चुनावको मिति (मंसिर ४) नजिकिँदै गर्दा फिल्म प्रदर्शनमा केही कमी आएको छ। निर्वाचन तथा विश्वकप फुटबलका कारण मंसिर–पुसका लागि फिल्म प्रदर्शनको मिति तय गर्न निर्माताहरू डराइरहेका थिए। अब भने बिस्तारै मंसिर–पुसमा थुप्रै फिल्म प्रदर्शन हुने भएका छन्।
फागुनपछि थुप्रै फिल्मले रिलिज डेट लिए। त्यसयता खाली थियो। तर फागुनपछि प्रदर्शनमा संघर्ष गर्नुपर्ने भएपछि अगाडि नै प्रदर्शन मिति घोषणा भइरहेका छन्।
फिल्म वितरक करण श्रेष्ठ भन्छन्, ‘निर्वाचन, जाडोको समय र विश्वकपले असर गर्ने अनुमानका कारण नेपाली फिल्म फागुनमा रिलिज घोषणा भएका छन्। खाली डेट भएकै कारण मेरो एउटा फिल्मसमेत मंसिरमा प्रदर्शन गर्दै छु।’
दर्शकलाई आकर्षित गर्न सके फिल्मको व्यापार राम्रो हुने उनको अनुमान छ।
मंसिरमा फिल्मको भिडन्त नभए पनि पुस १५ मा भने ३ फिल्म प्रदर्शनको तयारीमा छन्।
मङ्सिरमा ‘मिलन’, ‘पासो’, ‘डेसान’, ‘चोर–पुलिस’लगायत फिल्म प्रदर्शन गर्ने घोषणा गरिएको छ।
पुसका लागि ‘डिसेम्बर फल्स’, ‘कौसिद’ र ‘चिँ मुसी चिँ’ले प्रदर्शन मिति लक गरेका छन्। असोज-कात्तिकमा ४ नेपाली फिल्मले राम्रो व्यापार गरेपछि उद्योगमा आशा बढेको र प्रदर्शन मिति तय गर्ने निर्माता बढेर गएको नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए।
दर्शकलाई चाहिले फिल्म ल्याउन सकेको खण्डमा लगातार फिल्म चल्ने उनको तर्क छ। भन्छन्, ‘दर्शक आइरहँदा उहाँहरूको रुचिभन्दा बाहिरको चलचित्र पर्यो भने पुनः हल फर्काउन भने समय लाग्छ।’
एकै समयमा धेरै फिल्मको रिलिज मिति तय हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए। चलचित्रसँग सम्बन्धित संघ/संस्थासँग परामर्श गरेर दिगो समाधान निकाल्ने प्रयासमा रहेको केसीको भनाइ छ।
Shares
प्रतिक्रिया