कलाकार राज आचार्य र सुनिशा बजागाईंले लगानगाँठो कसेको एक वर्ष पूरा भएको छ। विवाहको पहिलो वर्षगाँठ उनीहरुले एकअर्कालाई प्रेमिल शुभकामना दिएर मनाएका छन्।
राजले सुनिशाका नाममा प्रेमिल शब्द अभिव्यक्त गरे। सुनिशाले पनि आफूलाई राजको बेहुलीकै महसुस हुने बताइन्। यी दुईको खुसीमा खुसी साट्न कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायत पुगे र शुभकामना दिए।
राजले वैवाहिक वर्षगाँठको अवसरमा लेखेका छन्, ‘मेरो जीवनमा तिम्रो आगमनपछि मेरो आत्मविश्वास दोब्बर भएको छ, केही गर्छु भन्ने कुराको आँट दोब्बर भएको छ। माया दोब्बर भएको छ। प्रेरणा दोब्बर भएको छ। इच्छा शक्ति दोब्बर भएको छ। अनि समस्या? समस्याचाहिँ ठ्याक्कै आधा भएको छ। धन्यवाद तिमीलाई सबै कुराका लागि। तिमी सही मानेमा श्रीमती मात्र होइन, जीवनसाथी पनि हौ। गर्व लाग्छ- तिमीलाई ‘मेरी उनी’ भन्न पाउँदा। मलाई सधैँ यसरी नै माया गर्नु ल। तिम्रो प्यारो श्रीमान् राज!’
सुनिशाले भने छोटो स्टाटसमा लेखेकी छन्। उनले भनेकी छन्, ‘म अझै तिम्रो दुलही हुँ। तिमी अझै मेरो दुलहा हौ। एक वर्ष भयो, तर अझै हनिमुन छ। शुभ वार्षिकोत्सव बूढा।’
Shares
प्रतिक्रिया