‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलिक बढी कुद्छ क्या !,’
२४ मंसिर २०७८ मा नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै भनेका थिए।
‘हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई।’
१७–१९ मंसिरमा भएको महाधिवेशनबाट राप्रपाको अध्यक्ष चुनिएका लिङ्देनले कांग्रेसकै महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेताप्रति जनताको विश्वास मरेकोले दलहरुले ध्यान दिनुपर्ने बताएका थिए।
‘नेताप्रति जनताको विश्वास मरेको अवस्था छ, कुन चोर आएछ त्यहाँ भनेर सम्झन्छन्,’ लिङ्देनले भनेका थिए, ‘हाम्रो अवस्था यो छ, कहाँनेर त्रुटी रह्यो? हामी कहाँनेर चुक्यौ ? यसतर्फ हाम्रो ध्यान जानुपर्छ।’
तर, लिङ्देनको अभिव्यक्ति ओलीलाई ठीक लागेन। आफ्नो बोल्ने पालो आएपछि लिङ्देनको अभिव्यक्तिप्रति खनिँदै ओलीले ‘बाच्छो’ सँग तुलना गर्न भ्याइहाले।
ओलीले भर्खर जन्मेकाे बाच्छो भनेको कुराले लिङ्देनलाई कति छोएको रहेछ भन्ने पुष्टि पाँच महिनापछि भयो।
३० वैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा लिङ्देनले एमाले अध्यक्ष ओली हराउने गरी झापाको दमक नगरपालिकामा ६ दलीय गठबन्धन बनाए।
दमक नगरपालिका ओलीको निर्वाचन क्षेत्रमा पर्छ।
ओलीले संघीय तहको चुनाव लड्दै आएको क्षेत्रमा पर्ने दमकमा एमालेका प्रमुख पदका उम्मेदवार हराएर लिङ्देनले आफ्नो पार्टी जिताए।
जारी मतगणनामा ओलीले भर्खरको बाछो ठानेकाे राप्रपाले काठमाडौंको शंकरापुर र झापाको दमक नगरपालिका, झापाकै हल्दीबारी गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका जितेको छ।
मतगणना भइरहेको स्थानमध्ये राप्रपाले १ स्थानमा अग्रता लिँदा ४ उपप्रमुख/उपाध्यक्ष जितेको छ।
ओली हराउने दमक
ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक नगरपालिकामा राप्रपा कांग्रेस–माओवादीसहितको ६ दलीय गठबन्धन बनाएर चुनावमा उत्रियो। गठबन्धनले सोचेजस्तो परिणाम पनि ल्यायो।
एमाले उम्मेदवार गीता अधिकारीलाई ९८९ मतले पराजित गर्दै दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा विजयी भए।
थापाले १७ हजार ९२५ मत ल्याए। पराजित एमालेकी गीताले १६ हजार ९३६ मत ल्याइन्।
त्यसैगरी उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतसहित विजयी भइन। पराजित एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाए।
२०७४को स्थानीय चुनावमा दमक नगरपालिकाको प्रमुख एमालेका रोमनाथ ओलीले जितेका थिए।
२०७४ मा भएको संघीय निर्वाचनमा एमाले अध्यक्ष ओलीकै साथ लिएर सांसद चुनिएका लिङ्देन २०७९ को निर्वाचनमा के गर्छन् प्रष्ट छैन।
तर, स्थानीय चुनावमा लिङ्देन हिँड्न नजानेकैले एमाले अध्यक्ष ओली लड्न पुगेका छन्।
Shares
प्रतिक्रिया