ad ad

गण्डकी


कागबेनी पुनर्निर्माण प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

कागबेनी पुनर्निर्माण प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

नेपालखबर
असोज १७, २०८० बुधबार १७:५३, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागबेनी क्षेत्रको पुनर्निर्माणका लागि प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन्।

‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुनःनिर्माण गर्नेछ,’ उनले भने।

बाढीले कागवेनी क्षेत्रमा ठूलो क्षति पुगेकाले संघीय सरकार र स्थानीय सरकारको सहकार्यमा पुनर्निर्माण सहज र छिटो हुने उनले बताए।

‘यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेको छ,’ क्षतिग्रस्त मुस्ताङको कागवेनी क्षेत्रको निरीक्षण गर्दै उनले भने, ‘प्राकृतिक विपत्तीसँग हामीले जुध्न सक्दैनौँ, तर यसबाट शिक्षा लिएर अबको पुनर्निर्माणमा ध्यान दिनुपर्छ।’  

कागवेनी क्षेत्रमा बाढीले भत्काएका सामाजिक तथा व्यक्तिगत संरचनाहरु, गुम्बा, धर्मशालालगायतको मुख्यमन्त्री पाण्डेले स्थलगत निरीक्षण गरेका थिए।  

बिगतका वर्षभन्दा यस वर्ष गण्डकी प्रदेश सरकारले मनाङ, मुस्ताङ लगायत उच्च हिमाली जिल्लामा योजना र बजेटलाई वृद्धि गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आवश्यकता धेरै, प्रदेशको स्रोत साधन थोरै हुँदा सबै अपेक्षा एकै पटक पूरा गर्न नसकिएको बताए।

‘प्राथमिकताका आधारमा तपाईंहरुले छुट्याएका योजना क्रमश: प्रदेश सरकारले पूरा गर्दै जानेछ,’ उनले भने।

पुनःनिर्माणका लागि प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको बताउँदै स्थलगत निरीक्षणमा मुख्यमन्त्री सहभागी भएको भन्दै विस्थापित, प्रभावित, जनप्रतिनिधिलगायत स्थानीयले धन्यवाद दिएका थिए।

साउन २८ गते बाढी आएलगत्तै हेलिकप्टरमा स्थलगत निरीक्षण गर्न आउने तयारी रद्द गरी मुख्यमन्त्री पाण्डेले हेलिकप्टर भाडामा तिर्ने पैसा कागवेनीको उद्धार र राहतमा पठाएको तत्कालीन समयमा सदनमा समेत जानकारी गराएका थिए।

बाढीलगत्तै कागवेनीको उद्धार र राहतका लागि गण्डकी प्रदेश सरकारले अवरुद्ध सडक खुलाएर इन्धन ढुवानी, टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराएको थियो। बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत, खानेपानीको व्यवस्थापनमा प्रदेश सरकारले तत्काल सहयोग गरेको थियो।

क्षतिको पूर्ण विवरण जिल्लाबाट प्रदेश आएपछि थप आर्थिक सहयोग पनि पठाइने मुख्यमन्त्री पाण्डेले बताए।

बस्तीको दायाँबायाँ तटबन्धन गरिदिन स्थानीयले माग गरेका छन्। प्रदेश सरकारले तटबन्धनका लागि पनि सहयोग गर्ने जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .