दयाहाङ राईको मुख्य भूमिका भएको फिल्म 'हात्तीछाप' माघ २६ गते रिलिज हुँदैछ। रिलिजको संघारमा हुँदा दयाहाङ यस फिल्मलाई लिएर निकै उत्साहित छन्।
सिमोस सुनुवार निर्देशित यस फिल्ममा आफूलाई फिल्मको कथावस्तु मन परेर जोडिएको उनले सुनाए।
'फिल्मको कथा मन परेर जोडिएको हुँ। यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो। तर, पनि फिल्मले समाजका विभिन्न बिषयवस्तुलाई समेटेको छ। यो फिल्म दामी बनेको छ। जसकारण निकै उत्साहित छु’, उनले भने।
दयाहाङसँगै उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा छिन्। यसअघि दयाहाङ र उपासनाले कबड्डी ३, २ नम्बरी जस्ता फिल्ममा स्क्रिन सेयर गरिसकेका छन्।
एक कार्यक्रममा उपासनालाई फिल्मभित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्न सोधिएको थियो।
जवाफमा उनी भन्छिन्, ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ। जसले आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ। जसको मनमा कुनै स्वार्थ हुँदैन।’
फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए। यो फिल्मले आम नेपालीहरुको कथालाई जोडेकाले लामो समयपछि पनि दर्शकले सम्झने उनको दाबी छ।
किरण नेपालीको प्रस्तुतिमा फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ।
कात्तिक २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनित फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक सफलता पाएका छैनन्।
यसैले, ‘हात्तीछाप’ बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ।
Shares
प्रतिक्रिया