जिल्ला समन्वय समिति (जिसस) कास्कीको वित्तीय सुशासन जोखिम मूल्यांकनमा कास्कीका पालिकाहरूले मध्यम अंक प्राप्त गरेका छन्।
जिससले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणमा आधारित रहेर बुधबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगरसहितका ५ पालिकाहरुले एक सय पूर्णाङ्कमा ७० अंक पनि प्राप्त गर्न सकेका छैनन्।
जिससको मूल्याङ्कन अनुसार यहाँको रुपा गाउँपालिकाले सर्वाधिक ६७ अंक प्राप्त गरेको छ। दोस्रो स्थानमा आएको माछापुच्छ्रे गाउँपालिकाले ६४.५,अन्नपूर्णले ६२, मादीले ६०.५ र पोखरा महानगरपालिकाले ६० अंक प्राप्त गरेका छन्।
जिसस कास्की प्रमुख लीलाधर पौडेलका अनुसार वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ लाई आधार बनाएर जोखिम मूल्याङ्कन गरेको थियो। निर्देशिका अनुसार योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन ,कार्यान्वयन क्षमता तथा व्यवस्थापन ,लेखाङ्कन तथा प्रतिवेदन ,अनुगमन,मूल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापनका कूल ११८ वटा सूचकमा टेकेर सो मूल्याङ्कन गरिएको थियो।
जिसस प्रमुख पौडेले पालिकाले प्राप्त अंकले वित्तीय सुशासनको जोखिम मध्यमस्तरको देखाएको बताउँदै अब्बल लक्ष्य प्राप्तिमा लाग्न पालिका प्रमुखहरुसँग आग्रह गरे।
सुशासन र समृद्धिको महत्वपूर्ण जग नै वित्तीय सुशासन भएको हुँदा हरेक पालिकाहरुको ध्यान बेरुजुरहित आर्थिक क्रियाकलाप हुनुपर्ने बताए।
शाखा अधिकृत झविश्वर रेग्मीले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको प्रभावकारी कार्यान्वयनमा ध्यान नपुग्दा यस्तो अवस्था आएको बताए।
Shares
प्रतिक्रिया