नेपाली सिनेमा उद्योगले बेलामौकामा प्रयास गरिरहेकै भए पनि हरर-थ्रिलर जनरामा सोचेजस्तो सफलता हात पार्न भने सकेको देखिँदैन। यतिबेला पनि बजारमा नयाँ नेपाली हरर फिल्म 'बसेन्जी'को प्रदर्शन सुरु भइसकेको छ। काठमाडौँ र बाहिरका सीमित हलहरूमा लागिरहेको यो फिल्म कस्तो बनेको छ त? आउनुस्, यसैबारे चर्चा गरौँ।
विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबलहरूमा राम्रो प्रतिक्रिया पाइसकेको र नेपालभित्रै पनि प्रदर्शन अघिदेखि नै ट्रेलर र पोस्टरमाथि अनेक समीक्षात्मक टिप्पणी बटुल्दै आएको यो फिल्मका निर्देशक हुन्- इयन स्कट क्लिमेन्ट। विगत ८ वर्षदेखि नेपालमै रहेर सिनेमा क्षेत्रमा काम गर्दै आएका इयनले योभन्दा अघि पनि 'आँपको अचार' नामक नेपाली चलचित्र निर्देशन गरिसकेका छन्। असिम निरौला, मिथिला शर्मा, सुप्रिम राई, सरिता गिरी, लगायतका कलाकारलाई लिएर बनाइएको यो फिल्म के प्रचार गरिएजत्तिकै हरर र माइन्डब्लेन्डिङ बन्न सकेको छ त?
मल्टिपर्सन अप्रोचबाट कथा भनिएको यो फिल्मको कथा भन्ने शैली केही नौलो लाग्नसक्छ। फिल्मले थर्ड पर्सनको रूपमा क्यामरालाई कथा भन्न लगाएको छ भने कहिलेकाहीँ फर्स्ट पर्सन अप्रोच अर्थात् मुख्य पात्र प्रवेश ढुंगानाको आँखाबाट पनि हामी कथालाई हेर्न पाउँछौँ। घरी क्यामराले हामीलाई उसको कथा सुनाउँछ भने घरी त्यो 'ऊ' पात्र हामीसँग सोझै कुरा गर्छ। यति सोझै कि हामी उसको मुटुको धड्कनलाई, उसको शरीरभरि छुटिरहेको कम्पनलाई महसुस गर्न सक्छौँ।
कथा बग्दैरहँदा बेलाबेला स्क्रिन झ्याप्प निभिदिन्छ- त्योबेला हामी बुझिदिन्छौँ ऊ 'ब्ल्याक आउट' भएको छ! बेलाबेला दृश्यहरू धमिलिन्छन् र हामी बुझिदिन्छौँ उसलाई सम्झिन गाह्रो भइरहेको छ। यो 'ब्लिङ्क एन्ड ब्लर'लाई फिल्मले प्राविधिक रूपमा मात्र नभएर मुख्य पात्रको मानसिक अवस्थाको सूचकका रूपमा समेत प्रयोग गरेको छ।
फिल्मको पहिलो हाफमा कथाले के भन्छ, के भन्न खोजिरहेको छ जान्न दर्शकलाई हम्मे हम्मे पर्छ। खैर, एउटा लेखक बाबुको छोरो आर्ट्स पढ्न सहरमा कलेज भर्ना भएको छ। क्लासभरिमा क्रियटिभ राइटिङमा उसैले म्यामको मन जित्नसक्छ। यसले उसको बाबुप्रतिको लगाव वा उसले बाबुको लेखकीय गुण विरासतमा पाउनुको संकेत गर्छ।
स्मृतिले डसिएर एकदिन उसले हामीलाई आफ्नो लेखक बाबु लेखेकै कारण कसरी जागिरबाट निकालिएको थियो र त्यो घटनाले उसको बाबुलाई कतिसम्म असर पारेको थियो भनेर सुनाउँछ। त्यो तनावका बीच उसले बाबुलाई लोकल रक्सी टक्र्याइदिन्छ। लोकल रक्सी घुट्क्याउँदै उसको बाबु आफूभित्रको डर ओकल्छ। खैर, यो अतीतको झिल्को हो। अचेल ऊ बाबुसँग होइन रुममेट आकाशसँग बसेर लोकल रक्सी घुट्क्याउँछ र अब ऊ बाबुको होइन, आकाशका डरहरू सुन्छ। सायद, ऊ रक्सी पिउने साथीमा आफ्नो रक्सी पिउने बाबुलाई खोजिदिन्छ! कतै उसको बाबु पनि उसको साथीजस्तै पारानोइयाको सिकार त थिएन? पख्नुस्, पारानोइयाको सिकार को थियो भन्ने त बिस्तारै खुल्दै जाला। हतार के छ?
त्यसो त फिल्मलाई पारानोइड कन्सिपिरेसी थ्योरीको जगमा उभ्याइएको छ। भनिन्छ, सत्तामा वा शक्तिमा रहन चाहनेले कहिलेकाहीँ नियन्त्रणमा आउन नसक्ने डर फैलाइदिन्छन् र डरले कमजोर भइसकेका मानिसहरूमा आफ्नो शक्तिको प्रयोग गर्छन्। के आकाशले पनि त्यही गरेको हो? प्रवेशले आफ्नो ल्यापटपको वेबक्याम किन छोपेको हो? दर्शकलाई उठ्नसक्ने केही प्रश्न यी पनि हुन्।
प्रवेशको होस्टलस्थित कोठाको अट्याच्ड ट्वाइलेटको भित्तामा पहेँला-राता फूलहरू छन्। ती फूलहरू देख्दा उसलाई सयपत्री टिपिरहेकी आफ्नी आमाको सम्झना आउँछ। सम्झनामा के आउँछ? साच्चै, पहेँलो रंगसँग उसलाई डर लाग्छ कि? लाग्छ भने किन पो लागेको होला? यो जान्न भने फिल्म नै हेर्नुपर्ने हुन्छ।
राजीव मानन्धरको सिनेम्याटोग्राफी रहेको यस फिल्मका आउटडोर दृश्यहरूले दर्शकलाई सन्तुष्टि दिनेछन्। तर, इन्डोर दृश्यहरूलाई भने अझै भयानक बनाउन सकिन्थ्यो कि? हरर-थ्रिलर सिनेमा भनिरहँदा इन्डोर सेटिङ पनि उत्तिकै गथिक भइदिए दर्शकको अपेक्षासँग सायद अझै तालमेल मिल्नेथियो।
फिल्मभित्र कतिपय कुराहरू सम्झिन लायक छन्। जस्तो कि कहिल्यै नहाँस्ने प्रवेश 'हास्यरस' पढिरहेको देखिन्छ। म्यामले क्रियटिभ राइटिङलाई अझै परिष्कृत गर्दै लैजान नयाँ-नयाँ ठाउँ घुम्न र कम्फर्ट जोनभन्दा बाहिर निस्किन सुझाव दिन्छिन्। त्यसैपछि प्रवेश नयाँनयाँ ठाउँमा पुग्छ। भक्तपुरका भुतिया गल्ली मात्र होइन, भौतिक जेलदेखि झाँक्रीको मायावी जाल भित्रसम्म ऊ कैद हुनपुग्छ। मामाको कडा निगरानीमा निसासिएको प्रवेशले आखिर मामाघर उर्फ जेलको हावा खान पनि भ्याउँछ।
यद्यपि, मामा र भान्जाको त्यो किसिमको सम्बन्ध नेपाली दर्शकका लागि उति विश्वसनीय नलाग्न पनि सक्छ। मामासँगै उति राम्रो सम्बन्ध हुन नसकेको भान्जालाई माइजुले भने सम्झिनु! असम्भव त होइन तर, यस्ता कुरा अस्वाभाविक भने नलाग्ला भन्न सकिँदैन। फिल्ममा अर्को एउटा दृश्य पनि छ, जहाँ मामा होइन माइजु जोडजोडले रुन्छिन्। कुन प्रसंगमा त नभनौँ तर, यहाँनेर पनि दर्शकलाई उस्तै अस्वाभाविक महसुस भइदिनसक्छ।
हुन त, फिल्म हेरिरहँदा तपाईंलाई घरीघरी प्रवेशभन्दा आकाश एउटा रुचिकर पात्र लागिदिनसक्छ। प्रवेश त कहिल्यै भुक्न नसक्ने बाँधिएको कुकुरजस्तो- सोझो र निम्छरो। कहिले बाबुको औँलाको इसारामा नाचेजस्तो, कहिले मामाको काबुमा रहेर श्वास फेरेजस्तो, कहिले झाँक्रीको मन्त्रमा मुग्धजस्तो त कहिले साथीको प्रपञ्चमा फसेजस्तो!
साँच्चै, त्यो पिलिकपिलिक टल्किने वस्तुसँगको डर त प्रवेशलाई आकाशसँग भेट्नु अघिदेखि नै थिएन र? कलेजको फर्म भर्न पुगेको दिन सम्झिनुस् त। होइन, होइन ... त्योभन्दा अझै अगाडि पुग्नुस्। ब्ल्याक आउट हुनुभयो? दृश्य ब्लर भए? खैर, आवाज त सुनिरहनुभएकै होला। यो आवाज प्रहरी भ्यानको हो। के प्रहरी भ्यानले पनि पिलिकपिलिक बत्ती बाल्छ? के सयपत्री फूलमा पनि पिलिकपिलिक बत्ती बल्नसक्छ? तमाम प्रश्न जन्माउने यो फिल्ममा केही छ भन्दा केही छैनजस्तो। र केही छैन भन्दा भनेर नसकिने कुरा छन् कि जस्तो। कस्तो कस्तो!
जाँदाजाँदै, तपाईंलाई एउटा प्रश्न के प्रवेश होस्टलमा साँच्चै नै रुममेटसँग बस्थ्यो त?
Shares
प्रतिक्रिया