महासचिव पोखरेलले आफ्ना सम्भावित प्रतिद्वन्द्वी गुरुङको प्रभाव रोक्न गुट दरिलो बनाएका छन् भने उपमहासचिव गुरुङ चाहिँ ‘दास मनोवृत्ति’विरुद्ध जेहाद छेड्ने उद्घोष गरिरहेका छन्।
आलोचनात्मक चेतसहित आफ्नो कुरा प्रष्ट राख्ने नेता मानिन्छन्– एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ। कतिसम्म भने एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न पनि उनी पछि पर्दैनन्।
‘उहाँ (पृथ्वीसुब्बा गुरुङ) केन्द्रीय कमिटीमै अध्यक्ष कमरेड तपाईं हाम्रो नेता हो तर भगवान हैन, तपाईंबाट पनि कमजोरी भएको छ’ भन्ने हैसियत राख्ने नेता हो,’ एमालेका एक केन्द्रीय सदस्यले भने, ‘नत्र बाँकी नेताहरूले अध्यक्षको अगाडि चुइँक्क बोल्ने हिम्मत गर्दैनन्। केन्द्रीय समिति बैठकमा पनि त्यही हुन्छ।’
अध्यक्षको सार्वजनिक आलोचना गरे पनि संकटका बेला भने गुरुङले ओलीलाई नै सघाउँदै आएका छन्। जनकपुरमा सम्पन्न सातौं महाधिवेशनदेखि ओलीसँगै रहेका उनी सुवास नेम्वाङको निधनपछि एमालेभित्र जनजातिको प्रतिनिधित्व गर्ने एक मात्र उच्च तहका नेतासमेत हुन्।
गण्डकीका संस्थापक मुख्यमन्त्री भइसकेका गुरुङले अघिल्लो वर्ष सम्पन्न १०औं महाधिवेशनको उपक्रममा महासचिवमै दाबी पेस गरेका थिए। तर, अध्यक्ष ओलीको खल्तीबाट निस्केको सूचीमा उनलाई उपमहासचिव पद थमाइयो। ओलीको खल्तीमा भएको सूची बनाउन भने हालका महासचिव शंकर पाखरेलसहितका नेताहरूले काम गरेका थिए।
महासचिव पोखरेलसँग उपमहासचिव गुरुङको मन त्यति मिलेको पाइँदैन। बरु, गुरुङ उपाध्यक्ष विष्णु पौडेलसँग नजिक छन्। ओलीलाई चुनौती दिने हैसियत नभए पनि महासचिव पोखरेल र उपाध्यक्ष पौडेलका आ–आफ्नै गुट छन्। बेलाबेला दुई गुटबीचको प्रतिस्पर्धा सतहमै आउँछ। हाल भइरहेका प्रदेश अधिवेशनको क्रममा पनि गुटको लडाइँ स्पष्ट देखियो। गृह प्रदेश लुम्बिनी र कर्णालीमा पोखरेल गुटभन्दा इतर पक्षका नेता अध्यक्षमा चुनिएका छन्।
बागमतीमा बडो मुस्किलले आफूपक्षीय अध्यक्ष पाएका पोखरेलको ध्यान यतिबेला गण्डकीमा देखिएको छ। उनी गण्डकी प्रदेशमा आफूअनुकूलको नेतृत्व मात्र चाहँदैनन्, यही चुनावमार्फत् उपमहासचिव गुरुङमाथि हाबी हुन चाहन्छन्। त्यसका लागि उनी केही दिनदेखि पोखरामै बसेर रणनीतिक चाल चलिरहेका छन्।
उनको अभियान कार्यान्वयन तहमा भने स्थायी समिति सदस्य खगराज अधिकारीले नेतृत्व गरिरहेका छन्। गुरुङ र अधिकारीका गण्डकीमा आ–आफ्नै गुट छन्।
खासमा केही वर्षअघिसम्म अधिकारीको प्रभाव कास्कीमा मात्रै सीमित थियो। कास्कीका थुप्रै नेता उनकै कोपभाजनका कारण अवसरबाट वञ्चित भएको गुनासो गर्थे। जब गुरुङ मुख्यमन्त्री बनेर पोखरा बस्न थाले, त्यस असन्तुष्ट समूहले गुरुङलाई नेता मान्न थाल्यो। गुरुङले पनि कास्कीको राजनीतिमा हात हाले।
अधिकारीले रुचाएकालाई हराएर आफूनिकट मनबहादुर गुरुङलाई कास्की अध्यक्ष बनाउनेदेखि पोखरा नगर समितिसम्ममा भूमिका बढाए। त्यसले अधिकारीलाई झन् रुष्ट बनायो। शक्ति आर्जनमा लागेका उनले केन्द्रमा महासचिव पोखरेल खेमा रोजे र उनैमार्फत् गण्डकीमा शक्तिशाली बन्ने अभियान चलाए।
जारी गण्डकी प्रदेश अधिवेशनलाई अधिकारीले शक्ति आर्जनको महत्त्वपूर्ण अवसरको रुपमा लिएका छन्। उनले गुरुङलाई कमजोर बनाउन उनकै जिल्लाका नेता मायानाथ अधिकारीलाई अध्यक्षमा अगाडि सारेका छन् भने यसअघि गुरुङ खेमामा रहेका युवा नेता रश्मि आचार्य, केन्द्रीय सदस्य राजीव पहारी, गोविन्दबहादुर नेपालीसहितका नेतालाई पनि आफूनिकट बनाएका छन्।
रश्मिलाई गण्डकी सचिवको रुपमा अगाडि सारेसँगै उनले केन्द्रीय सचिव पद्मा अर्याल तथा अर्का वरिष्ठ नेता किरण गुरुङको पनि साथ खोजिरहेका छन्। यो तारतम्य मिलाउन महासचिव पोखरेल नै सक्रिय रहेको स्रोतले बतायो।
‘सबै कुरा शंकर कमरेडकै योजनामा अगाडि बढेको छ। यसपटक आफूपक्षीय नेतालाई गण्डकीको नेतृत्वमा ल्याउने गरी तयारी पनि गरिएको छ। हामीसँग अहिले ६० प्रतिशत प्रतिनिधि छन्। सचिव कमरेड र किरण कमरेडले ग्रिन सिग्नल दिँदा त्यो ८० प्रतिशतमा पुग्छ,’ खगराज अधिकारीनिकट एक नेताले जिकिर गरे।
अध्यक्षमा उम्मेदवारी दिँदै गरेका मायानाथ अधिकारी स्वयं पनि आफूलाई ६० प्रतिशत प्रतिनिधिको समर्थन रहेको बताउँछन्। गण्डकीको प्रथम अधिवेशनको लागि ११ जिल्लाबाट ९०७ प्रतिनिधि चुनिएका छन्। महासचिव पोखरेलले जिल्ला अध्यक्षसहित अन्य नेतालाई पनि आफ्नो प्रभावमा पार्ने प्रयास गरिरहेको पनि ती नेताले बताए।
उता, गुरुङ पक्ष भने आफ्नो पक्षका नेतालाई हराउनु भनेको पार्टीलाई भजनमण्डलीमा परिणत गर्नु हो भन्ने सन्देशसहित अभियान अगाडि बढाउँदै छ। पार्टी एकीकरण हुँदा माओवादीबाट आएका र एमालेमै थामिएका, आलोचनात्मक चेत भएका तथा युवाहरू गुरुङसँगै रहेको उनीनिकट नेताहरुको दाबी छ।
‘नेतृत्वको कमजोरीको ढाकछोप गर्ने अवसरवादीहरुले पार्टीलाई उँभो लगाउँदैनन्, पृथ्वीसुब्बाको मानमर्दन गरियो भने एमाले झन् दासहरूको पार्टी बन्छ, त्यसैले पार्टीलाई माया गर्ने ठूलो पंक्ति हामीसँग छ,’ ती नेताले भने, ‘मिसन ८४ भन्ने तर भजनमण्डलीहरूको पोल्टामा नेतृत्व सुम्पने हो भने स्थिति के आउला? कार्यकर्ता चिन्तित छन्। यसपटक महासचिव कमरेडलाई पनि हाम्रो शक्ति देखाइदिने हो।’
जे होस्, प्रतिस्पर्धा निश्चित भएको छ। नेताहरू होटलका कोठमा बसेर जोडघटाउ गर्न व्यस्त छन्। सत्य के हो भने, अहिले गुरुङलाई हिजोका सहयोगीले छाडेका छन्। अधिकारी समूहमा नेताहरू थपिएका छन्। जसले गर्दा नतिजाको लागि चुनाव नै पर्खनुपर्ने भएको छ।
Shares
प्रतिक्रिया