उमेर बढ्दै जाँदा धेरैलाई लाग्छ 'बाल्यकालमा फर्किन पाए हुन्थ्यो'। त्यो बाल्यकाल जहाँ बिना फिक्री रमाइन्छ। अनि सम्झनामा आउँछ स्कुले जीवन पनि। क्लास बंक गरेकोदेखि साथीसँगको नोकझोँक। तपाईंहरू पनि ती दिन याद गर्नुहुन्छ होला नि!
बिहीबार सूर्यविनायकस्थित 'काठमाडौं वर्ल्ड स्कुल' पुग्दा अभिनेता अनमोल केसी आफ्नो स्कुले जीवन नियालिरहेका थिए। तर, रियलको नभई रिलको। स्कुलभित्रको कक्षाकोठामा फिल्म 'फर्की फर्की'को सेट तयार थियो। सेटमा देखिन्थे चार/पाँच किशोरहरु। ती किशोरबीच थिए म्याडी पनि। म्याडी अर्थात् अनमोलको क्यारेक्टर। सानो छँदा म्याडीको भूमिकामा अभिनय गरिरहेका थिए आर्यन माली। आर्यनको लुक दुरुस्तै अनमोलसँग मिल्थ्यो।
निर्देशक सुयोग गुरुङ एक्सन/कट भन्नमै व्यस्त थिए भने नरेन्द्र मैनाली क्यामेरामा। सुयोगसँगै बसेका अनमोल आफ्नै रिलको स्कुल लाइफ हेरिरहेका थिए। गम्भीर भएर सुट हेरिरहेका अनमोल बेलाबेला मुसुक्क हाँस्थे। सायद उनलाई पनि आफ्नो 'स्कुल लाइफ' याद आउँदो हो।
सेटमा देखिएका पात्रहरु काठमाडौँ वर्ल्ड स्कुलकै विद्यार्थीहरु रहेछन्। नन-एक्टर भएकाले उनीहरुलाई निर्देशक गुरुङले बेलाबेला सम्झाउनु परिरहेको थियो। कुनै सट १० टेकसम्म लिनुपरेको थियो। अनमोल फ्यानसँग फोटो खिच्न र अटोग्राफ दिन समेत भ्याइरहेका थिए।
त्यसदिन अनमोलकै पात्रको मात्रै सुटिङ रहेछ। जसकारण जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्याल उपस्थित थिएनन्। अन्तिमतिर अनमोलको पनि सट रहेछ। जुन सर्मा सानो र ठूलो म्याडी एउटै फ्रेममा देखिए। त्यो सट सकिएपछि अनमोलले टिमसँगै फोटो समेत खिचे। मिडियासँग भने अनमोलले कुरा गर्न चाहेनन्।
तर, सानो छँदाको म्याडी बनेका आर्यन मालीले भने आफ्नो अनुभव साटे। आफूलाई मन पर्ने हिरोसँग फिल्म खेल्न पाउँदा निकै खुसी लागेको उनले बताए। उनले भने, 'मैले उहाँको फिल्म 'ए मेरो हजुर ३' हेरेको छु। पहिलेदेखि नै उहाँलाई एकदम मन पराउँथे। उहाँसँग मेरो लुक मिल्ने भएर उहाँको सानो छँदाको रोल खेल्न पाएँ। सुरुमा नर्भस भए पनि अहिले रमाइलो लागिरहेको छ।'
एकछिन फुर्सद निकालेर निर्देशक गुरुङले फिल्म र सुटिङबारे जानकारी दिए। मंसिर ११ गतेबाट 'फर्की फर्की' को छायाङ्कन पोखराबाट सुरु भएको थियो। पोखराको पहिलो चरणको सुटिङ २८ दिनमा सकिएपछि दोस्रो चरणको सुटिङ काठमाडौं उपत्यकामा भइरहेको छ। फिल्मको ८० प्रतिशत छायाङ्कन सकिइसकेको निर्देशक गुरुङले जानकारी दिए।
'८० प्रतिशतजति सुटिङ सकिइसकेको छ। केही दिनको सुटिङ काठमाडौंमा गरेपछि बाँकी गीतको सुटिङको लागि अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बाली जानुपर्ने छ।'
यस फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन्। फिल्मको कथा सन् २०१९ मा फुरेको उनी सुनाउँछन्। 'सन् २०१९ मै फिल्मको आइडिया आएको थियो। सँगै एड गरेकाले म अनमोलसँग क्लोज थिएँ। स्टोरीको आइडिया आउनेबित्तिकै मैले अनमोललाई सुनाएँ। कथाको वान लाइन सुनेबित्तिकै अनमोलले कथा दामी छ भने। फिल्मको स्क्रिप्ट लेख्दा नै अनमोललाई सोचेर लेखिएको थियो,' गुरुङले भने।
तर, लगत्तै कोरोना महामारीले फिल्मक्षेत्र प्रभावित बन्यो। बाँकी काम ठप्प हुँदा महामारीबीच सुयोगले पनि स्क्रिप्टमा काम गरे। स्क्रिप्ट सकेपछि एकपटक अनमोललाई कथा सुनाए। कथा निकै मन परेपछि अनमोल फिल्ममा काम गर्न तयार भएको उनको भनाइ छ।
अनमोल प्रोफेसनल भएकाले सहकार्य निकै सहज भएको बताउँछन् गुरुङ। 'अनमोलसहित जसिता गुरुङसँगको सहकार्य निकै रमाइलो भइरहेको छ। उहाँहरु निकै प्रोफेसनल लाग्यो। मैले लेखेको क्यारेक्टरलाई उहाँहरुले एकदमै राम्रो तरिकाले चित्रण गर्नुभएको छ।'
लभस्टोरी भए पनि 'फर्की फर्की' भित्र धेरै कुरा समेटिएको गुरुङ बताउँछन्। 'कमेडीसहित फ्रेन्डसिप र फ्यामली ड्रामा फिल्मभित्र छ। यस फिल्ममा सप्राइजहरु निकै छन्। यो फेन्टसी जनराको मुभी पनि हो। फिल्मलाई लिएर निकै उत्साहित छु। नेपाली नयाँ वर्षमा फिल्मको टिजर वा गीत निकाल्ने सोच छ,' उनले भने।
यस फिल्ममा अनमोल र जसिताले पहिलोपटक एकसाथ काम गरेका हुन्। साथै नवकलाकार रवि काफ्ले र समृद्धि अर्यालले पनि यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। फिल्मको प्रडक्सन हेड भने शंकर पाण्डे हुन्।
'गाजलु' र 'छ माया छपक्कै' जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीले यस फिल्ममा लगानी गरेका छन्। 'फर्की फर्की' को कथा मन परेपछि सहकार्य गर्न तयार भएको उनी सुनाउँछन्।
'मैले सुयोगजीको फिल्म सानो मन हेरेको थिए। उहाँको पहिलो काम त्यो फिल्म खासै चलेन। तर, उहाँको मेकिङ निकै मन परेको थियो। उहाँले फर्की फर्कीको कथा सुनाएपछि मन परेर लगानी गरेको हुँ,' उनले भने।
अधिकारी यस फिल्ममा अनमोलले निकै राम्रो काम गरेको दाबी गर्छन्। 'यो फिल्म हामीले टिनएजरलाई टार्गेट गरेर बनाएका छौँ। पात्रअनुसार यस फिल्ममा अनमोलले अभिनय निकै राम्रो काम गरेका छन्। मैले उनलाई गाजलुभन्दा निकै परिपक्क पाएँ। यो फिल्म रिलिज भएपछि अभिनयका हिसाबले राष्ट्रिय अवार्ड अनमोलले पाउनु हुन्छ जस्तो लाग्छ।'
५० दिनको सेड्युल रहेको सुटिङमा निकै खर्च लागेको अधिकारी सुनाउँछन्। भन्छन्, 'महँगा कलाकारसहित धेरै लोकेसन भएकाले निकै खर्च छ। रोमान्टिक फिल्म भएकाले क्लबकै सिन पनि बढी छ। साढे ३ देखि ४ करोडसम्म खर्च पुग्छ।'
रोहित अधिकारीसहित ओम अग्रवाल निर्माता रहेको यो फिल्म अर्को वर्षको जेठ ११ गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया