'प्रेमगीत' मा अभिनय गरेसँगै प्रदीप खड्का चर्चामा छाए। चकलेटी अनुहारका प्रदीपको चर्चा मात्रै भएन, धेरै फिल्ममेकरको नजरमा समेत पर्न थाले। फिल्मको अफर गर्न होस् वा स्क्रिप्टको छलफल गर्न, उनलाई भेट्न बोलाइन्थ्यो। जसको लागि कहिले क्याफे त कहिले रेस्टुरेन्ट पुग्थे उनी। धेरै ठाउँमा भेट्न जानुपर्दा प्रदीप सोच्थे, 'एउटा आफ्नै भेटघाट गर्ने ठाउँ भए हुन्थ्यो!'
त्यस्तो ठाउँ जहाँ आनन्दले घण्टौँ मिटिङ गर्न मिलोस्। शान्त वातावरण अनि कफीको चुस्कीसँगै कुराकानी गर्न पाइयोस्। र, आफूलाई भेट्न चाहने फ्यानहरुलाई समेत ढुक्कले बोलाउन सकियोस्।
एउटा राम्रो मिटिङ पोइन्ट बनाउने हुटहुटीले गैरीधारामा 'प्याराडाइज गार्डेन रेस्टुरेन्ट एन्ड इभेन्ट' खोलेको सुनाउँछन् उनी। प्रदीपसहित प्रवेश डिसी, महेश पहारी र प्रकाश सुवेदीको साझेदारी रहेको रेस्टुरेन्टमा साढे २ करोड लगानी छ। विगत दुई वर्षदेखि रेस्टुरेन्ट सञ्चालन भइरहेको भएतापनि प्रदीपले नयाँ वर्षको अवसरमा रेस्टुरेन्टबारे सार्वजनिक गरेका हुन्।
'फिल्मको अफरदेखि स्क्रिप्टको छलफल र एग्रिमेन्ट सबै क्याफे/रेस्टुरेन्टमै गरिरहेका हुन्छौँ। सीमित आठ/दस वटा कफीसफहरु छन्। जहाँ प्रायले मिटिङका लागि बोलाउनुहुन्छ। त्यस्तै, फेसबुकमा पनि फ्यानहरुले भेट्ने भनेर म्यासेज गरिराख्नुहुन्छ। उहाँहरुलाई पनि कहाँ बोलाउने भन्ने जहिल्यै अन्यौल हुन्थ्यो। त्योभन्दा त आफैँ एउटा मिटिङ पोइन्ट सुरु गर्छु भनेर रेस्टुरेन्टमा लगानी गरेको हुँ,' उनले भने।
हुन त अफिस खोल्ने पनि सोच नआएको होइन प्रदीपलाई। तर, कलाकार भएपछि सुटिङको लागि धेरैजसो बाहिर नै जानुपर्ने। जसकारण अफिसभन्दा रेस्टुरेन्ट नै खोल्न उचित ठाने उनले।
'अफिस खोलौँ भन्दा पनि त्यस्तो अफिसमा काम गर्ने भन्ने हुँदैन। धेरैजसो सुटिङमा बाहिर जानुपर्छ। हप्तामा तीनचार दिन सुटिङ नै परिरहेको हुन्छ। एउटा अफिस खोल्नु सट्टा भेटघाट गर्ने एउटा पोइन्ट खौलौँ न त भन्ने हिसाबले यसमा लगानी गरेको हुँ। क्याफे यस्तो ठाउँ हुनसक्छ जहाँ चाहिँ मैले खाली समयलाई खर्च गर्न सक्छु भनेर रेस्टुरेन्ट पहिलो प्राथमिकतामा पर्यो। अरु व्यवसायमा खाली समय खर्चिन्छु भनेर मात्र हुँदैन। पुरै गम्भीरताका साथ लाग्नुपर्छ।'
गार्डेन थिममा रेस्टुरेन्ट
रेस्टुरेन्ट भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ मुख्य सडकछेउको लोकेसन। ठूलो एसियामा चिटिक्क परेको भवन। अनि बत्तीको झिलिमिलीबीच ग्राहकहरुको बाक्लो भीडभाड।
तर, माथि सोचिएको दृश्यभन्दा फरक छ: प्याराडाइज गार्डेन रेस्टुरेन्ट। जुन रेस्टुरेन्ट गैरीधारास्थित नमस्ते कम्लेक्सबाट बायाँपट्टि १०० मिटर पर नीलसस्वती मार्गमा अवस्थित छ।
रेस्टुरेन्ट प्रवेश गरेसँगै देखिन्छन् थरीथरीका बोटविरुवा र मनमोहक फूलहरु। वाटरफाउन्टेनको आवाज। अनि एक्वेरियममा माछाहरु। चिरचिर गरिरहेका चराचुरुङ्गीको आवाज। जुन एम्बियन्सले घरकै बगैँचामा बसेजस्तो भाइब्स दिन्छ।
प्रदीप आफैँ पनि शान्त वातावरण मन पराउँछन्। आफूजस्तै अरुलाई पनि कम भीडभाड हुने ठाउँ मन पर्छ भनेर गार्डेन थिममा रेस्टुरेन्ट खोलेको सुनाउँछन् उनी।
'गैरीधाराको मुख्य चोकमा धेरै रेस्टुरेन्टहरु छन्। तर, हाम्रो रेस्टुरेन्ट केही भित्रपट्टि छ। म धेरै भीडभाडभन्दा कम मान्छे आउने ठाउँ मन पराउन्छु। मलाई जस्तै अरु पनि धेरै जना हुनुहोला। जसलाई कम भीडभाड हुने ठाउँ मन पर्छ। शान्त एम्बियन्सको हाम्रो रेस्टुरेन्टमा थोरै मान्छे आएर रमाइलो मानुन भन्ने लाग्छ।'
उत्कृष्ट पारिवारिक थलो
मिटिङ पोइन्ट थिमसहित खोलिएको रेस्टुरेन्टभित्र पाँचवटा मिटिङ रुम बनाइएको छ। साथै ब्याङ्क्वेट हल पनि यस रेस्टुरेन्टको अर्को आकर्षण हो। सयदेखि डेढ सयजना अट्ने ब्याङ्क्वेटमा सेमिनारदेखि साना किसिमका इभेन्ट गर्न सकिने सुनाउँछन् प्रदीप।
त्यसैगरी, बाहिर पनि सयजना ग्राहकहरुलाई बस्ने व्यवस्था गरिएको छ। जहाँ अफिसदेखि परिवारका सदस्यहरु आएर घण्टौँ बिताउन सक्छन्। त्यसैगरी, प्याराडाइजमा ग्राहकहरुको इन्टरटेनमेन्टको लागि प्रत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको व्यवस्था समेत गरिएको छ।
प्याराडाइज पारिवारिक जमघट गर्ने उत्कृष्ट थलो रहेको प्रदीप दाबी गर्छन्। 'प्याराडाइजमा मिटिङका लागि प्राइभेट रुमहरु छन्। जसले केही कुराहरुमा छलफल गर्नेदेखि एग्रिमेन्ट गर्न पनि सजिलो हुन्छ,' प्रदीपले भने, 'शान्त वातावरण र बगैँचा भएर धेरैजना यता पढेर बस्नुहुन्छ। ल्यापटपबाटै आफ्नो काम समेत गर्नुहुन्छ। मिटिङसहित पारिवारिक जमघटको लागि उत्कृष्ट ठाउँ हुन्छ।'
ग्रिन सेटिङमा बनेको प्याराडाइजमा विशेषगरी धेरै समय बिताउने ग्राहकहरु आइरहेको समेत उनले सुनाए।
'हाम्रो रेस्टुरेन्ट अलि भित्र पनि छ। जसकारण प्याराडाइज नै जान्छौँ भनेर आउने ग्राहकहरु बढी हुनुहुन्छ। धेरैजसो हाम्रोमा कर्पोरेट सेक्टरको बढी आउनुहुन्छ। परिवार पनि आउनुहुन्छ। लन्चको लागि टुरिस्ट पनि आउनुहुन्छ। यता आएपछि घण्टौँ बिताउने नै आउनुहुन्छ।'
दाङको बधिया भालेदेखि थरीथरीका मोमो
धेरैजसो रेस्टुरेन्टले छुट्टै सिग्नेचर डिस बनाएका हुन्छन्। तर, प्याराडाइजमा सबैखाले फुडलाई प्राथमिकतामा राखिएको सेभ नरेश घिमिरे बताउँछन्।
उनका अनुसार प्याराडाइजमा चाइनिज, इन्डियन, इटालियन, अफ्रिकन लगायतका कन्टिनेन्टल फुड पाइन्छन्। त्यस्तै, मोमो पारखीका लागि मेनुमा दसथरीका मोमोहरु राखिएको छ। लोकल भाले मन पराउनेहरुका लागि दाङको बधिया भाले पनि प्याराडाइजको स्पेसल डिस हो। कफीसहित मदिरा र हुक्का समेत रेस्टुरेन्टमा राखिएको छ।
'फ्यामिलीलाई भनेर धेरैजसो खानेकुराहरु मेनुमा राखेका छौँ। तर, बढीजसो मोमो प्लाटरदेखि मिट किलर, चिकेन लभर प्लाटर, पेरीपेरी चिकेन, पोर्क बेरी ग्राहकहरुको रोजाइमा परिरहेको हुन्छ।'
नेपाली खाना भने इभेन्टको लागि मात्रै अर्डर अनुसार तयार पारिने समेत उनले सुनाए।
कलाकारिता र व्यवसाय सँगसँगै
कोरोना महामारीलगत्तै प्रदीप यस व्यवसायमा जोडिएका हुन्। त्यतिबेला प्रेमगीत ३ को तयारीमा जुटेका प्रदीपले रेस्टुरेन्टबारे खुलाउन चाहेनन्। कस्तो होला भन्ने अन्यौलताबीच यो कुरा लुकाएर राखेको स्विकार्छन् उनी।
'कोरोनापछि प्रेम गीत ३ को तयारीमा लागेँ। प्रेमगीतको चर्चामा यो न्युज आउँदा त्यति ठिक नहोला जस्तो लाग्यो। फेरि यो व्यवसाय कस्तो हुन्छ, के हुन्छ पनि थाहा थिएन। केहीवर्ष सञ्चालन भए पनि स्थिर हुन्न भन्ने लागेर अहिले अनाउन्स गरेको हुँ,' उनले भने।
आर्थिक मन्दीको बेला पनि ग्राहकहरुको मायाले सर्भाइव हुन सकिरहेको बताउँछन्। भन्छन्, 'अहिले खोलेको भए सोचिन्थ्यो होला। तर, अगाडि नै खुलिसकेको भएर त्यस्तो गाह्रो छैन। कर्पोरेट गेस्टहरु र फ्यामिली आइरहेको भएर टिक्ने वातावरण छ। लगभग २५ जना जतिले रोजगारी पाउनुभएको छ। आर्थिक मन्दीको अवस्थामा केही न केही योगदान भइरहेको छ।'
मिडिया र मार्केटिङबाट एमबीए गरेका प्रदीप साइड बिजनेस सबैले गर्नुपर्ने तर्क राख्छन्। साइड बिजनेस गर्दा आयआर्जनको स्रोत फराकिलो हुँदा जीवन चलाउन सजिलो हुने उनको भनाइ छ।
प्रदीप हाल हिन्दी भाषाको फिल्म 'ऐरी' सहित 'पुजार सार्की' र 'एक्टर' को तयारीमा छन् प्रदीप।
'वर्षमा एउटा फिल्ममा तीन/चार महिना व्यस्त भइन्छ। बाँकी फ्री नै हुन्छु। ब्याक टु ब्याक फिल्म गर्न पनि मन पर्दैन। त्यही खाली समयलाई उपयोग गर्न यसमा लगानी गरेको हुँ। अब छिट्टै क्लोदिङ स्टोर खोल्ने योजना छ,' उनले भने।
Shares
प्रतिक्रिया