ad ad

निर्वाचन विशेष


केन्द्रमा पानी बाराबार, भीम रावलको क्षेत्रमा समाजवादी र माओवादीसँग एमालेकाे तालमेल

केन्द्रमा पानी बाराबार, भीम रावलको क्षेत्रमा समाजवादी र माओवादीसँग एमालेकाे तालमेल

गोकुल जोशी
बैशाख २३, २०७९ शुक्रबार २०:१२, महेन्द्रनगर

आसन्न स्थानीय तह चुनावमा देशभरका अधिकांश ठाउँमा पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। 

गठबन्धनका दलहरुले अधिकांश स्थानमा गठबन्धनलाई चुनावमा पनि निरन्तरता दिएका छन् भने कतिपय ठाउँमा गठबन्धनकै केही दल आपसमै प्रतिस्पर्धामा उत्रिएका छन्।

पाँचदलीय गठबन्धनसँग एक्लै चुनावमा उत्रिएको बताउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि राप्रपा लगायत साना दलहरुसँग चुनावी तालमेल गरेको  छ।

देशभर सत्तागठबन्धनलाई निरन्तर दिँदै चुनावमा जाने र गठबन्धन बाहिरका शक्तिसँग चुनावी तालमेल नगर्ने सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको थियो। 

यद्यपी सुदूरपश्चिमको अछाममा भने यो सहमति कार्यान्वयन हुन सकेको छैन। नेकपा एमालेका नेता डा. भीम रावलको गृहजिल्ला अछाममा केन्द्रमा ‘पानी बाराबार’ को सम्बन्ध रहेका नेकपा एमालेको माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल भएको छ। 

तत्कालीन नेकपा हुँदा देखि नै पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र केपी शर्मा ओलीको सम्बन्ध चिसिएको छ। केन्द्रको ‘दुश्मनी’लाई बिर्सिंदै गठबन्धनका दलहरुको सहमति विपरित अछामका स्थानीय नेताकार्यकर्ताले केही स्थानीय तहमा एमालेसँग तालमेल गरेका हुन्।

एमाले नेता भीम रावलको १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एमालेबाट विभाजन भएको एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। 

एमाले र एकीकृत समाजवादीबीच भएको सहमति अनुसार मेल्लेखको अध्यक्षमा नेकपा एमालेले भीम खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीले समिता महरलाई चुनावी मैदानमा उतारेको छ। 

७ वटा वडा रहेको मेल्लेखमा ६ वटा वडामा एमालेले र १ वडामा समाजवादीले नेतृत्व पाएको छ। यस्तै, मेल्लेखमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ। 

उता रावलकै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने अर्को स्थानीय तह साँफेबगर नगरपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ। त्यहाँ एमालेले प्रमुखमा पशुपति कुँवर र उपप्रमुखमा माओवादीले रंग ठकुल्लालाई चुनावमा उतारेको छ। 

एमालेसँग तालमेल गर्ने जिल्ला तहले कुनै निर्णय नगरेको एकीकृत समाजवादी अछामका नेता शेरबहादुर कुँवरले बताए। ‘हामीले एमालेसँग तालमेल गर्ने कुनै निर्णय गरेका छैनौँ,’ उनले नेपालखबरसँग भने, ‘स्थानीयस्तरका साथीहरुले आफैँले गर्नु भएको हो।’

४ वटा नगरपालिका र ६ गाउँपालिका गरेर १० स्थानीय तह रहेको अछाममा नेपाली कांग्रेसले ५ स्थानीय तहमा चुनावी तालमेल गरेको छ।

नेपाली कांग्रेस अछामका सभापति पुष्प शाहका अनुसार मंगलसेन, साँफेबगर नगरपालिका र रामारोशन गाउँपालिकामा समाजवादी तथा मेल्लेख र बान्नीगढ जयगढ गाउँपालिकामा माओवादी केन्द्रसँग कांग्रेसले चुनावी तालमेल गरेको छ।

वि.सं २०७४ सालको चुनावमा नेपाली कांग्रेसले ४ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै, २ स्थानीय तहमा उपप्रमुख र १ स्थानीय तहमा प्रमुख मात्रै जितेको थियो। नेकपा एमालेले २ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र एक स्थानीय तहमा प्रमुख मात्रै जितेको थियो।

यस्तै, नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै, १ स्थानीय तहमा प्रमुख तथा १ स्थानीय तहमा उपप्रमुख मात्रै जितेको थियो।

चुनाव जित्न कठिनाइ भएपछि एमालेको गठबन्धन
नेकपा एमाले विभाजन पछि रावलको गृहजिल्लामा कमजोर बनेको एमालेले चुनाव जित्न सकस पर्ने देखिएपछि तालमेलमा गएको हो। 

‘पार्टी विभाजनले धेरै साथीहरु समाजवादीतिर गएका छन्। ०७४ सालको जस्तो शक्ति हामीसँग नभएकाले चुनाव जित्न गाह्रो थियो,’ नेकपा एमालेका एक नेताले नेपालखबरसँग भने, ‘यहाँका अधिकांश कार्यकर्ताहरु पनि मिलेर जानु पर्ने पक्षमा थिए। उहाँहरु (समाजवादी र माओवादी) सँग छलफल गर्दै जाँदा सहमति पनि जुट्यो।’

केन्द्रका नेताहरुको लडाईं रहे पनि तल्लो तहका कार्यकर्तामा सहकार्य र सहअस्तित्वको भावना अझै कायम रहेकाले मिलेर जान सकिन्छ भन्ने सन्देश दिन पनि तालमेल गरिएको उनको भनाइ थियो। 

नेकपा एमालेले वि.सं. २०७४ सालको स्थानीय तह चुनावमा रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने अछामका २ स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै र १ स्थानीय तहमा प्रमुख मात्रै जितेको थियो।

तीमध्ये अहिले साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख बिर्मला देवी बुड्थापा र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदलगायत अन्य जनप्रतिनिधि समाजवादीमा गएका छन्। 

सदरमुकामको स्थानीय तह मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय मात्रै अहिले एमालेमा छन्।

नेकपा एमालेले ०७४ सालमा जितेका स्थानीय तहमा जितलाई कायम राख्न पार्टी फुटको असरलाई परिपूर्ति गर्ने रणनीतिका साथ माओवादी र समाजवादीसँग तालमेल गरेको छ।

यस्तो छ अंक गणित
एमालेले माओवादीसँग तालमेल गरेको साँफेबगर नगरपालिका एमालेले प्रमुख उपप्रमुख जितेको स्थानीय तह हो। 

अहिले उनीहरु दुवै जना समाजवादीमा गएका छन्। वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुखमा एमालेका कुलबहादुर कुँवर ५ हजार ८ सय ३८ मत ल्याएर विजयी भएका थिए।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका ध्वजबहादुर कुँवरले ५ हजार ४ सय २२ र माओवादीका खकेन्द्र वडले ५ सय ६३ मत ल्याएका थिए। 

यस्तै, उपप्रमुखमा नेकपा एमालेकी बिर्मलादेवी बुड्थापा ५ हजार ९ सय ४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसकी रुपा आउजीले ५ हजार २ सय ६५ र माओवादीकी बैजन्ती कुँवर ५ सय ७८ मत ल्याएकी थिइन्।

यस्तै, समाजवादीसँग तालमेल गरेको मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकबहादुर बोहरा ४ हजार ५ सय ८ मत सहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका डम्बर नेपालीले ३ हजार ९ सय ९२ मत ल्याएका थिए।

यस्तै, उपाध्यक्षमा कांग्रेसका धनबहादुर शाही ४ हजार ४ सय ८ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी समिता महरले ४ हजार २ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .