देशभरका उम्मेदवारलाई जस्तै काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितको पनि दौडधूप चर्को छ। मौन अवधि सुरु हुन १ दिनमात्र बाँकी हुँदा काठमाडौंमा छुटेका केही कार्यक्रम सक्न र मतदाता रिझाउन उनी सोमबार बिहानैदेखि ब्यस्त थिए।
ब्यस्त कार्यतालिकाबीच त्रिपुरेश्वर–११ स्थित वंशीघाट पुगेका स्थापितले पुनः एकपटक विवाद बढाउने गरी अभिव्यक्ति दिए। स्थापितले ‘आफूलाई भोट नहाले नर्क पुगिने’ तर्क गरेपछि सामाजिक सञ्जालमा उनको ब्यापक चर्चा भइरहेको छ।
स्थापितका विवादित अभिव्यक्ति बाहिरिन थालेपछि पार्टी कमिटीले नै ईश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्वाचन परिचालन कमिटीको स्वीकृति लिएर मात्रै बोल्न स्थापितलाई निर्देशन गरेको थियो। तर, स्थापित भने आफू प्रतिबन्धमा बसेर बोल्न नडराउने अभिव्यक्ति दिइरहेका छन्।
०५४ सालमा काठमाडौंको प्रमुखको रुपमा एक कार्यकाल हाँकिसकेका स्थापित यो पटक दोब्बर मतले दोहोरिने दाबी गरिरहेका छन्। सोमबार बिहान नेपालखबरसँगको कुराकानीका क्रममा पनि उनले अहिले आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन्।
‘प्रजातन्त्रलाई संस्थागत गर्नका लागि त मेरो तर्क यो हो भनेर अर्को पक्षले लिएर आउनपर्यो नि। काठमाडौं के बनाउने भनेर आउन पर्दैन? आइरहेकै छैन, कोही पनि आइरहेकै छैन,’ स्थापितले भनेका छन्।
प्रस्तुत छ स्थापितसँगको अन्तर्वार्ताको सम्पादित अंशः
चुनावको घरदैलोमा निकै व्यस्त हुनुहुन्छ, कस्तो छ माहोल?
माहोल भनेको त सबै मेरै पक्षमा मान्छेहरुको जुलुस लागिरहेको छ। नाचिरहेको छ। बाजा बजाइरहेको छ। ३२ नै वटा वडामा ३ सिफ्टमा पदयात्रा चलिरहेको छ। घर–घरमा काम भइरहेको छ। मेरो प्रतिस्पर्धी खोई? मेरो माग यति हो क्या! प्रजातन्त्रलाई संस्थागत गर्नका लागि त मेरो तर्क यो हो भनेर अर्को पक्षले लिएर आउनपर्यो नि। काठमाडौं के बनाउने भनेर आउन पर्दैन? आइरहेकै छैन, कोहीपनि आइरहेकै छैन्।
यहाँले आजै सम्बोधन गर्दैगर्दा तपाईंलाई भोट नहाले मान्छे नर्क जान्छ भन्नुभयो, त्यसो किन भन्नुभएको?
यो भनेको सांकेतिक कुरा हो क्या! एउटा पवित्रको बाटो हुन्छ, आफ्नो जिन्दगीभर गर्ने र आफ्ना महान साथी बनाउने। अर्को बाटो चाँही मासुभात खाने, रक्सी खाने अनि बाटोमा सुत्नेखालको हुन्छ।
केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीहरुलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेछ। कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो। जनताले बुझ्ने भाषामा भन्नपर्यो नि, तिमी नर्कमा जान्छौ भनेको चाँही तिमी बेठीक हुन्छौं है भन्नुपर्यो नि।
यहाँले मलाई भोट नहाले नर्कमा गइन्छ भन्नुभएको थियो त?
यसो भन्नलाई मेरो अधिकारले नै राख्छ। यहाँको बस्ती उठाउन आउँदा म आफैं आएर परिचयपत्र दिएको हुँ। सिडियोले हुँदैन भन्दा मैले पानी र बाटोको कुरा गरेको हो। यहाँ असजिलो पर्दा म उभिन आएको हो। यो मेरो परिवार हो, यहाँ मेरो अधिकार रहन्छ। यहाँको नेतृत्व विकास गरेर मेरो विषयलाई अन्तर्राष्ट्रियकरण गरेको थियो। कोही दाजुभाइ यहाँ बिग्रियो भने त्यो कसैले किनेको हुनुपर्छ। कसैद्वारा सञ्चालित हुनुपर्छ।
यो हाम्रो विषय जुन छ, यो अव्यवस्थित बसोबास भन्छ नि, केको अव्यवस्थित? एउटा सही गरेपछि व्यवस्थित गर्ने मान्छे उभिएपछि यसको विपक्षमा उभिने मान्छे हाम्रो बस्तीमा बस्ने मान्छे हुन्छ? हाम्रो इस्यू बोक्ने मान्छे हुन्छ? कि अलिकति डलर खाने खालको हुनुपर्छ। त्यसैले त्यस्तो मान्छे चाहिँ चिनौँ है, लौरो लिएर उभियौँ है।
किन्न सकिन्छ भन्ने शब्द प्रयोग गर्ने हो? यहाँका मान्छेलाई सुकुम्बासी भन्न मिल्छ? देशभरको मान्छे आएको छ यहीँ, एउटा मालाजस्तो उनिएर बसेको छ। उनीहरुप्रति प्रहार गरेपछि भन्नुपर्छ, केही मान्छे नर्कमा जान्छन्।
किनभने, उ बिहानै रक्सी खान्छ, उ त्यहाँ (खोलातर्फ इसारा गर्दै) हाम फालेपछि नर्क भनेको टाढा हो र? यहीँ हाम फालेपछि भइहाल्यो नि। आत्महत्या गर्नुपर्छ त्यस्तो मान्छेले। यो बस्तीको नानीहरुको आँखामा आँखा जुधाएर निर्णय गर्नुपर्दैन? उनीहरुको भविष्यको रक्षा गर्नुपर्दैन?
यहाँको बस्तीका मान्छेहरुले त हामीलाई लालपुर्जाको समस्या समाधान भएको छैन भनेर गुनासो गर्नुभएको छ नि?
छैन। अहिलेसम्म छैन।
त्यसोभए, तपाईंले के गर्नुहुन्छ त?
मैले प्रमाण दिएँ। तपाईंहरु मेरो नगरवासी हो भनेँ। नगरवासी हो भन्नु नै ठूलो कुरा भयो क्या! मैले बत्ति भनेँ, यो बत्ति दिनेवाला कोही थिएन। अँध्यारोमा बस्नुपर्थ्यो। त्यो एउटा कारणले सबै ठाउँमा जाने आधार त भयो नि। लालपूर्जा मैले बाँड्ने हो र! यो शेरबहादुर देउवाको सरकारसँग आन्दोलन गर्ने त मै हुन्छु नि यो बस्तीसँग। त्यसैले ठाउँमा पुगेपछि निर्णय गराउने हो। अहिले मैले नै गराउने भन्ने पनि हुन्छ र? त्यहाँ पुगेर निर्णय गराउने हो नि। गर्ने कि नगर्ने भनेर गर्नुपरेन?
यही कुरामा आरजु देउवा धेरै बोल्न थालेको छ। म धेरै इज्जत गर्छु। यहाँ आएर भन्नुपर्यो नि, म लालपूर्जा दिन्छु भनेर। उहाँले आएर भन्नुपर्यो नि म लालपुर्जा दिन्छु। उहाँले आएर लालपुर्जा दिन्छु भन्नुभयो भने सबै भोट त्यही दिउँ भन्छु के म। सबै लालपूर्जा हात हातमा ल्याएर दियो भने दिनुपर्यो नि। आरजु देउवा यहाँको परिनन् फेरि।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले दिएको चुनौतीलाई यहाँले कसरी लिनुभएको छ?
केही चुनौती होइन। ठूलो वृक्षको अगाडि ढुंगा हानेको जस्तै हो। अलिअलि चोट पर्छ नि। तर, सबैलाई स्वागत छ है, नयाँ पुस्ता आयो नि। राजनीतिमा खराब मात्र होइन, म इन्जिनियर, म डाक्टर भन्ने मान्छे आयो नि। म फलानो क्षेत्रको मान्छे आएको छु भन्नु राम्रो हो नि राजनीतिमा। तर, पार्टीसिस्टम बनाउनपर्छ के, पहिला क्लब बनाउनपर्यो, म क्लबको सफल मान्छे हुँ भन्नुपर्यो। वडाको कुरा गर्नुपर्यो, आफ्नो विचारको आधारमा पार्टी बनाउनपर्यो, पार्टी सिस्टम नै खत्तम भन्ने निश्कर्षसहितको मान्छेले राजनीति गर्न पाइन्छ? पाइँदैन क्या।
हिजोमात्रै स्वतन्त्र उम्मेदवार बालेन शाहसँग अंकमाल गर्नुभएको भिडियो भाइरल बनेको थियो। के संयोग जुरेको थियो, के कुरा भयो?
संयोग केही हैन, भोलि मैले जितेँ भने पनि सहयोगी हातहरु त तीनै हो। सँगै काम गर्ने हो। मैले त ‘सफल इन्जिनियर भवः’ भनेँ। तिम्रो त्यो बाटोबाट मुलुकमा यस्तो गरेँ भन्ने भएपछि न राजनीतिमा प्रवेश होला। यू आर टू अर्लि, अलि छिटोछिटो नगरौं। अब, बोट सानो हुँदा नै फल लाग्छ र? फल खाउँ भनेर आश गरियो भने बोट मर्छ क्या! त्यस्तो कर्म गर्न हुँदैन भनेँ।
भिडओ
Shares
प्रतिक्रिया