पोखरालाई लाहुरे संस्कृति र सभ्यताबाट अलग राख्न सकिँदैन। पहिलो र दोस्रो विश्वयुद्धसँगै मौलाएको लाहुरे संस्कृति र औलो उन्मूलनपछि वपरपरका गाउँ अनि जिल्लाबाट लाहुरेहरु पोखरा झरे। लाहुरे हुनेमध्ये अधिकांश गुरुङ र मगर समुदायका थिए।
विभिन्न ठाउँबाट सहर झरेका लाहुरेहरुले पोखरा आउँदा पनि संस्कृति बिर्सेनन्। एकतावद्ध हुने निर्णय गरे।
तर, पञ्चायतको समय! जातीय संस्था खोल्न सजिलो थिएन। गुरुङ समुदायले चाहिँ २०४२ ला जेठ ५ गते पोखरामा लुकीछिपी तमु धिं नामक संस्थाको स्थापना गरे।
जातीय एकतासँगै संस्कृतिको संरक्षणको ध्येयसहित स्थापित तमु धिं कालान्तरमाा गुरुङ जातिहरुको साझा जातीय संस्था बन्यो। बहुदलको आगमनपछि संस्था झनै मौलायो। पोखराको नयाँबजारमा केन्द्रीय कार्यालयको स्थापना गरियो। भवन बनाउन समुदायका अगुवाहरुले दिल खोलेर सहयोग गरे।
र, तीमध्ये एक थिए–मेजर जयबहादुर गुरुङ। मेजर र उनकी धर्मपत्नी श्री रुपकुमारी गुरुङले २०६७ सालमा १७ लाख ५ हजार रुपैयाँ लगानीमा तमु धिंको मूल भवन निर्माण गरिदिए। मेजर अहिले यो संसारमा छैनन्।
तमु धिंका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार तमु धिंको मूल भवनलाई अहिले सांस्कृतिक र गुरुङ संग्रहालयमा रुपान्तरण गरिएको छ। भवनको अगाडि दानवीर जयबहादुरको शालिक निर्माण भएको छ।
हालै जयबहादुरकी धर्मपत्नी रुपकुमारीले शालिकको अनावरण गरिन्। करिब साढे ६ लाखमा निर्माण एवम् प्रतिस्थापित सालिक निर्माणमा समाजसेवी रुपकुमारी र तमु धिं नेपालको लगानी रहेको छ।
पतिको शालिक अनावरणसँगै रुपकुमारीले आर्थिक अभावमा स्वास्थ्योपचार समस्याले अकालमा कसैले जीवन गुमाउनु नपरुन् भन्दै १ करोड १५१ रुपैयाँको स्व. मेजर जय–रुपकुमारी–स्व. उदयचन्द्र गुरुङ स्वाथ्योपचार कोष स्थापना गरिदिइन्।
कोषको सञ्चालन तमु धिंले गर्नेछ। कोषले कुनै जाति, क्षेत्र, देश नभनी विपन्न, आर्थिक अभावले उपचार गर्न नपाएर जीवन नै जोखिममा परेकाहरुलाई अक्षय कोषको ब्याजबाट आउने रकमले उपचारमा सघाउने छ। सहयोगको लागि नियमावली बनाइएको अध्यक्ष हुमबहादुरले बताए।
Shares
प्रतिक्रिया