पोखरामा सेती नदीमा हामफालेको आशंका गरिएका एक किशोरको खोजी गर्न बिहीबार सेती नदीमा बढी पानी छाडिने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार मध्यान्न १२ बजेदेखि ४ बजेसम्म पोखरा १६ दीपमा रहेको ड्याम खोलेर बढी पानी सेतीमा पठाइने छ। सेतीमा बढी पानी पठाइने भएकाले खोला किनारमा काम गर्ने मजदुर तथा बासिन्दालाई सचेत रहन पनि प्रहरीको आग्रह रहेको छ।
प्रहरीका अनुसार, पोखराको मणिपाल अस्पतालमा उपचारको लागि आएका एक १९ वर्षीय किशोर अस्पतालबाटै हराएका थिए। उनको खोजतलासका लागि बिहीबार सेती नदीको चेकड्याम खोलिने भएको छ।
तनहुँ घर भइ पोखरा बस्दै आएका १९ वर्षीय संगम मिश्रलाई ज्वरो आएपछि मंसिर २५ गते मणिपाल अस्पताल ल्याइएको थियो। पिता औषधि किन्न गएका बेला संगम एकाएक अस्पतालबाट लापत्ता भएका थिए।
खोज्दै जाँदा फूलबारीबाट नदीपुरतिर आउने झोलुङ्गे पुलमा निजले लगाएको कपडा र परिचयपत्र फेला परेपछि उनी नदीमा हाम्फालेको आशंका गरिएको हो।
हराएका किशोर सेतीको खोंचमा अड्डिएको हुनसक्ने आशंकासहित ड्याम खोलेर खोजतलास गर्न आग्रह गरे अनुरुप सो निर्णय लिइएको प्रहरीको भनाइ छ।
Shares
प्रतिक्रिया