गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काले २०७४ सालको असोज २९ गते महत्वकांक्षा बोकेर रोजेको पार्टीबाट अपमानपूर्वक हटाइला भन्ने सायदै सोचेका थिए। त्यो त्यही दिन थियो, अखण्ड नेपाल पार्टीलाई उनले नेपाली कांग्रेसमा विलय गराएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाबाट उनले पार्टीमा न्यानो स्वागत पाएका थिए।
अखण्डबाटै संघीयमन्त्री बनिसकेका उनलाई कांग्रेसले समानुपातिकतर्फको गण्डकी प्रदेश सांसदको उम्मेदवार बनायो।
समानुपातिकबाटै उनी संसद छिरे। सार्वजनिक लेखा समितिका सभापति बने। कांग्रेस प्रतिपक्षमा थियो। संघीय संसदको अनुभव, अध्ययनशील र मुखरित हुने स्वभावका कारण उनी प्रतिपक्षको रुपमा संसदमा ‘देखिने’ र ‘सुनिने’ सांसद बने।
संसदमा प्रस्तुत विधेयकहरुमा दफावार छलफल गर्नसक्ने, सरकारका गल्तीलाई औंल्याउन सक्ने स्वभावले उनी साँच्चिकै प्रतिपक्षी देखिन्थे। तत्कालीन संसदीय दलका नेता (हालका मुख्यमन्त्री) कृष्णचन्द्र नेपालीको भन्दा उनको बोलीले सत्तापक्ष हच्किन्थ्यो।
कतिसम्म भने, तत्कालीन मुख्यमन्त्री एमालेका पृथ्वीसुब्बा गुरुङले एकपटक औपचारिक भेटमा अनौपचारिक तवरले भनेका थिए, ‘यो कुमार सधैँ बखेडामात्र झिक्छ।’ कुमारले त्यहाँ पनि प्रतिवाद गरेका थिए।
नेकपा विभाजनपछि गण्डकी सरकार धरापमा पर्यो। सबैभन्दा बलियो एमाले नेतृत्वको सरकार हल्लाउन उनले आफ्नो सम्पूर्ण सामर्थ्य खर्च गरे। कांग्रेस र माओवादी सरकार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कुमार खड्का २०७८ साल जेठ २९ गते गठन भएको कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रिपरिषदमा विना विभागीयमन्त्रीको रुपमा सपथ लिन पुगे।
उनी अर्थात् कांग्रेस अर्थमन्त्रालय चाहन्थ्यो तर माओवादी केन्द्रले अर्थमन्त्रालय नछाडेपछि उनी मन्त्रिमण्डलमा दोस्रो वरियताको भौतिक योजना, सहरी विकास तथा यातायातमन्त्री र सरकारका प्रवक्ता बने।
भनिन्थ्यो, ‘गण्डकीका खास मुख्यमन्त्री त कुमार नै हुन्, उनी समग्र मन्त्रिपरिषदमा हावी छन्।’ देखिन्थ्यो पनि त्यस्तै।
यी शक्तिशाली मन्त्री नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकीको महामन्त्रीको उम्मेदवार बने। तर, त्यहाँ उनी सफल भएनन्।
नेपाली कांग्रेसले दोहोर्याएर समानुपातिक सांसदलाई टिकट नदिने भएपछि उनले कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट प्रत्यक्ष चुनाव लड्ने र गण्डकीको मुख्यमन्त्री हुने आकांक्षा पाले। मुख्यमन्त्रीको टिकट नदिए सभापति देउवाको सामु नै टिकट च्यात्ने भन्दै दिएको अभिव्यक्ति त्यही उपक्रममा बाहिरियो।
त्यो क्षेत्रबाट कांग्रेसकै तर्फबाट कानूनमन्त्री बनेका विन्दुकुमार थापाले प्रत्यक्ष चुनाव जितेका थिए। विन्दुले पनि सो क्षेत्रको दावी छाडेनन्।
यी दुई मन्त्रीबीचको कटुता बढ्दै गयो। कतिसम्म भने, एउटाले अर्कालाई निषेध गर्नेसम्मको अवस्था आयो। दुवैले खुलेरै गुटबन्दी गरेको आरोप लगाए। टिकटको लागि शक्तिकेन्द्र धाउन दुवै पछि परेनन्। यो उपक्रम टिकट वितरणसम्म चलिरह्यो।
अन्ततः कांग्रेसले विन्दुकुमार थापालाई टिकट दियो। कुमारको मन भाँचियो। उनी ‘बिरामी’ भएको जानकारीसहित वडा नम्बर १६ मा रहेको घरमै बसे। मन्त्रालयमा खासै काम थिएन।
मन्त्री हुँदा उनले वडा नम्बर १६ मा सक्दो बजेट विनियोजन गरेका थिए। एउटै वडामा ३० करोडको बजेट विनियोजन गरिएको भन्दै उनको आलोचन भयो। उनी बस्ने वडा नम्बर १६ कास्की क्षेत्र नम्बर २ ‘ख’को सबैभन्दा बढी मतदाता भएको वडा हो। १२ हजारभन्दा बढी मत भएको वडामा कुमारको प्रभाव हुनै नै भयो।
कांग्रेस स्रोतका अनुसार कुमारको निष्कृयतासँगै सो वडाका केही कांग्रेसीहरुले विन्दुकुमार थापाविरुद्ध अभियान चलाए। विन्दुको मनमा चिसो पस्यो। यो गुनासो नेता प्रकाशशरण महत र शेरबहादुर देउवासम्म पुर्याइयो। केही दिन अगाडि पोखरा आएका बेला प्रकाशशरणले कुमारलाई टेलिफोन गरे।
‘कुमार दाइले कांग्रेसलाई भोट हाल्छु तर प्रचारमा हिँड्न सक्दिन भन्नुभएछ’,कांग्रेस स्रोतले भन्यो, ‘त्यसपछि उहाँमाथि पार्टीले भरोसा गरेन, सभापतिज्यूलाई भनियो तर सभापति बाहिर भएकाले छिटो निर्णय गर्न सकिएन।’
उनका अनुसार नयाँशक्तिबाट चुनाव जितेका र टिकट नपाएपछि रुष्ट बनेका उर्जामन्त्री हरिशरण आचार्यसँगै उनलाई पनि बिदा गर्ने योजना बनेको थियो। अघिल्लो मंगलबार सभापति देउवाबाट ‘ग्रिन सिग्नल’नआउँदा त्यसो गरिएन।
यही बीचमा कुमारले विपक्षी एमालेकी उम्मेदवार मीना गुरुङ समूहसँग वार्तालाप गरेको र आफूसँग भएको करिब ३ सय भोटले सहयोग गर्ने वचन दिएको गुनासो पनि सभापति देउवाकहाँ पुग्यो।
अन्ततः देउवाले यहाँका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कुमारलाई मन्त्रीबाट हटाउन निर्देशन दिए। उनी हटाइए।
गण्डकीका मन्त्री खड्का बर्खास्त, गठबन्धनलाई असहयोग गरेको आरोप
मन्त्रीबाट ‘अपमानपूर्वक’ बिदाइ खेप्न अभिषप्त बने। मन्त्रीबाट हटाइए पनि उनलाई कांग्रेसले पार्टीबाट चाहिँ हटाएको छैन। यतिबेला कुमार मौन छन्। उनको टेलिफोन ‘अफ’ छ।
इञ्जिनियरिङ क्याम्पस लामाचौरबाट नेपाल विद्यार्थी संघको नेताको रुपमा उदाएका, २०७० साल जेठ ९ गते क्षेत्री बाहुनको जातीय नारा बोकेर अखण्ड नेपाल पार्टी दर्ता गराउँदै सांसद र मन्त्री बनेका कुमारले अब के गर्छन्? चासो छ, प्रष्ट छैन।
Shares
प्रतिक्रिया