चर्चित मोबाइल गेम पब्जी र नेपालकाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता भएकाे छ।
नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ।
वर्ल्डलिंकका अनुसार नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिन्छ।
नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी माेबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर रहेका छन्।
‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’, वर्ल्डलिङ्कका सीईओ केशव नेपालले भने।
वर्ल्डलिंंक र पब्जी माेबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपूर्व कदमको रूपमा लिएको बताएका छन्।
‘थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुनेछ जसले गेमिङप्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो बृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्नेछ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ’, सीईओ नेपालले भने।
साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले मोबाइल गेमिङको इकोसिस्टममा परिवर्तन ल्याई नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको बताए।
उनले भने, ‘यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन्।’
उनले पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काईलाइट्स गेमिङ र टी२के जस्ता प्रतिभाले पब्जी मोबाइलको लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेका स्पष्ट रूपमा देख्न सकिने बताए।
‘यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिलेको उनको भनाइ थियो। सीआर७ र फोरके गेमिङजस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउँदै लैजानु पनि हो’, उनले भने, ‘हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौँ।’
त्यसैले पब्जी मोबाइलले वर्ल्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएको उनले बताए। यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने कम्पनीको जोस र संकल्पलाई आत्मसात् समेत गरेको बताए।
‘यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो’, उनले भने।
Shares
प्रतिक्रिया