ६१ करोड रुपैयाँ लगानी अन्तिम चरणमा
यसैबीच, डाबरले नेपालमा थपेको लगानी कार्यान्वयन अन्तिम चरणमा पुगेको छ।
लगानी बोर्डले गत वर्ष डाबर नेपालको प्रस्तावित ठूलो लगानी स्वीकृत गरेको थियो। कम्पनीको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि २०७८ माघमा ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी स्वीकृत गरेको थियो।
‘नेपालमा व्यवसाय वृद्धिको लागि हामीले लगातार लगानी बढाउँदै लगेका छौँ’, कम्पनीका वेदीले नेपालखबरसँग भने, ‘नयाँ लगानी स्वीकृत भइसकेको छ। आवश्यक सबै कागजी प्रक्रिया पूरा गर्ने अन्तिम चरणमा छौँ।’
लगानी बोर्डबाट स्वीकृत भएको उक्त लगानी केही नयाँ प्रोडक्ट उत्पादनमा उपयोग गर्ने कम्पनीले जनाएको छ।
‘केही लगानी नयाँ प्रोडक्टको लागि गर्छौँ भने केही अहिलेकै प्रोडक्ट उत्पादन क्षमता वृद्धिको लागि प्रयोग हुन्छ’, उनले भने।
डाबरले भारतको एफएमसीजी उत्पादनमा नेतृत्व गर्दै आएको छ। भारतमा १८८४ मा स्थापना भई हेल्थकेयर, पर्सनल केयर र खाद्य क्षेत्रमा विभिन्न वस्तु उत्पादन गर्दै आएको छ।
कम्पनीको १०० भन्दा बढी देशमा उत्पादन पुगेका छन्।
Shares
प्रतिक्रिया