गाउँका लागि सहर, सहरका लागि परदेश, मानिसका सपना पूरा गर्ने गन्तव्य हुन्। नारायण रायमाझी सपनाको गन्तव्य खोजिहिँडेका लाहुरेका कथा गीतमा सुन्दै हुर्किए। उनी हुर्कदै गर्दा रेडियो नेपालबाट लाहुरे जीवनको कथा कहने गीत बढी बज्थे। त्यसताका रेडियोमा पत्र पठाएर स्रोताहरुले यिनै गीतको फरमाइस गर्थे।
सन् १९९९ मा भारत र पाकिस्तानबीच भएको बहुचर्चित कार्गिल युद्धको समयमा रेडियो नेपालमा बारम्बार बज्ने एउटा लोकगीत थियो– ‘मलाई सम्झी रेलिमाई नरोऊ है आमा, तिम्रो छोरो रेलिमाई जिउँदै छ रणमा।’ यही एउटा गीतले नारायण रायमाझीलाई लाहुर र लडाइँका गायकका रुपमा चिनायो।
आफ्नै सपनाको गन्तव्य समातेर २०४२ सालमा काठमाडौं पसेका रायमाझी त्यसपछि गाउँमै बस्ने गरी फर्किएनन्। काठमाडौं आउँदा उनको एउटै सपना थियो गायक बन्नु। गीत/संगीतमा काम गर्दै जाँदा उनका सपना पनि बढ्दै गए। गीत–संगीतमार्फत परदेशीका पीडा गाउँदा–गाउँदै उनीसँग एउटा कथा नै तयार भयो। त्यसपछि उनले त्यही कथा चलचित्र मार्फत भन्ने हिम्मत गरे।
पहिलो पटक ‘गोर्खा पल्टन’ चलचित्र मार्फत परेदेशीको पीडा भने। चलचित्र हिट भयो। पहिलो फिल्मले नै उनलाई चलचित्र निर्देशकका रुपमा स्थापित गर्यो।
समाजमा लाहुरेहरूको प्रभाव र उनीहरू आउने जाने संस्कृति नै बनेको थियो। यसरी उनीहरूको कथा हेर्दाहेर्दै, उनीहरूको गीत गाउँदागाउँदै, परदेशीका घटनाहरू सुन्दासुन्दै, परिवारका बिछोडहरू, लडाइँका कुराहरू लामो समयदेखि नियालेर त्यसैलाई चलचित्रमा उतारेका रायमाझीले परदेशीकै कथामा आधारित अर्को चलचित्र ‘परदेशी’ बनाए। यो चलचित्रले पनि बक्स अफिसमा सफलता हासिल गर्यो।
अहिले रायमाझीले पुनः परदेशीकै कथामा अर्को फिल्म ‘परदेशी–२’ बनाएका छन्। यो फिल्म यही असोज २६ गतेबाट रिलिज हुँदैछ। रायमाझी फिल्मको प्रचारका लागि देश दौडामा छन्। हिट फिल्मको सिक्वेल भएकाले पनि ‘परदेशी २’को उद्योगमा राम्रो चर्चा छ। फिल्म उद्योग र दर्शक दुवैका लागि प्रतीक्षित बनेको यही चलचित्र मार्फत गायक प्रकाश सपुत डेब्यु गर्दै छन्। प्रकाशको पहिलो फिल्म भएकाले पनि यसको बेग्लै चर्चा छ।
रायमाझी ‘परदेशी २’को प्रचारमा आफूले सकेको जति गरिरहेको बताउँछन्। भन्छन्, ‘फिल्मको प्रचारप्रसारको क्रममा देशभर नाटक, प्रेसमिट लगायत विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। राम्रो प्रचार भइरहेको लागेको छ।’
उनी फिल्म प्रचारको क्रममा गाउँ–गाउँ पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। रायमाझी भन्छन्, ‘प्रचारको क्रममा जहाँ जहाँ पुग्यौ, ज–जसलाई भेट्यौँ, सबैबाट राम्रो प्रतिक्रिया मिलेको छ। सबैबाट सपोर्ट, माया पाइएको छ। एकदमै उत्साहित छु।’
उनले चलचित्र प्रचारका लागि नाटक नै निर्माण गरेका छन्। गत भदौ १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘नारायण रायमाझी एकल साँझ’ र नाटक मञ्चन गरिएको थियो।
चलचित्रले समाज बोल्नु पर्ने रायमाझीको तर्क छ। परदेशी २ को कथा सारका बारेमा रायमाझी भन्छन्, ‘यसअगाडि मैले ‘परदेशी’ बनाएको थिएँ, जसमा आर्थिक अभावको कारण विदेशिन बाध्य भएकाको कथा थियो। उच्च शिक्षा अध्ययनको चाहनामा सुनौलो भविष्यको कल्पना गर्दै विदेशिने जुन लहर छ अहिले देशमा, ‘परदेशी २’मा त्यो कथा उठाएको छु। यो कथासँग जोडिएर विभिन्न उपकथा पनि आएको छ।’
एउटा युवा अध्ययनका लागि विदेसिँदा त्यसले गाउँ, परिवार र साथीमा कस्तो प्रभाव पर्ला? उसले स्वदेशमा सोचेजस्तै परदेशमा पाउँछन् कि पाउँदैनन् होला? यी र यस्तै प्रश्नको जवाफ ‘परदेशी २’ मार्फत दिन खोजेको रायमाझी बताउँछन्। पछिल्लो समय उच्च शिक्षाका नाममा होस् अथवा भविष्यको खोजीमा युवा विदेशिने क्रम बढेर गएको छ। मनिसहरुमा देशमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने पर्दै गएको छ। रायमाझीलाई चलचित्र मार्फत देशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु छ।
‘हामीले यहाँबाट अमेरिका जाने भन्छौँ,’ उनले भने, ‘तर यहाँबाट कल्पना गरेजस्तो अमेरिका छैन। अमेरिका मात्रै किन, विश्वको अन्य कुनै पनि देश सजिलो छैन। परदेश पनि सोचेको जस्तो छैन भनेर सचेत गराउनु छ।’
६ वर्षको अन्तरालपछि चलचित्र लिएर आएका रायमाझी आफ्नो फिल्म सफल हुनेमा विश्वस्त सुनिन्छन्। चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सविन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोख्रेल, रोशनी कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन्। चलचित्र निर्माणमा भने राजेश वंशल र निर्देशन नारायण रायमाझीले सहकार्य गरेका छन्।
Shares
प्रतिक्रिया