गायक हेमन्त शर्मा हरेक साल आफ्नो जन्मदिन लोलाङको एक बाल आश्रममा मनाउँछन्। उनी हरेक वर्षको पुस ४ गते उक्त बाल आश्रममा पुग्छन्। त्यहाँका केटाकेटीसँग गीत गाउँछन्। उनीहरुसँगै ताल मिलाएर नाचिदिन्छन्।
गायक शर्माले उक्त आश्रममा आफ्नो जन्मदिन मनाउन थालेको लामो समय भइसक्यो। उनी मात्रै होइन, उनका परिवारका अन्य सदस्यले पनि सोही आश्रममा जन्मदिन मनाउँछन्।
‘किन जन्मदिन मनाउन बाल आश्रम जानु हुन्छ?’
‘खुशी खोज्न’, गायक शर्मा भन्छन्, ‘उनीहरुसँग भेटेर मलाई आनन्द लाग्छ। म जाँदा उनीहरु खुशी हुन्छन्। उनीहरु खुशी भएको देखेर म पनि खुशी हुन्छु। उनीहरुको खुशी देखेर मलाई सकारात्मक ऊर्जा मिल्छ।’
‘जन्मदिन मनाएर फर्किएपछि फेरि अर्को जन्मदिन नआउँदासम्म कतिपटक भेट्नुहुन्छ ती बालबालिकालाई?’ हाम्रो अर्को प्रश्न थियो।
शर्माले जवाफमा भने ‘कम्तीमा पनि ४/५ पटक पुगिरहेको हुन्छु।’
उनी विदेशमा भएका सांगीतिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किँदा पनि बाल आश्रमका केटाकेटीलाई केही न केही उपहार लिएर फर्किने रहेछन्। तर उनी आश्रममा पुग्दा खुशी भएका बालबालिकाको मनमा उनी फर्किँदै गर्दा के खेल्दो हो? उनले कहिले प्रश्न गरेनन्।
बाल आश्रममा आफ्नो जन्मदिन मनाउन जाने एक्ला कलाकार होइनन् शर्मा। चलेका स्टार कलाकारदेखि नवप्रवेशी सबैजसो कलाकारले आफ्नो जन्मदिन मनाउन कि बाल आश्रम रोज्छन् या त वृद्धाश्रम जान्छन्।
नायिका पूजा शर्मा पनि आफ्नो जन्मदिन मनाउन बाल आश्रममै पुग्छिन्। अहिलेका चल्तीका नायक पल शाह पनि आफ्नो जन्मदिन बाल आश्रममा मनाउँछन्। उनीहरुसँग फोटो खिच्छन्, उनीहरुसँग मुस्कुराएको तस्बिर समाजिक सञ्जालमा शेयर गर्छन्।
कलाकार रेखा थापा पनि बेलाबेला बालबालिकासँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन्। कलाकार पुष्प खड्का हुन अथवा नायिका सारिका केसी सबैले आफ्नो जन्मदिन मनाउन अनाथ आश्रम नै रोज्ने गरेका छन्।
अनाथ आश्रम पुग्दा रमाएका बालबालिकाले उनीहरु फर्किँदा कस्तो महसुस गरे? कहिलेसम्म उनीहरुलाई सम्झिएर बाटो हेरे? अनि कहिलेबाट बाटो हेर्दा हेर्दै थाके? भन्नेजस्ता प्रश्न कहिले पनि गरेनन्।
धेरै कलाकार त वर्षमा एकपटक आफ्नो जन्मदिन मनाउन मात्रै अनाथ आश्रममा पुग्छन्। एकपटक आश्रममा आएर आफूलाई आत्मीयता देखाएका मान्छेलाई बालबालिकाले भने लामो समयसम्म खोजिरहने गरेको बालबालिकासम्बन्धी काम गर्ने संस्था सिविसको एक सर्वेक्षणले देखाएको छ।
यसरी अनाथ आश्रममा गएर आत्मीयता प्रकट गरेका मानिस लामो समयसम्म नफर्किँदा बालबालिकाले बिछोडिनु परेको महसुस गर्ने बालबालिकाको क्षेत्रमा लामो समय काम गरेकी प्रदिप्ता कादम्बरी बताउँछिन्।
उनी भन्छिन्, ‘यो क्रम पटकपटक दोहोरिएपछि बालबालिकामा हामी मायाको लायक नै रहनेछौँ भन्ने खालको हीन भावना विकास हुन्छ।’
पछिल्लो समय धेरै नाम चलेका सेलिब्रेटी देखासिकीका लागि अनाथ आश्रममा पुग्ने गरेका छन्। उनीहरुले बालबालिकालाई पूरा नै नहुने सपना देखाउँछन्। जसले बालबालिकामा आफूलाई दयाको पात्र भएको भावना विकास हुने कादम्बरीको भनाइ छ।
उनी भन्छिन्, ‘कतिपय मानिसहरु नाटकीय रुपमा बालबालिकासँग नजिकिन्छन्। आश्रमका सञ्चालकले पनि उनीहरुलाई नाटकीय रुपमा दाताका अगाडि प्रस्तुत गर्छन्। यस्तोमा उनीहरुलाई आफू मानिस नभएर सजाउन राखिएको वस्तुको जस्तो महसुस हुन्छ।’
सिविसको सर्वेक्षणमा कतिपय आश्रमका बालबालिकाले ‘हामी अनाथ आश्रमका बालबालिका हौँ कि चिडियाघरमा राखिएका वस्तु? जसलाई हेर्न मानिसहरु आउँछन्, मिठो बोल्छन्, आफ्नै जस्तो व्यवहार गर्छन् र वर्षौं हराउँछन्’ भनेर गरेका प्रश्नको सामना गर्नुपरेको नमिठो अनुभूति पनि छ प्रदीप्तासँग।
सेलिब्रेटीले अनाथ आश्रममा गएर जन्मदिन मनाउने र खुशी साट्ने परम्पराले अनाथ आश्रम खोल्न अझै प्रोत्साहन मिलेको बाल मनोविद् मनिता धरेलको तर्क छ।
‘उनीहरु यसैपनि आफ्नो परिवारसँग बिछोडिएका हुन्छन्। अनाथ आश्रममा पुगेका केही बालबालिकाका अभिभावक पनि हुन्छन् भने कतिका आफन्त पनि हुँदैनन्', लामो समय बालबालिकाको क्षेत्रमा काम गरेकी धरेल भन्छिन्, 'यसरी अनाथ आश्रममा बाहिरका मानिसले आत्मीयता दर्शाउँदा बालबालिका पारिवारिक मायामा फर्किन सक्छन्। उनीहरुलाई गहिरो मानसिक असर पर्न सक्छ। उनीहरुलाई लाग्न सक्छ– म पनि परिवारमै हुन पाएको भए।’
सेलिब्रिटीहरुले अनाथ आश्रममा उत्सव मनाउन गर्ने खर्च परिवार भएका बालबालिकाको परिवारमा गर्न सकेको खण्डमा थोरै भए पनि बालबालिका अनाथ आश्रम जानबाट रोकिन सक्ने उनको भनाइ छ।
धरेल भन्छिन्, ‘सेलिब्रिटीले यस्ता विषय उठान गर्ने हो, उत्सव मनाएर प्रोत्साहन गर्ने होइन।’
अनाथ आश्रममा हुर्किरहेका बच्चासँग सेलिब्रिटीले भेटिरहेका खबरले परिवारमै रहेका अन्य बालबालिकालाई पनि अनाथ आश्रम जान प्रोत्साहन गर्ने उनको तर्क छ।
भन्छिन्, ‘ठूला मान्छेको त सेलिब्रेटी भेट्ने, उनीहरुसँग फोटो खिच्ने सपना हुन्छ। बालबालिकामा पनि त्यो मनोविज्ञान हुन्छ। त्यसैले उनीहरुमा अनाथ आश्रममा जाँदा सेलिब्रेटीसँग भेट हुन्छ भन्ने मनोविज्ञानको विकास हुन सक्छ।’
बाल मनोविद् रमा कार्कीको भने अलि फरक मत छ। उनी सेलिब्रेटीले बालबालिकासँग आफ्नो उत्सव मनाउँदा ठूलो हानि नहुने तर्क गर्छिन्। तर, बालबालिकासँग धेरै घुलमिल हुने र उनीहरुका भित्री कुरा सोध्नाले चाहिँ उनीहरुमा असर पर्ने कार्की बताउँछिन्।
उनी भन्छिन्, ‘बालबालिकासँग धेरै घुलमिल भइदिनाले एकपटक जाने बाहिरको मान्छे असल, अनाथ आश्रमका मान्छे खराब भन्ने भावनाको विकास हुनचाहिँ सक्छ।’
अनाथ आश्रम अथवा बालगृह दीर्घकालीन समाधानको बाटो नभएर विभिन्न कारणले पारिवारिक बिछोडमा परेका बालबालिकालाई केही समयको विकल्प मात्रै भएकाले बालगृहमा उत्सव मनाउनुको सट्टा उनीहरुको पारिवारिक मिलनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ।
Shares
प्रतिक्रिया