नेपालमा फाइभजी सञ्चालनको तयारी गरिरहँदा १ करोड बढी थ्रिजीकै ग्राहक रहेको पाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार १ करोड ४६ हजार अझै थ्रिजीका प्रयोगकर्ता रहेका हुन्।
फोरजीको पहुँच ७७ वटै जिल्लामा पुगे पनि अझै १ करोड प्रयोगकर्ता थ्रिजी प्रयोग गरिरहेका छन्। सन् २०१७ जनवरी १ बाट काठमाडौं र पोखरामा नेपाल टेलिकमले फोरजी लञ्च गरेको थियो।
२०१७ कै जुनबाट एनसेलले काठमाडौंमा फोरजी लञ्च गरेको थियो।
टेलिकम सेवा प्रदायकले ५ वर्षअघि नै फोरजी सार्वजनिक गरेकोमा अझै एक तिहाइ बढी जनसंख्या थ्रिजी प्रयोग गरिरहेका छन्।
थ्रिजीको लञ्च नेपालमा दक्षिण एसियामै पहिले भएको थियो। नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकमले २००७ मै लञ्च गरेको थियो।
नेपालको सबै ठाउँमा टेलिकम्युनिकेसनका पूर्वाधार स्थापना हुन नसक्दा कुनै ठाउँमा थ्रिजी समेत चल्नसक्ने अवस्था छैन।
३ वटा टेलिकम कम्पनी सञ्चालनमा रहेकोमा नेपाल टेलिकम र एनसेलका १ करोड बढी प्रयोगकर्ता थ्रिजीमै अड्किएका छन्। ताजा तथ्यांकले फोरजीमा ग्राहक अझै अपग्रेड हुन नसकेको देखाएको छ।
नेपाली प्रयोगकर्तामा ७४.७३ प्रतिशतले मोबाइलबाटै इन्टरनेटको प्रयोग गर्दै आएका छन्। मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकमका ८३ लाख २६ हजार ग्राहक थ्रिजी प्रयोग गर्छन् भने एनसेलका २० लाख ६८ हजार थ्रिजीका प्रयोगकर्ता छन्।
फोरजी प्रयोगकर्तामा नेपाल टेलिकममा १ करोड १२ लाख र एनसेलका ७१ लाख ग्राहक फोरजी प्रयोगकर्ता छन्। स्मार्ट टेलिकमका १ लाख ४६ हजार प्रयोगकर्ता समेत फोरजी प्रयोगकर्ता रहेका छन्।
३ वटा कम्पनीका कुल १ करोड ८५ लाख प्रयोगकर्ता फोरजीका रहेका छन्।
आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड २६ लाख थ्रिजी र १ करोड १० लाख फोरजीका प्रयोगकर्ता थिए। पछिल्लो १ वर्षमा थ्रिजीका प्रयोगकर्ता जम्मा २६ लाखले मात्रै घटेका छन्। २०७५ असारसम्ममा थ्रिजीका ग्रहाक ९६ लाख र फोरजीका ग्राहक १७ लाख रहेका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले सबै ठाउँमा फोरजीको कभरेज नहुँदा थ्रिजीका ग्रहाक अपग्रेड हुन नसकेको बताए।
‘सबै जिल्लामा फोरजी त पुगेको छ तर काठमाडौंकै कतिपय ठाउँमा फोरजीले काम गर्दैन’, मिश्रले भने, ‘फोरजीको पूर्वाधारकै कमीको कारण नै थ्रिजीका ग्राहक करोड बढी रहेका हुन्।’
पूर्वाधारको अपग्रेडसँगै थ्रिजीका ग्राहक घटी फोरजीका प्रयोगकर्ता बढ्ने उनी बताउँछन्।
फाइभजी के हुँदै छ?
नेपालमा फाइभजी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई सरकारले परीक्षण अनुमति दिइसकेको छ।
टेलिकमले अघिल्लो आर्थिक वर्षभित्रै परीक्षण सम्पन्न गर्ने उल्लेख गरे पनि हालसम्म सबै उपकरण भित्र्याउनसकेको छैन।
नेपाल टेलिकमले काठमाडौं उपत्यकासहित एनसेलले फाइभजी परीक्षणको लागि अनुमति माग गरे पनि सरकारले अझै दिएको छैन।
Shares
प्रतिक्रिया