उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले फिल्म 'महाजात्रा' हेरेका छन्। आइतबार बेलुकी लामिछानेले श्रीमती निकिता पौडेलसहित फिल्म हेरेका छन्।
‘महाजात्रा’ को चौतर्फी चर्चासँगै आफू यस शृङ्खलाको नियमित दर्शक भएकाले हलसम्म आएको गृहमन्त्री लामिछानेले बताए।
उनले भने, ‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो। म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो। सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ। नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ।’
उनले सामान्य रुपमा आम दर्शकसँगै बसेर फिल्म हेरेका हुन्।
फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउदै गृहमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको सुनाए।
‘फिल्ममा मनोरञ्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ। मैले त्यो हेरिरहदा झनै ऊर्जा महसुश गरे। म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो। हाम्रो पुस्ताका नेता रहदा पर्दामा भ्रष्ट्राचार गर्ने नेताको सायदै देखिएलान’, लामिछानेले भने।
चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्ममा दर्शकको उपस्थिति राम्रो छ। सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि हलहरुले शो सङ्ख्या समेत बढाएका छन्।
दर्शक प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए।
प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।
बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई महाजात्रामा रोचक शैलीमा प्रस्तुत गरिएको छ।
Shares
प्रतिक्रिया