ad ad

कला


बार्बी अर्थात् गुलाबी संसारको रोमाञ्चक सयर (फिल्म समीक्षा)

बार्बी अर्थात् गुलाबी संसारको रोमाञ्चक सयर (फिल्म समीक्षा)

नेपालखबर
साउन ८, २०८० सोमबार २२:१५, काठमाडौँ

६४ वर्षअघि यो लोकमा आएकी बार्बीले विश्वभरका थिएटरमार्फत उन्मुक्त आकाशमा उड्न खोज्ने नव यौवनहरूलाई दंगदास पारिरहेकी छन्। ५ साउनमा विश्वभरका मल्टिप्लेक्ससँगै नेपाली हलहरूमा पनि एकसाथ रिलिज बार्बी हेर्न आउने ‘फ्यान’हरूको चहलपहलले काठमाडौंमा भिन्नै माहोल सिर्जना गरेको छ।  

गुलाबी रङका ड्रेसमा ठाँटिएकी बार्बीका पूर्णकदका पोस्टरअगाडि उभिएर टिकटक र रिल बनाउन मस्त युवाहरूको चहलपहल देख्दा युरोप र अमेरिकन थिएटर माहोलमा पुगेको भान हुन्छ। 

रिलिजको दिन पूर्वमिस नेपालहरूको संस्था ‘फर्मर मिस नेपाल क्लब’ले सिभिल मलस्थित क्यूएफएक्स हलमा गरेको ‘बार्बी’को च्यारेटी शोमा पनि वातावरण पूरै गुलाबी बनाइएको थियो। 

बालिकादेखि युवतीसम्म यति धेरै लोकप्रिय बार्बी आखिर को हुन्? 

सन् १९५९ मा अमेरिकन खेलौना बजारमा सार्वजनिक गरिएको गुडियाको नाम हो- बार्बी। खेलौना कम्पनी म्याटेलका मालिक इलाइटकी श्रीमती रुथ ह्यान्डलरद्वारा परिकल्पना गरिएको आकर्षक रातो ओँठ, सुनौलो हेयर स्टाइल, कालो र सेतो रङको धारदार स्विमिङ सुटमा सजिएकी वयस्क विशेषतासहितको ११ इन्चकी गुलाबी बार्बी (पूरा नाम- बारबरा मिलिसेंट राबर्टस)।

कालन्तरमा उनी महिला आधिकारिक ‘आइकोनिक’ पात्र पनि बन्न पुगिन्। ९ मार्च १९५९ मा सार्वजनिक बार्बी सुरुमै ३ लाख थान बिक्री भएको थियो। 

न्युयोर्कबाट सार्वजनिक यो गुडियाको मूल्य प्रतिगोटा ३ डलर राखिएको थियो। ६० वर्षअघि निर्मित बार्बी विश्वकै सबैभन्दा चर्चित गुडिया मानिन्छ। 

बार्बी भौतिक रूपमा एउटा गुडिया मात्र होइन, समकालीन विश्वको संस्कृति र राजनीतिको  कथावाचक र विचार निर्माण गर्ने सशक्त बिम्ब पनि हो।

बार्बीको आफ्नै संसार छ। बार्बीका साथीसंगी छन्। ब्वायफ्रेन्ड केन साथमा छन्। यी कहिले सम्बन्धबाट टाढिन्छन् त कहिले पुन: नजिकिन्छन्।बार्बी अनेकन भूमिकामा प्रकट हुन्छिन्।

कहिले उनी ग्ल्यामरस पोजमा क्याटवाक गरिरहेकी हुन्छिन् त कहिले कार्यकारी अधिकार लिई नेतृत्वदायी भूमिकामा देखिन्छिन्।

मानव चेतना र राजनीतिक उतारचढावको प्रभाव बार्बीमा पनि पर्छ। 

उनको संरचनामा प्रश्न उठ्छ- गोरी बार्बी समाजको सिम्बोल कसरी हुन्छिन्? त्यसपछि निर्माण हुन्छ- बहुसांस्कृतिक र समावेशी ढाँचाको बार्बी संरचना।

अमेरिकन गोरी बार्बीले महिलाको विविधताको प्रतिनिधित्व गर्न सक्दिनन् भन्ने आलोचना लामो समयदेखि भइरहेको छ। 

यही आलोचना सम्बोधन गर्न बार्बी निर्माण कम्पनी म्याटेलले सन २०१६ मा ४ प्रकारका शरीर, सात रङका छाला, २२ प्रकारका आँखा र २४ प्रकारका कपाल भएका बार्बी तयार पारेर बजारमा ल्यायो।

यसपालि यही बार्बी आफ्ना प्रेमी केनसँग आफ्नो शासन-सत्ता रहेको बार्लील्यान्डबाट रियल वर्ल्ड अर्थात् मर्त्यलोकमा आएकी छन्। 

तर जब उनी अमेरिका पुग्छिन्, तब छक्क पर्छिन्। ‘रियल वर्ल्ड’ मा त बर्बील्यान्डमा जस्तो महिला नेतृत्वको सत्ता छैन। 

कम्पनीहरूमा समेत महिलाको सहभागिता छैन। जताततै पुरुषकै हालीमुहाली छ। उनी फेरि बर्बील्यान्ड फर्किन्छिन्। त्यहाँ उनलाई तीनछक्क पार्ने घटना भइसकेको हुन्छ। 

आफ्नै प्रेमी केनले रियल वर्ल्डबाट प्रभावित भई महिला शासन भएको बर्बील्ल्यान्डमा पनि  पुरुष-सत्ता बनाइसकेका रहेछन्। 

आफ्नो खोसिएको सत्ता बर्बील्यान्डका बार्बीहरुले कसरी पुनर्स्थापित गर्छन्? त्यसका निम्ति बार्बीको क्लाइमेक्स हेर्न तपाईं मल्टिप्लेक्समै पुग्नुपर्ने हुन्छ। 

यसपालि नेपालखबर मल्टिमिडिया टिम बार्बी भेट्न भक्तपुर (भाटभटेनीस्थित क्यूएफएक्स हल) पुगेको थियो।

त्यहाँ काठमाडौँमा जस्तो सबै सिट भरिएको नभए पनि दर्शकहरूको उपस्थिति राम्रै थियो। 

यदि तपाईं आफ्ना बच्चालाई महिला समानता र तिनको स्वाधीनता बुझाउँँदै बार्बील्यान्डको स्वप्निल संसारमा घुमाउन चाहनुहुन्छ भने परिवारसहित बार्बी हेर्न मल्टिप्लेक्स पुग्ने एउटा उचित बाहना हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .