ad ad

कला


रामकृष्ण ढकाल अस्ट्रेलिया टुर सिड्नीबाट सुरु

रामकृष्ण ढकाल अस्ट्रेलिया टुर सिड्नीबाट सुरु

नेपालखबर
असोज १३, २०८१ आइतबार १७:२५, काठमाडौँ

रामकृष्ण ढकालले अस्ट्रेलिया टुर नामक सांगीतिक भ्रमणको सुरुआत सिड्नीबाट गरेका छन्।

शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा उनले आफ्ना नयाँ तथा पुराना गीत प्रस्तुत गरे। ‘बिहान उठ्नेबित्तिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्ना चर्चित गीत ‘बाचुन्जेलीलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’ लगायतका गीत प्रस्तुत गरे।

उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्यान्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए। अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाए। सन् २००९ देखि नै आफूले अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए।

‘अस्ट्रेलियामा मैले सधै माया पाउने गरेको छु, यसलाई धन्यवाद भन्ने मसँग शब्द छैन। मैले यहाँ ट्रयाक र ब्यान्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरेँ। यसपटकको टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने।

कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए।

‘एउटा कलाकारको धर्म नै उसको कर्म हो। नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु। उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्धार कार्य भइरहेको छ। तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनको भनाइ थियो।

पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत दर्शकलाई बाँध्न सफल भए। आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य रूपमा सफल भएको बताए।

गायक ढकालले यसपटकको दसैँ अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए। उनले न्यु क्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी पनि दिए। सोही कार्यक्रममा गायक ढकालले नेपाली संगीतलाई विश्वभर चिनाउन गरेको योगदान र संगीतमा दिएको निरन्तरतावापत् सम्मान पनि गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .