२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेका थिए कृष्ण थापा।
कांग्रेसका प्रत्यासी नरेशशंकर पालिखेलाई २ हजारभन्दा बढी मतले पराजित गरेका थापाले पोखराको विकासका लागि केही योजना अघि सारे।
२०५८ सालतिर उनले पोखराको विकासको लागि गुरुयोजना सार्वजनिक गरे।
गुरुयोजना २०३१ सालतिर तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले बनाएको योजनाको जगमा उभिएको थियो।
तर, कार्यकालको अन्त्यमा आएको त्यो गुरुयोजना कार्यान्वयनमा आएन।
उनी अक्सर आफूले तयार पारेको गुरुयोजना अनुरुप पोखराको विकास नगरिएकोमा गुनासो गर्थे।
कतिसम्म भने लामो समयपछि आफ्नै पार्टीका नेता मानबहादुर जिसीले महानगरको जिम्मेवारी सम्हाल्दा पनि उनी सन्तुष्ट थिएनन्।
‘मानबहादुर जिसीको कार्यकालमा कृष्ण कमरेड झण्डै प्रतिपक्षको भूमिकामा रहनुभयो’,एक एमाले नेता भन्छन्,‘उहाँको कार्यकालमा भर्ना गरिएका एमाले निकट कर्मचारीहरुलाई परिचालित गर्नुभयो र सहयोगभन्दा असहयोगी भूमिका देखाउनुभयो।’
हो, थापासँग गुनासा थिए। जापानको कोमागाने नगरसँग भगिनी सम्बन्ध गाँसेका उनी त्यही नाममा फेवाताल किनारमा स्थापना गरिएको कोमागाने पार्क संरक्षण नभएकोमा चिन्तित देखिन्थे।
आफ्नै ठाउँ बाटुलेचौरमा बनेको कोमागाने मातृशिशु अस्पतालप्रति ध्यान नदिइएको आरोप लगाउँथे।
गण्डकी प्रदेश सांसदको भूमिकामा रहेका थापा आफूलाई ‘माननीय’ भन्दा ‘मेयर’ भनेर बोलाउँदा खुसी हुन्थे।
संयोग कस्तो भने, उनको पालामा उपमेयर रहेका क्याप्टेन मानबहादुर गुरुङकी छोरी मञ्जुदेवी पोखराकी उपमेयर थिइन्।
तर, कृष्ण थापाले गुनासो गर्न छाडेनन्। प्रदेश सांसदभन्दा कार्यकारी भूमिका भएको महानगरको मेयर ताकिरहे।
संयोग कस्तो भने, मेयरमा सिफारिस गरिएका समकक्षी दीपक पौडेलको टिकट खोसिएसँगै अहिले एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवार कृष्ण थापा नै बनेका छन्।
पोखरामा एमाले बलियो छ। पुरानो छवि तथा पछिल्लो समय संगठित देखिएको क्षेत्री समाजका सदस्यको रुपमा उनी स्वयं पनि कमजोर छैनन्। भला, उनीमाथि जातीय विभेदको संगीन आरोप लागकै किन नहोस्!
चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सीएमए (कम्युनिटी मेडिकल असिस्टेन्ट)पढाइ सकेका, शिक्षाका स्नातक गरेका थापा बोल्नमा माहिर छन्।
२०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा जन्मेका थापासँग राजकीय पदका विभिन्न अनुभव छन्।
२०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट उदाएका उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति थिए।
संयोग कस्तो भने, उनी स्ववियु सदस्य रहेको क्याम्पसबाटै राजनीति थालेका र कुनै समय एउटै पार्टीमा रहेका एकीकृत समाजवादीका नेता धनराज आचार्यसँग मेयरमा प्रतिष्पर्धा गर्ने ठाउँमा उनी आइपुगेका छन्।
२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा लिएर सोमनाथ प्यासीको प्रचारमा खटिएका थापासँग २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल बसेको विरासत पनि छ।
हाल एमाले केन्द्रीय सदस्य रहेका थापा २०६५ सालमा एमाले कास्कीको सचिव, २०७० सालमा एमाले कास्की अध्यक्षसमेत भएका थिए।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए।
थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए।
Shares
प्रतिक्रिया