ad ad

गण्डकी


कांग्रेस गण्डकीको निष्कर्षः प्रधानमन्त्री २ चोटी, समानुपातिकमा १ पटक मात्र अवसर दिनुपर्ने

कांग्रेस गण्डकीको निष्कर्षः प्रधानमन्त्री २ चोटी, समानुपातिकमा १ पटक मात्र अवसर दिनुपर्ने

नेपालखबर
पुस ४, २०८० बुधबार २१:५७, पोखरा

नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो बैठकले पार्टीको तर्फबाट एउटै व्यक्तिलाई २ पटकभन्दा बढी प्रधानमन्त्री  र ४ पटकभन्दा बढी प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट नदिने व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला ‘मधु’ ले २ दिने सम्मेलनले सभापति शुक्रराज शर्माबाट प्रस्तुत अवधारणा सुझावसहित पारित गर्दै यो सुझाव केन्द्रीय समितिमा पठाउने निर्णय गरेको हो।

उनका अनुसार बैठकले समानुपातिकतर्फ एकपटकमात्र मनोनित हुने अवसर दिनुपर्ने तथा क्रियाशील सदस्यको मतदानमार्फत् स्थानीय तह र अन्य चुनावको उम्मेदवार छान्नुपर्ने निष्कर्ष पनि निकालेको छ।

मंगलबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाबाट उद्घाटन भएको प्रदेश सम्मेलनमा गण्डकी सभापति शर्माले अवधारणा पत्र प्रस्तुत गरेका थिए। उनको अवधारणा पत्रमा विधान र कार्यपद्धतिमा सुधार, जनअपेक्षाको संवोधन, नयाँ पुस्तालाई विशेष आह्वान, युवा लक्षित कार्यक्रम र नेतृत्वमा शुद्धीकरण शीर्षक समेटिएको थियो। सभापतिबाट प्रस्तुत अवधारणालाई बुधबार सुझावसहित पारित गरिएको पार्टीका अर्का नेता शिरोमणि बरालले जानकारी दिए।

बैठकले सवै तहको नेतृत्व कार्यकर्तामैत्री नभएको र  हैकमवादी प्रवृत्ति हावी भएको निष्कर्ष निकाल्दै नेतृत्वको कार्यशैली परिमार्जन हुनुपर्ने निर्णय गरेको उनले बताए।  

उनका अनुसार कांग्रेसको सदस्यता संसारका जुनसुकै कुनाबाट पनि विद्युतीय माध्यमबाट लिन सकिने व्यवस्था गर्न, जिल्ला, प्रदेश र सङ्घका पदाधिकारीको निर्वाचन क्रियाशील सदस्यबाट गरिनुपर्ने सुझावलाई पनि बैठकले पारित गरेको छ।

सभापति शुक्रराज शर्माबाट प्रस्तुत अवधारणापत्रमा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिन, प्रजातन्त्र प्राप्तिपछिका सबै प्रमुख भ्रष्टाचारका काण्डहरु र उच्च पदस्थहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्ने कार्यको नेतृत्व कांग्रेसले लिनुपर्ने प्रस्तावलाई पनि बैठकले पारित गरेको छ।

कांग्रेस नेतृत्व नै भ्रष्टाचार र कुशासनको मतियार बनेको निष्कर्ष निकाल्दै बैठकले सामान्य मानिस नेपाली कांग्रेसको नेतृत्वमा पुग्नै नसक्ने र इमान्दार मानिस टिक्नै नसक्ने दुखद अवस्था सिर्जना हुन पुगेको भन्दै त्यसमा सुधारको माग गरिएको छ।

‘पथप्रदर्शक बन्नु पर्ने नेतृत्व पथभ्रष्ट बन्न पुग्यो,’ अवधारणापत्रमा भनिएको छ।

बैठकले महामन्त्री किरणबाबु श्रेष्ठको सांगठनिक प्रतिवेदन, अर्का महासचिव विष्णुप्रसाद लामिछानेको राजनीतिक प्रतिवेदन र कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .