नेपालीहरुका चाडबाड बढेसँगै कलाकारहरुले विदेशमा कार्यक्रम गर्ने रफ्तार बढ्न थालेको छ।
नजिकिँदै गरेको दसैँको अवसर पारेर न्युजिल्यान्डमा ‘दसैँ धमाका’ कार्यक्रम हुने भएको छ। निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्येमा पर्छ- न्युजिल्याण्ड।
न्युजिल्यान्डमा यसपटक गायक प्रमोद खरेल, मेलिना राई र हाँस्यव्यङ्ग्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई मनोरञ्जन दिलाउने छन्।
काठमाण्डौँमा आयोजित एक कार्यक्रममा न्युजिल्याण्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ‘लाखे इभेन्ट’को आयोजनामा रहेको कार्यक्रम ‘दसैँ धमाका’ लाई इन्फोमेटिक कन्सल्टेन्सी पुतलीसडकले साथ दिएको छ।
न्युजिल्याण्डमा पहिलो पटक आफू जान लागेको पत्रकारहरुलाई बताउँदै गायक प्रमोद खरेलले यो दसैँमा धमाका गर्नका लागि तयार रहन न्युजिल्याण्डका दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रुपमा चिनिएको देश न्युजिल्याण्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।
हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनमा पहिलोपटक दसैँ दर्शकहरुसँग हुन लागेकाले आफू उत्साहित भएको बताए। घर परिवारसँग यसपाली दसैँ मनाउन नपाउने भएता पनि दर्शकसँगको मायाले उर्जा दिने उनको भनाई थियो।
इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्याण्डमा नेपाली कार्यक्रम निकै कम हुने भएपनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने गर्दै आएको जानकारी दिए।
उनले यस वर्षको दसैँ विशेष कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गरे। न्युजिल्याण्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।
Shares
प्रतिक्रिया