नेपाल सिनेक्षेत्रका चलेका अभिनेता हुन्– प्रदीप खड्का। गतवर्ष रिलिज भएको ‘प्रेमगीत ३’ पछि पर्दामा नदेखिएका प्रदीपले तीनवटा फिल्म साइन गरिसकेका छन्। उनी हिन्दी भाषाको फिल्म ‘ऐरी’ सहित ‘पूजार सार्की’ र ‘एक्टर’ मा देखिँदैछन्।
‘प्रेमगीत’ बाट चर्चामा आएका प्रदीपलाई उसो त फिल्मको अफर आइरहन्छ। तर, उनी आफूलाई चित्तबुझ्दो स्क्रिप्ट भेटिए मात्रै काम गर्न तयार हुन्छन्। साथै उनी फिल्मको चरित्रमा फिट हुन जेसुकै गर्न समेत तयार हुन्छन्। जुन कुरा उनले फिल्म ‘प्रकाश’ बाट समेत पृष्टि गरिसकेका छन्।
एकवर्षयता प्रदीप ‘ऐरी’ को तयारीमा जुटेका छन्। ऐरीको भूमिकामा फिट हुन आफू फाइट सिकिरहेको प्रदीपले जानकारी दिए।
‘म एकवर्षदेखि नै ऐरीको तयारीमा लागिरहेको छु। जसकारण पनि केही ग्याबजस्तो देखिएको हो। अहिले ऐरीकै लागि मैले फाइट क्लास ज्वइन गरेको छु। एकमहिना भएसक्यो। अझै तीनमहिना फाइट सिक्नुपर्नेछ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।
साथै ‘ऐरी’कै लागि कपाल समेत लामो बनाइरहेको समेत प्रदीपले सुनाए। साथै उनी दिनेश राउत निर्देशित फिल्म पुजार सार्कीको लागि वर्कसप समेत गरिरहेका छन्। सुरुमा प्रदीपले माघबाट पुजार सार्कीको छायाङ्कनमा जानेछन्। त्यसपछि वैश्वाखबाट मात्रै ऐरीको सुटिङ सुरु गरिनेछ।
प्रदीप खड्काको मुख्य भूमिका रहेको प्रेमगीत ३ हिन्दी भाषामा भारतमा समेत रिलिज भएको थियो। जसले नेपाली फिल्म पनि भारतमा रिलिज गर्न सकिन्छ भन्ने सन्देश दियो।
ऐरीबाट पनि नेपाली फिल्म क्षेत्रलाई भारतमा स्थापित गर्न खोजिरहेको उनको भनाई छ। ‘ऐरीबाट बलिउडमा डेब्यू भन्न मिल्दैन। वितरक भारतको भएपनि लगानी चाँहि नेपाली मेकरकै हो। कलाकार मात्रै गएको भए बलिउड फिल्म भन्न मिल्थ्यो।’
उनले भने, ‘एक्टरमात्रै जाँदा दिर्घकालिन हुँदैन। त्यसैले सिंगो टिम गएका हौँ। हाम्रो फिल्म नेपालमा बन्ने इण्डियामा चल्ने हुँदा राम्रो हुन्छ। हाम्रो नियत भनेको म इण्डिया जाने होइन की नेपाली फिल्मलाई भारतीय मार्केटमा लाने हो। त्यसलाई बलिउड भन्न नमिल्ला। नेपाली फिल्मलाई लार्जर मार्केटमा लान खोजिरहेको मात्र हो।’
Shares
प्रतिक्रिया