बाटो सजिलो थिएन। गन्तव्यको ठेगान थिएन। अप्ठ्यारोमा भर दिने मान्छे थिएनन्। समय बेग्लै थियो। छोरीहरुले गाएको, नाचेको, अभिनय गरेको समाज र परिवारले मन पराउँदैनथ्यो। त्यही बेला पनि मिथिला शर्माले १० वर्षको उमेरमा नाच्न सिकिन्। र, आफ्नो जीवनको उर्जावान् समय कला क्षेत्रमा बिताइन्।
त्यसैले मिथिला आफूलाई भाग्यमानी छोरी ठान्दछिन्। भन्छिन्, ‘म यस मानेमा भाग्यमानी छोरी रहेछु। सानैमा कला क्षेत्रमा आएँ। सबैबाट हौसला पाएँ। सधैँभरि काम गर्न सक्ने वातावरण पाइरहेँ। म मेरो समाजसँग आभारी छु।’
तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवमा पहिलो पटक पञ्चकन्यामा नृत्य गरेकी मिथिलाले त्यसपछि जीवनको अर्को सपना देखिनन्। त्यही नृत्यले उनको जीवनको बाटो तय गरिदियो। त्यो समय उनका अरु ४ जना साथीसँगै मिसिएकी मिथिला सबैभन्दा कमजोर थिइन् नृत्यमा। उनलाई जान्नु पर्छ भन्ने पनि त्यही स्टेजले सिकाएको हो। उनकै गु्रपका साथी सुलोचना, शारदा नाच्नमा एक नम्बर थिए। स्कुलको झ्यालबाट मिथिला साथीहरुले नाचेको हेर्थिन्। स्कुल सकिएपछि बाटोमा नाँच्दै हिँड्थिन्।
उनलाई आज पनि सम्झना छ, राष्ट्रिय सभागृहनेरको घुम्तीमा कसैले समातेर ‘नानी किन नाच्दै हिँडेको लडिएला’ भनेको। उनमा नृत्य जान्नु पर्छ, सिक्नु पर्छ भन्ने भूत सवार थियो। त्यही सिकाइको हुटहुटीले नै हो उनको नाम लेखाएको। मिथिला कहिलेकाहीँ आफैंसँग प्रश्न गर्छिन्, ‘मैले जीवनमा सबैभन्दा धेरै के काम गरे हुँला?’ उनको आफ्नै मनले जवाफ दिन्छ, ‘नृत्य।’ जीवनको लामो समय मिथिलाले नृत्य सिकाइन्, नृत्य गरिन्।
त्यो समय राजपाल थापा र ध्रुव हाडा कमेडी ड्रामा गर्थे। नृत्य गरिरहेकी मिथिलाको हाउभाउ उनीहरुले हेरे। त्यसपछि सुरु भयो मिथिलाको अभिनय यात्रा। मिथिलाले त्यसपछि नाटक हुँदै ठूलो पर्दामा अभिनय गरिन्। उनले अवसरका लागि अरु थुप्रै कलाकारजसरी तड्पिएर बस्नु परेन। अवसरकै लागि भोकै हिँड्नु परेन। सपनाका लागि कसैको गाली खानु परेन। अवसर उनलाई खोज्दै आए। सपनाको आकाशमा स्वतन्त्र पन्छी जसरी उड्न पाएकी मिथिला त्यसैले त पटकपटक आफूलाई भाग्यमानीका रुपमा चित्रित गर्छिन्।
उनका समयका थुप्रै कलाकारले स्वदेशमा सम्भावना देखेनन्। सिने उद्योगमा भविष्य देखेनन्। देश छोडेर हिँडे। तर मिथिलाले आफ्नो बाटो छोडिनन्। यात्रीले नछोडेपछि बाटोलाई पनि साथ दिन कर लाग्दो रहेछ। थुप्रैको कलाकारिता दुर्घटित भएको सिने उद्योगमा उनी कहिल्यै डगमगाइनन्।
उनले ठूला सपना देखिनन्। ठुल्ठूला चाहना राखिनन्। त्यसैले आफ्नो समयका थुप्रै साथीहरु सुखद भविष्यको खोजीमा विदेशिँदै गर्दा पनि उनलाई यही माटोको सुगन्धले बाँधेर राख्यो। दोस्रो पटक जापान पुग्दा मिथिलाले भर्खर एसएलसी पास गरेकी थिइन्। उनलाई उतै बसेर पढ्न पनि अवसर थियो। तर उनले अवसरको यो हाँगो समातेर देश छोड्न चाहिनन्।
नृत्य नै तपस्या
पछिल्लो समय मानिसको निद्रा बिथोलिएको छ। सपना बिथोलिएको छ। मन बिग्रिएको छ। कतिपयले जीवनको बाटो भूलिरहेका छन्। यी सबैलाई सही ठाउँमा ल्याउन मानिसहरु ध्यान, योगको सहारा लिइरहेका छन्। मिथिलाको जीवनमा भने नृत्यले नै ध्यानको काम गरिरहेको छ। उनले २ दशकभन्दा धेरै समय बालबालिकाको नृत्य प्रशिक्षक भएर काम गरिन। थुप्रै बालबालिकालाई नृत्य सिकाइन्। यही नै उनको जीवनको ध्यान बनिदियो।
भन्छिन्, ‘जब म नृत्य सिकाउन थाल्छु, समय बितेको पत्तै पाउँदिनँ। अहिले पनि कुनै गीत बजाएर मज्जाले नृत्य गरिसकेपछि जुन आनन्द आउँछ, त्यसका बारेमा भन्न मसँग कुनै शब्द नै छैन।’
नृत्य सिकाउँदै सिक्दै मिथिलाले लामो समय गुजारिसकिन। उनले नृत्य सिकाएको एउटा पुस्ता अभिभावक भैसके। आफैले नृत्य सिकाएका विद्यार्थीका सन्तानलाई समेत उनले नृत्य सिकाइन्। नृत्य गरेर उनका गोडा गलेका छैनन्।
भन्छिन्, ‘बेलाबेला अरुले सम्झाउँछन्– तिमीले रंगमञ्चमा, फिल्मको पर्दामा यति लामो यात्रा पार गरिसक्यौ भनेर। म त हरेक दिन नयाँ जीवन बाँचिरहेकी हुन्छु।’
आफ्नो जिन्दगीलाई खुब सुन्दर देख्ने मिथिलाले अहिलेको बच्चालाई बच्चा भएर बाँच्न पाएनन् भन्ने पीर छ। यो पीर पनि उनको मनमा धेरै समय अडिएर बस्न पाउँदैन। उनी आफूलाई सोचहरुले थिचेर राख्न चाहन्नन्।
पर्दामा मिथिला
नृत्यबाट करिअर सुरुवात गरेकी मिथिला फिल्मी पर्दाकी पनि नबिर्सिइने अनुहार हुन्। वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रंगीन दुनियाँमा होमिएकी मिथिलाले सयभन्दा धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। दशकअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘सुख–दुःख’मा अभिनय गरेपछि उनको उचाइ अझ चुलिएको थियो।
२२ वर्षकै उमेरमा फिल्म ‘माया’मा ६५ वर्षीयाको भूमिका निर्वाह गरेर तारिफ पाएकी मिथिला फिलम उद्योगकी लोकप्रिय र शालीन कलाकार हुन्। नायिकाबाट सुरु भएको मिथिलाको फिल्मी यात्रा दिदी, भाउजू, बुहारी हुँदै आमासम्म आइपुगेको छ।
त्यसो त मिथिलाले उमेरमै पनि नायिकाको भूमिकाको लोभ गरिनन्। उनलाई भूमिकाभन्दा चरित्र बलियो चाहिन्थ्यो। भन्छिन्, ‘मलाई कहिल्यै नायिका बन्न मन लागेन। मैले नायिकाको रोल छोडेर त्यही फिल्ममा भाउजूको या दिदीको भूमिका गर्थें।’
Shares
प्रतिक्रिया