बलिउड सुपरस्टार सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका २ युवकलाई १० दिनका लागि हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
मुम्बईको बान्द्रास्थित सलमान निवास ग्यालेक्सी अपार्टमेन्टबाहिर गत आइतबार गोली प्रहार गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजका आधारमा बिहार निवासी २४ वर्षीय विक्की गुप्ता र २१ वर्षीय सागर पाललाई सोमबार राति गुजरातको कच्छ जिल्लाको माता नो मध गाउँबाट पक्राउ गरेको हो।
उनीहरूलाई आज (मंगलबार) मुम्बई लगी म्याजिस्ट्रेट अदालतमा पेस गरिएको हो। त्यस क्रममा अदालतले दुवैलाई यही अप्रिल २५ तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
प्रहरीका अनुसार घटनाका बेला गुप्ताले मोटरसाइकल चलाएका थिए भने पछाडि बसेका पालले अभिनेता सलमानको घरमा गोली प्रहार गरेका थिए।
उनीहरूले सलमानलाई मार्ने उद्देश्यले नै उनको घरबाहिर गोली हानेको दाबी मुम्बई प्रहरी अपराध शाखाले मंगलबार अदालतमा गरेको छ।
Shares
प्रतिक्रिया