हिउँद लागेसँगै ढोरपाटनमा अत्यधिक हिउँ पर्छ। चिसोले त्यो बेला विद्यालयमा पनि लामै बिदा हुन्छ। हिउँदे बिदा भएपछि गाउँलेहरू बालबच्चासहित तल झर्छन्। गाउँलेहरूले त हिउँबाट छुट्टी पाए। तर, रतिमा र कलिमाले भने हिउँबाट कहिल्यै छुट्टी पाउँदैनन्। बरु उनीहरू ती रित्तिएका घरको चौकीदारी गरेर बस्छन्।
नाताले रतिमा र कलिमा सौता हुन्। तर, जुन श्रीमानबाट उनीहरू जोडिए, ती श्रीमान् संसारमा छैनन्। श्रीमान् नभएपछि दुवै सौता हरेक हिउँदमा गाउँको चौकीदारीमा खटेका हुन्छन्। आखिर के कुराले उनीहरू बुढेसकालमा चौकीदारी गर्न बाध्य भए? र, सौताबीचको सम्बन्धको जालो कस्तो होला? त्यो थाहा पाउन नेपाली वृत्तचित्र 'ढोरपाटन' नै हेर्नुपर्छ। अंग्रेजीमा 'नो विन्टर होलिडेज' नामको डकुमेन्ट्री हाल सीटीसी मलस्थित 'सीडीसी सिनेमाज्' मा प्रदर्शनरत छ।
राजन कठेल र सुनिर पाण्डे निर्देशित 'ढोरपाटन' ले रतिमा र कलिमाको जीवनलाई पर्दामा जीवन्त रुपमा प्रस्तुत गरेको छ।
गाउँ हिउँ परेर सेताम्य भएको छ। त्यस्तो चिसोमा पनि उनीहरू प्रत्येक घरको ढोकामा पुग्छन्। ढोकाको ताल्चा हेर्छन्। ताल्चा लगाएकै अवस्थामा भेटेपछि घर फर्किन्छन्। गाउँभरिका घरको चौकीदारी गरेको दैनिकीलाई क्यामेरामा मज्जाले कैद गर्न सफल छन् बबिन दुलाल। ढोरपाटनका मनमोहक दृश्यलाई खिच्न पनि सिपालु देखिएका छन् उनी। किरण श्रेष्ठको सम्पादन पनि अब्बल देखिन्छ।
त्यस्तै, दुई सौताबीचको जटिल सम्बन्ध पनि डकुमेन्ट्रीमा बलियो रुपमा चित्रण गरिएको छ। रतिमा र कलिमाको स्वभाव ठ्याक्कै उल्टो छ। गीत गाउन मन पराउने रतिमा खासै बोल्दिनन्। तर, कलिमालाई बोलिरहनुपर्ने। उनी एक्लै हुँदा पनि बोल्न छोड्दिनन्। काम गर्नमा रतिमाभन्दा कलिमा निकै छरितो। रतिमाले कुखुरा पालेकी छिन् भने कलिमाले बाख्रा र गाई। फुर्सद पाउनेबित्तिकै रतिमा धागो उन्छिन्। तर, कलिमा भने छोरीलाई फोन गरेर मन भुलाउँछिन्। मानिस र जनावरबीचको सम्बन्धलाई पनि मज्जाले देखाइएको छ।
डकुमेन्ट्रीमा सपनाको माध्यमबाट पनि दुई सौताको मनस्थितिलाई बुझाउन खोजिएको छ। रतिमाको आफन्तको नाममा भदैनी मात्र छिन्। छोराछोरी नहुँदा उनको श्रीमानप्रतिको प्रेम विछट्टै देखिन्छ। एक दृश्यमा रतिमाले भन्छिन्, 'श्रीमानको जस्तो माया कसैको नलाग्दो रहेछ।'
श्रीमानसँग बिताएका पुराना दिन सम्झनु, बारम्बार सपनामा देख्नु र श्रीमानको चिहानमा फूल चढाउनुले उनको श्रीमानप्रतिको प्रेमलाई झल्काउँछ।
कलिमाको प्रेम भने सन्तानतर्फ ढल्किएको छ। कुनै सपना देख्नेबित्तिकै उनी छोरीको सुर्ता गर्छिन्। छोरीसँग कुरा गर्दा पनि सपना सुनाएर चिन्ता लागेको बताउँछिन्।
दुई सौताको सम्बन्धको जटिलतालाई देखाउन बिम्बको राम्रो प्रयोग गरिएको छ। संवादभन्दा पनि दृश्यको भाषाबाट कथावाचन गर्नु डकुमेन्ट्रीको सबल पक्ष हो। एक दृश्यमा दुई बोकाहरू आपसमा सिङ जुधाउँछन्। त्यो दृश्यसँगै रतिमा र कलिमा पर्दामा देखिन्छन्। यसले दुईबीच हुने टकरावलाई संकेत गर्छ।
त्यस्तै, अर्को दृश्यमा सौताबीचको खिचातानीलाई एकै फ्रेममा देखाइएको छ। सुकाएको कपडा नउठाएको भन्दै बाहिरतिर भएकी कलिमा रिसले ढुङ्गा फाल्छिन्। रतिमा भने 'सधैँ यस्तै कराउँछे' भन्दै कलिमादेखि दिक्क मान्छिन्। बेलाबेला हुने दुवैबीचको नोँकझोकले दर्शकलाई बाँधेर राख्छ। जत्तिनै जुधे पनि रतिमा बिरामी हुँदा कलिमा पुग्छिन्। जसले एकअर्काप्रतिको निर्भरता पनि देखाउँछ।
राम्रो हुँदाहुँदै पनि सुरुवाततिर डकुमेन्ट्री निकै सुस्त गतिमा अघि बढ्छ। धेरै कुरा दृश्यका माध्यमबाट भन्न खोज्दा दर्शकलाई बोझिलो पनि लाग्न सक्छ।
अर्को कुरा चलचित्र केन्द्रीय जाँच समितिले सामान्य संवादमा पनि सेन्सर गरेको छ। कलिमाले रिस र आवेगमा बोलेका कतिपय गालीहरू काटिएको छ। तर, त्यो राख्दैमा खासै समस्या भने हुने थिएन। बरु त्यसले झन् कलिमाका भावनाहरू सहजै प्रकट हुन्थे। रतिमाले श्रीमानकै कुरा गरिरहँदा आखिर कलिमा किन श्रीमानबारे बोल्दिनन् भन्ने लाग्छ। यद्धपि, विभिन्न फेस्टिबलमा पुरस्कृत 'ढोरपाटन' गाउँ कुरेर बसेका दुई सौताको कथा भन्ने सशक्त डकुमेन्ट्री हो।
Shares
प्रतिक्रिया