ad ad

कला


बुवा–आमाको बिछोडमा चेपिएकी ‘डंकी’की चमेलीको जीवन संघर्ष

बुवा–आमाको बिछोडमा चेपिएकी ‘डंकी’की चमेलीको जीवन संघर्ष

नेपालखबर
पुस १६, २०८० सोमबार १२:१७,

‘डंकी’ बलिउड बक्स अफिसमा कमाल गरिरहेको फिल्म हो। यो फिल्मकी चमेलीलाई कतिले याद गर्नु भएको छ? फिल्म रिलिज भएसँगै उनलाई ‘डंकी’की चमेली भन्न थालिएको छ। उनको वास्तविक नाम हो, कोमल सचदेवा। कोमलले जीवनमा यति ठूलो ब्यानरको फिल्ममा काम गर्न पाउँछु भनेर सपना समेत देखेकी थिइनन्। 

उनको हुर्काइ निकै कष्टकर रह्यो। हुर्कंदै गर्दा भोगेको अभावले पनि उनलाई ठूला सपना देख्न दिएन। कोमल सानै थिइन्। उनका बुवा–आमाको बिछोड भयो। आमाबुवाको विछोडपछि मामाको घरमा गरिबीमा हुर्केकी उनको संघर्ष र मेहनत भने खेर जान पाएन। 

विश्वास नलागेको डंकीको अफर
कोमल राम्रो प्रोजेक्टको पर्खाइमा थिइन। उनलाई लागिरहन्थ्यो, राम्रो प्रोजेक्टमा अवसर पाए मेहनत गरेर काम गर्थें। एकदिन ह्वाटसएप अडिसन ग्रुपमा मुकेश छाबराले राम्रो प्रोजेक्टका लागि पञ्जाबी बोल्ने अभिनेत्री आवश्यक रहेको बताए। त्यहाँ उनले इमेल पनि छाडेका थिए।

‘मैले त्यो इमेलमा आफ्ना केही तस्बिर र भिडिओ पठाएँ। म यो प्रायः गरिरहन्छु, तर म विरलै कुनै प्रतिक्रिया पाउँछु। यसपटक दुई दिनमै फोन आयो। मेरो मेलमा फिल्मको स्क्रिप्ट आयो,’ उनी भन्छिन्।

कोमलले यो स्क्रिप्ट पाउँदा कोरोना महामारी थियो। कोरोनाका कारण उनले घरबाटै अडिसन दिइन्। उनले आफ्नो क्यारेक्टरले निर्वाह गर्नु पर्ने भूमिकाको अडिसन भिडिओ रेकर्ड गरेर पठाइन्। 

अडिसन भिडिओ पठाएको भोलिपल्टै उनलाई फोन आयो। भनियो, ‘तिमी यस पात्रका लागि छनोट भयौ।’ त्यसपछि उनले अभिनय गरेको फिल्म ‘डंकी’ले विभिन्न रेकर्ड ब्रेक गरिरहेको छ। त्यसो त उनले यसअघि पनि अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर लगायतका स्टारसँग फिल्म ‘ट्वाइलेटः  एक प्रेम कथा’मा अभिनय गरिसकेकी हुन्। 

स्टार कलाकारसँग काम गरेर चिनिएकी कोमलको जीवन भने यति सहज छैन। उनको जीवनले अभावका थुप्रै बक्ररेखा पार गरेको छ। 

४ वर्षको उमेरमा बुवासँग बिछोड
कोमल ४ वर्षकी हुँदै उनका बुवाआमा अलग भए। त्यतिबेला उनका भाइ १ वर्षका मात्रै थिए। बुवासँग छुट्टिएपछि छोराछोरी लिएर उनकी आमा मामाघर पुगिन्। कोमलको बाल्यकाल हजुरआमाका साथमा दिल्लीमा बित्यो।

कोमलले मायाको कमी महसुस गर्नु परेन। उनलाई उनकी हजुरआमा र मामाले असाध्यै माया गर्थे। मामाको लाडप्यारमा कोमलले बुवाको अभाव भुलेकी थिइन्। एकदिन खेल्ने क्रममा उनका साथीले भने, ‘बुवा कस्तो हुन्छ थाहा छैन। मेरो बुवा हुनुहुन्न।’ यो कुरा सम्झँदा कोमलको मन अहिले पनि बिझाउँछ। भन्छिन्, ‘यो कुराले मलाई चोट दियो। बाबाको अभाव महसुस गरायो। त्यसैले त्यो दिन आज पनि सम्झन्छु।’ 

कोमलको पढाइ राम्रो थियो। उनका मामाले पनि बुवाको अभाव महसुस नहोस् भनेर उनको पढाइमा ध्यान दिन्थे। कोमल सम्झना गर्छिन्, ‘मलाई राम्रो स्कुलमा पढाउन मामाले आफ्नो कम्प्युटर पनि बेच्नु भयो।’ अभावले ग्रस्त परिवारमा पनि कोमल आफूले खुसी पाएको बताउँछिन्। पढाइमा राम्रो भएकै कारण उनले स्नातक तह सक्नासाथ ‘अमेरिकन एक्सप्रेस’मा काम गर्ने अवसर पाइन्। तर, उक्त कामले उनलाई सन्तुष्टि भने दिन सकेको थिएन। 

डिप्रेसनबाट ग्रसित भाइ
आमाबाबुको बिछोडले भावनात्मक रुपमा कोमललाई त्यस्तो गाह्रो भएन। हजुरआमा र मामाले दिएको मायाले गर्दा उनले बुवाको अभाव त्यति साह्रो महसुस पनि गरिनन्। कोमलको स्वभाव सबैसँग मिल्ने, हाँस्ने, बोल्ने खालको थियो। त्यसैले उनी मामाघरको परिवारसँग पनि छिट्टै घुलमिल हुन सकिन्। परिवारबाट भरपुर माया पाइन्। तर, उनका भाइले भने आमाबुवाको बिछोडको असर भोग्नु पर्यो। 

उनका भाइ परिवारसँग घुलमिल हुन सकेनन्। उनले बुवाको अभाव महसुस गरे। ‘मेरो भाइ लामो समयदेखि डिप्रेसन र सिजोफ्रेनियाबाट पीडित छन्। उपचार भइरहेको छ र हामी सबैले उनलाई यो समस्याबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छौँ,’ कोमलले आफ्ना भाइका विषयमा भनेकी छिन्।

रंगमञ्चबाट अभिनय सुरु 
कोमल अभिनय मार्फत आफ्नो भावना व्यक्त गर्न चाहन्थिन्। उनले मण्डी हाउसमा थिएटरमा काम गर्ने मौका पाइन्। थिएटरको यात्राले कोमललाई सपनाको बाटोमा हिँड्न बल दियो। स–साना भूमिकाबाट उनले अभिनय यात्रा थालिन्। अभिनयले उनलाई भावनात्मक उपचारको काम गर्यो। थिएटरको स–सानो भूमिकाले कोमलको फिल्मी करिअर सुरु गरिदियो। उनले ‘ट्वाइलेटः एक प्रेम कथा’, ‘दिल बेकरार है’ जस्ता फिल्ममा अभिनय गरिन्। जहाँ उनको कामको राम्रो प्रशंसा भएको छ।

अभिनयका लागि मुम्बई 
कोमलको बसाइ दिल्लीमा थियो। उनी हरेक पटक सुटिङका लागि मुम्बई आउँथिन्। कामको व्यस्तता बढ्दै जान थालेपछि उनलाई बारम्बार आउ–जाउ गर्न मुस्किल हुन थाल्यो। सन् २०२० मा उनी मुम्बई सरिन्। कोमल अहिले काम र कामको जस दुवै पाइरहेकी छिन्। भन्छिन्, ‘यस्तै काम पाइरहेँ भने जीवनमा गुनासो रहँदैन।’

डंकीको अफर र डर
कोमलले फिल्म ‘डंकी’का लागि आफू छनोट भएको कुरा विश्वास गर्न सकिनन्। झन् जब फिल्म राजकुमार हिरानीको हो भन्ने थाहा भयो, उनलाई विश्वास गर्न झनै गाह्रो भैरहेको थियो। तर, उनी खुसी थिइन्। उनको त्यो खुसी चार गुणा बढेर गयो, जब प्रोडक्सन हाउसले भन्यो ‘फिल्ममा शाहरुख खान छन्।’

फिल्ममा काम गर्ने सम्झौता नगर्दासम्म कोमल आफूलाई डर लागेको बताउँछिन्। सम्झौतापछि पनि उनले सहजै विश्वास गर्न सकिनन्। भन्छिन्, ‘सम्झौतामा हस्ताक्षर गरेर फर्किएपछि मैले सपना हो कि भनेर पटक–पटक जाँचेँ।’ कोमलले फिल्मको सम्झौतामा हस्ताक्षर गरेको ६ महिनासम्म छायांकन भएन। यो ६ महिना बिताउन आफूलाई निकै कष्ट भएको कोमल बताउँछिन्। 

‘सम्झौतापछि फिल्मको लुक्स टेस्ट पनि भयो। सबै कुरा समयमै भैरहेको थियो। तर, मलाई यो भूमिका पाउँदिनँ कि भन्ने चिन्ता हुन्थ्यो। यो समय मैले आफूलाई विभिन्न कोणबाट हेरेँ र व्याख्या गरिरहेँ,’ कोमल फिल्म पर्खाइका दिन सम्झना गर्छिन्।

फिल्मको रिहर्सल भयो। फिल्म छायांकन भयो। रिलिज भयो। फिल्मसँगै उनले पनि चर्चा पाइरहेकी छिन्। तर, उनले फिल्म रिहर्सलको समय दिमागमा लिइरहेकी छिन्। ‘रिहर्सलको दिन राजकुमार हिरानी र बोमन इरानी मेरो अगाडि थिए। इरानी रिहर्सलको यसरी तयारी गरिरहेका थिए, मानौँ उनी पहिलो पटक फिल्ममा अभिनय गर्दैछन्। बोमन इरानीलाई हेरेर मैले बुझेँ, उनको अभिनय किन अचम्मको छ,’ कोमल भन्छिन्।

‘शाहरुखबाट शिष्टाचार सिकेँ’
कोमलले ‘डंकी’को छायांकनअघि शाहरुख खानलाई भेटेकी थिइनन्। पहिलो पटक ठूलो स्टारसँगको भेटले उनलाई थुप्रै पटक असहज महसुस भएको थियो। कोमल नर्भस थिइन् तर शाहरुख आफ्ना सबै सह–कलाकारहरूसँग विनम्रताका साथ कुरा गरिरहेका थिए। शाहरुखले केही समयको संगत र बोलचालपछि आफू स्टार कलाकारसँग छु भन्ने भ्रम तोडेको कोमल बताउँछिन्। 

भन्छिन्, ‘उनी हरेक सह–कलाकारसँग विनम्र भएर प्रस्तुत भए। उनी सेटमा आफ्ना सह–कलाकारलाई जुनसुकै मद्दत गर्न तयार हुन्छन्। सेटमा हाँस्ने र ठट्टा गर्ने पनि गरिरहन्छन्। तर, कामप्रति उनी गम्भीर छन्। मैले उनी बाट शिष्टाचार सिकेँ।’ 

अभावमा हुर्किएकी एउटी केटीको अहिले कामको चर्चा भैरहेको छ। उनले अभिनयको सपना हुर्काउँदै गर्दा चिनेजानेका विश्वास गर्दैनथे। उनीहरु भन्थे, ‘तिम्रो गरिबीले तिमीलाई सफल हुन दिँदैन।’ 

तर, उनी भन्छिन्, ‘यदि तपाई मेहनती हुनुहुन्छ र तपाईंमा सीप छ भने तपाईंलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन।’ 

(दैनिक भाष्करबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .