ad ad

गण्डकी


सहकारी सञ्चालकबाट एक करोड पाँच लाख घूस, कुश्माका प्रशासकीय अधिकृत पक्राउ

सहकारी सञ्चालकबाट एक करोड पाँच लाख घूस, कुश्माका प्रशासकीय अधिकृत पक्राउ

नेपालखबर
पुस ११, २०८० बुधबार १५:१८, पोखरा

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तारको क्रममा घूस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई बुधबार पर्वत सदरमुकाममा रहेको कुश्मा नगरपालिकाबाट पक्राउ गरेको हो। उनी हाल कुश्मा नगरपालिकाको प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए। उनले हाल संकटग्रस्त रहेको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा १ करोड ५ लाख  रुपैयाँ नगद घूस लिएको आरोप छ।  

मित्रमिलन सहकारीले रकम फिर्ता नगरेको भन्दै अध्यक्ष रमण पौडेलसहित ३२ जनाविरुद्ध १८ करोड २३ लाख ४४ हजार १७ रुपैयाँ बिगो दाबीसहितको प्रतिवेदन तयार पारेको छ।

सोही प्रतिवेदनले पराजुली दोषी भएको ठहर गरेको थियो। पराजुली दोषी पाइएपछि कास्की प्रहरीले उनलाई पक्राउ गर्न पर्वत प्रहरी गुहारेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पराजुलीलाई पोखरा ल्याइँदैछ।

मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलसहित ५ जना चाहिँ यसअघि नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन्। यो सहकारीमा ३ हजार ४४६ जना बचतकर्ता रहेका थिए।

कास्कीमा यतिबेला ५ वटा सहकारी संकटग्रस्त रहेको र त्यसका संचालकहरुविरुद्ध परेको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मित्रमिलनसहित गीतेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी, शिवशिखर बहुउद्धेश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, बलीदानी सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका हुन्।

कास्कीका यी ५ वटा सहकारीहरुले बचतकर्ताहरुको २ अर्ब, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ अपचलन गरेका छन्। ३ हजार ६०९ जना बचतकर्ताले कास्की प्रहरीमा उजुरी दिएका हुन्।

मित्रमिलनसहित बचतकर्ताले शिवशिखरका ११ जना, इमेजका १५ जना, सूर्यदर्शनका १९ जना र  बलिदानीका १५ जनाविरुद्ध उजुरी दिएका छन्।

तीमध्ये शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लीलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र सदस्य पुष्कर मल्ल पक्राउ परी कारागार चलान भएका छन् भने इमेजका अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखासमिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरु भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएकोमा २ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन् भने ४ जना धरौटीमा छुटेका छन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १९ जनालाई पक्राउ पुर्जी जारी भएकामा कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन्। उनी कारागारमा छन्।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा उक्त सहकारीका अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखासमिति सदस्य सचिना थापा पक्राउ परेकोमा ३ जना पुर्पक्षको लागि कारागार थुनामा गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .