‘सहर जात्राहरूमा रमाउँछ, गाउँ दसैँमा,’ अभिनेता विपीन कार्कीलाई यस्तै लाग्छ। शरद ऋतुको आगमन हुनेबित्तिकै व्यस्त सहरमा दौडिरहेकै भए पनि विपीन खुसीले रोमाञ्चित हुन्छन्।
‘दसैँ ल्याउन यो मौसम हुलाकी बनेर आएजस्तो लाग्छ,’ उनी महसुस गर्छन्।
गाउँमा दसैँ, बाल्यकालमा कसरी आउँथ्यो?
‘जब लङ्गुरबुर्जा क्वार्रक्वार्रक्वार्र हल्लाएको सुनिन्थ्यो, पिङ मच्चिएको देखिन्थ्यो अनि दसैँ आउँथ्यो,’ उनी सुनाउँछन्।
यसपालि विपीन विराटनगरस्थित घर जाँदै थिए। बाटोमा मच्चिरहेको पिङ देखे। मन उडेर त्यही पिङमा गएर बस्यो। गाडीबाट ओर्लिए। अनि पिङ खेलिरहेका युवाहरूलाई आग्रह गरे, ‘म पनि खेल्छु नि।’
आँखैअघि सेलेब्रिटी पिङ खेल्न टुप्लुक्किएका छन्। उत्साहित हुँदै विपीनलाई पिङको डोरी समात्न दिए।
‘क्या रमाइलो भयो, पिङमा मच्चिँदा,’ उनले भने।
पिङ चढेपछि उही छुटेको बाल्यकाल फेला पारेजस्तो लाग्यो उनलाई। बाल्यकाल सकिएसँगै छुटेका सखीहरू पाए। हतारो भयो विपीनलाई कहिले भेटुँ ती साथीलाई भनेर।
‘विपीन हाम्रो साथी। तिमी ठूलो सेलिब्रेटी भयौ, हाम्रो लागि कति गर्वको कुरा हो। खुसीको कुरा हो,’ भेटमा साथीहरूले गौरवान्वित हुँदै भन्छन्। बालसखाहरूको तारिफ र आत्मीयताले दसैँ अझै रंगीन बनाउँछ।
बाल्यकालमा पनि साथीभाइलाई हँसाइरहने विपीन सबैका लागि प्रिय थिए। हँसाउन थुप्रै किस्सा र विषय हुन्थे उनीसँग। मिलनसार र रमाइलो प्रकृतिका ती केटा सबैको आँखामा पर्थे।
‘दसैँमा भेट हुन्छ। ती कुरा उहाँहरू कोट्याउनुहुन्छ, खुब रमाइलो लाग्छ,’ उनी सुनाउँछन्।
दसैँले धेरै सम्झाउने भनेको त बाल्यकाल हो। विपीनलाई यस्तै लाग्छ।
‘बढी त मामाघर गएको सम्झिन्छु्ु,’ उनी भन्छन्।
दसैँ लाग्नेबित्तिकै ठूलो बाहरूसँग टीकै नथापी मामाघर कुद्न हतार हुन्थ्यो उनलाई।
‘किन त?’
‘पैसा पाइन्थ्यो। ठूलो बाहरूले आशीर्वादमात्र दिन्थे, दक्षिणा हैन। तर मलाई आशिर्वाद भन्दा पैसा ठूलो लाग्थ्यो नि,’ उनी हाँस्दै भन्छन्, ‘मामाघरमा पैसा बटुलेर मख्ख परेर फर्किन्थेँ।’
एक वर्ष भने दसैँ मनाउन पाएनन् विपीनले। त्यो वर्ष हजुरबा बितेका थिए।
‘हजुरबा बितेको वर्ष साह्रै खल्लो भयो। दसैँ नमीठो भयो,’ उनी भन्छन्। छोरी जन्मिएको वर्ष पनि उनी गाउँ जान पाएनन्। बाआमा काठमाडौँ आए। ‘दसैँ मनाइयो, तर रौनकविना,’ विपीन भन्छन्।
हिजो त विपीन छोरामात्र थिए, सानो हुँदा बाआमाले नयाँ लुगा किनिदिने आशामा रमाउँथे। अहिले परिस्थिति उल्टिएको छ।
‘अहिले आफूलाई हाल्दिनँ। बाआमालाई किन्न पाउँदा रमाउँछु,’ उनी भन्छन्।
यसपालि उनले बाको लागि कोट, सर्ट र प्यान्ट किने भने आमा र छोरीको लागि पनि सपिङ गरे। बा आमाको लागि उनले काम गरेको वर्षदेखि नै सपिङ गर्न थालेका थिए। रक्सी कम्पनीमा काम गर्दा पनि उनले सपिङ गर्दिन्थे बा आमालाई।
तर, पहिलो पटक काम गरेर बा–आमाको लागि ल्याइदिएको दसैँ विपीनको मानसपटलमा ताजै छ।
‘मैले पहिलो पटक बाआमाको लागि र लुगा किनिदिँदा उहाँहरूको आँखा रसाएको थियो,’ विपीन सुनाउँछन्।
Shares
प्रतिक्रिया