चितवनको भरतपुर महानगपालिकाको वडा नम्बर १९ मा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश तामाङले नेपाली कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराए।
सो वडा २०७४ मा नेपाली कांग्रेसका कर्णबहादुर तामाङले जितेका थिए। २०७४ मा कांग्रेसको गढ भनिएको १९ नम्बर वडामा दुई पटक चुनाव भएको थियो। जसका कारण राष्ट्रिय राजनीतिको ध्यान सो वडाले खिचेको थियो।
मतगणनाका क्रममा विवाद हुँदा ९० मत च्यातिएपछि दोहोर्याएर मतदान गरिएको थियो। पुनः मतदानबाट कर्णबहादुर गुरुङ १४४८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका थिए।
तर, पाँच वर्षपछि भएको चुनावमा कांग्रेसबाट वडा खोस्न एमाले सफल भएको छ।
वडा नम्बर १९ को त्यो चुनाव
भरतपुर महानगरपालिकाको नेतृत्व चयनका लागि २०७४ वैशाख ३१ गते चुनाव भएको थियो। महानगर प्रमुख बन्ने दौडमा थिए– माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका देवी ज्ञवाली।
चुनाव सकिएपछि ३१ गते बेलुकादेखि मतगणना सुरु भयो। १४ जेठसम्म पुग्दा २७ वटा वडाको गणना सकियो। एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेनुबीच जम्मा ७ सय ८४ मतको अन्तर थियो।
अब वडा १९ र २० को मात्र गणना हुन बाँकी रह्यो। वडा १९ मा २ हजार ८ सय ६८ मतदाता थिए। त्यसमध्ये १ हजार ८ सय मत गनिसक्दा रेनु र देवीको मतअन्तर घटेर ७ सय ३३ मा झ¥यो।
मतगणना जारी थियो। जेठ १५ को राति १२ बजेसम्म वडाको थप ४०० मत गनियो। तर, मतपरिणाम सार्वजनिक गरिएन।
केहीबेरपछि मतणनास्थलको बत्ती निभ्यो र केही व्यक्तिले मतपत्र च्यात्न सुरु गरे। मतगणना भइरहेको बेला मतपत्र च्यातिएपछि गणना अवरुद्ध भयो।
कांग्रेसले पुन मतदान हुनुपर्ने माग राख्यो। महानगरमा माओवादी केन्द्र–कांग्रेसले तालमेल गरेका थिए।
मतपत्र च्यातिएको एक घण्टा नबित्दै कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले विज्ञप्ति निकालेर मतपरिणामलाई असर पर्नेगरी मतपत्र च्यातिएकाले पुनः मतदान गर्नुपर्ने माग राखे।
माओवादी केन्द्रले पनि वडानम्बर १९ मा पुनः मतदान गर्न माग गर्यो।
वडा नम्बर १९ मा आफ्ना उम्मेदवारको जित सुनश्चित भइसकेको समयमा मतपत्र च्यातिएको कांग्रेसले दाबी गर्यो।
एमालेले भने हार्ने भएपछि माओवादी–कांग्रेसले नियोजित रुपमा मतपत्र च्यातेको आरोप लगायो।
केही समयको विवादपछि निर्वाचन आयोगले १९ नम्बर वडाको मतगणना स्थगित गर्न निर्देशन दिँदै पुनः निर्वाचन गर्ने निर्णय गर्यो।
तर, १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वाेच्चमा रिट दायर गरे।
रिटमा भरतपुरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको थियो।
मतगणना स्थगित गरेको आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गर्यो।
छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको ठहर साउन १५ गरी प्रतिवेदन बुझायो।
आयोगले सोही प्रतिवेदनलाई आधार मानेर पुनः निर्वाचन गर्ने निर्णय गर्यो।
सर्वाेच्चले जेठ २२ गते फैसला गर्दै १९ नम्बर वडामा पुनः मतदान गर्न आदेश दियो।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भरतपुर महानगरपालिका १९ वडामा फेरी मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गर्ने आदेश दिएको थियो। सर्वाेच्चको आदेशपछि साउन २० गते चुनावको मिति तोकियो।
पुनः भएको मतदानमा २२ मत कम अर्थात् २ हजार ८ सय ७५ मत खसेको थियो।
पाँच वर्षपछि भएको चुनावमा १९ नम्बर वडामा ३, हजार ४८८ मत खसेको छ।
Shares
प्रतिक्रिया