साविक अध्यक्ष कृष्ण अधिकारीलाई ८९ मतले पराजित गर्दै नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन्। चैत १६ गते शुक्रबार सुरु भएर सोमबार सकिएको निर्वाचनमा विष्टले २ सय ८८ मत ल्याए। अधिकारीले १ सय ९९ मत प्राप्त गरे।
निर्वाचनमा कुल ५ सय ६ मत खसेको थियो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्लासमेत रहेको लमजुङको नवौँ अधिवेशनको क्रममा केही पदमा सहमति जुटे पनि अध्यक्षसहित पदाधिकारीमा सहमति नजुट्दा अन्तिम समयमा निर्वाचनमा भएको थियो।
कास्कीमा आफू निकटका उम्मेदवार पराजित भएको पीडा नभुलेका उपमहासचिव गुरुङ गृहजिल्लामा जसरी भए पनि आफू निकट टिम ल्याउने अभियानमा थिए। उनको अभियानमा साविक अध्यक्ष कृष्ण अधिकारी तगारो बने।
संसदीय निर्वाचनताका एउटै व्यक्तिलाई पटक–पटक अवसर दिन नहुने भन्दै पृथ्वीसुब्बाको सट्टा अर्कै व्यक्तिलाई लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउनुपर्ने भन्दै अध्यक्ष केपी ओली गुहार्न पुगेका अधिकारीसँग त्यो बेलादेखि नै उपमहासचिव गुरुङ रुष्ट थिए।
यद्यपि, निर्वाचनको बेला भने अधिकारीले प्रदेशसभाको टिकट चाहिँ पाए। एमाले स्थायी समिति सदस्य खगराज अधिकारीकै जोडबलमा उनले टिकट पाएका थिए। चुनावको बेला पृथ्वीसुब्बासँग काँधमा काँध मिलाएर चुनावी अभियानमा पनि होमिए।
तर, पृथ्वीसुब्बान विजयी हुँदा कृष्ण प्रदेशसभा ‘ख’मा पराजित बन्न पुगे। ७५० मतले पछि पर्दै उनले प्रदेशसभा निर्वाचन नतिजा प्रतिस्पर्धी कांंग्रेसका भेषबहादुर थापालाई सुम्पे। पौडेलले १९ हजार ५६० मत प्राप्त गर्दा अधिकारी १८ हजार ८१० मत प्राप्त गरेका थिए।
अधिकारीका शुभेच्छुकहरुले पृथ्वीसुब्बाले ‘मनमनै मन नपराएकोले’ पराजय भोग्नुपरेको बताए पनि त्यो विषय त्यत्तिकै सामसुम भएको थियो। तर, नवौं अधिवेशनमा त्यही विषय बल्झन पुग्यो।
यता,गण्डकीको राजधानी कास्कीमा खगराज अधिकारी समूहले पृथ्वीसुब्बाले रुचाएका र आशिर्वाद दिएको समूहलाई पत्तासाफ गरिदिएपछि त्यो कटुता झन् मौलाउन पुग्यो।
जसले गर्दा ‘वर्तमानको वैचारिक गतिशिलता र भविष्यको उर्जावान आशा’ नारासहित मैदानमा उत्रिएका उनी आफ्नो जन्मथलोसमेत रहेको बेसीसहर नगर समितिका अध्यक्षसँग पराजित हुन पुगे।
निर्वाचनमा होमिँदा उपाध्यक्षमा पनि पृथ्वीसुब्बापक्षीय जीतबहादुर गुरुङ निर्वाचित भए। उपाध्यक्ष पदका अर्का प्रत्यासी साविकका सचिव सुभास पौडेललाई ५ मत अन्तरले पराजित गर्दै गुरुङले विजयी बनेका हुन्।
गुरुङले २४२ मत पाउँदा पौडेलले २३७ मत पाए। सचिव भने राजेन्द्र बोहरा भारी मतान्तरले निर्वाचित भएका छन्। उनले यसअघि सुन्दरबजार नगरपालिकाका मेयर रहेका जनकराज मिश्रलाई पराजित गरेका हुन्।
बोहोराले ३५८ मत पाउँदा र मिश्रले ११९ मत प्राप्त गरे। उपसचिवमा २२० मतान्तरका साथ विवश बुढाथोकी निर्वाचित बने। उनले ३४९ मत पाउँदा प्रत्यासी राजेन्द्र अधिकारीले १२९ मत मात्र पाए।
महिलातर्फको सहसचिवमा भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन्। गण्डकी प्रदेशमा एमाले उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीबीच अघोषित प्रतिस्पर्धा हुँदै आएको छ।
Shares
प्रतिक्रिया