गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले आज (चैत २५ गते) दाबी पेस गरेका छन्।
उनले माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
अधिकारीले संविधानकोधारा १६८ को २ अनुसारको सरकार गठनको दावी पेश गरेका हुन्। प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकारको दावी पेश गर्न दिएको समयसीमाभन्दा २ दिन अगाडि एमालेसहितको गठबन्धनले यो कदम चालेको हो। यहाँ एमालेका २२,माओवादी केन्द्रको सभामुखसहित ८,स्वतन्त्र मनाङेको मत जोड्दा टुपुक्क बहुमत अर्थात् ३१ पुग्छ। सभामुखको मत निर्णायक हुँदैन।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते दिउँसो ३ बजेभित्र सरकार गठनको दाबी पेस गर्न समय दिएका थिए।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।
कोशीको नजिर नजरअन्दाज गर्दै एमालेसहितकोग गठबन्धनले दावी पेश गरेपछि यहाँको राजनीति अझ पेचिलो बनेको छ। रमाइलो त के छ भने, यसअघि कांग्रेसलाई सघाउँदै मन्त्री बनेका मनाङेले कोल्टे फेरेका छन्।
Shares
प्रतिक्रिया