गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओले वितरण गर्ने छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको छ।
जापानमा रहेका नेपाली विद्यार्थीले छात्रावृत्तिका लागि आवेदन दिन सक्नेछन्। आवेदनबाट ६० जना विद्यार्थी छनौट गरी छात्रवृत्ति प्रदान गरिने गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिए।
उक्त छात्रवृत्तिको आवेदन जनवरी २७ सम्ममा आईएचएनओको ठेगानामा पोष्ट गरिसक्नुपर्ने बताइएको छ। मापदण्ड अनुसार आवेदन प्रक्रिया पुरा भइ सकेपछि समितिले सिफारिस गर्ने र त्यसपछि आईएचएनओबाट छनौट गरी छात्रवृत्ति उपलब्ध गराइने पौडेल बताउँछन्।
‘एनआरएनए जापानले सिफारिस गर्छ, छनौटको अन्तिम निर्णय आइएचएनओले गर्ने हो’ पौडेलले भने, ‘डिपेन्डेन भिसामा रहेर नियमित विद्यालय जाने विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।’
छात्रवृत्तिका लागि अध्ययन गर्दै गरेको विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने, फारम आईएचएनओबाट उपलब्ध हुने, विद्यालय/कलेज परिवर्तन गर्न नयाँ विद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने छ।
कामको हकमा हप्तामा २८ घण्टाको नियम पालना गर्नुपर्ने साथै बिदाको बेलामा हप्तामा ४० घण्टासम्म काम गर्न मिल्ने छ। तर प्रत्येक दिन ८ घण्टा भन्दा धेरै काम गर्न नपाउने लगायतका मापदण्ड रहेका छन्। छात्रावृत्ति पाएको हकमा प्रत्येक महिना आईएचएनओको नियम अनुसार कामको विवरण तथा आफ्नो कामको जानकारी इमेल मार्फत पठाउनु पर्ने छ।
आवेदन दिन रेसिडेन्ट कार्डको फोटोकपि, आवेदन फारम (विद्यालयले सिफारिस गर्ने फारम सहित २ पेज), बैंक खाता नम्बर र खातावालको प्रष्ट नाम भएको पासबुक फोटोकपी, जापानी भाषामा नेपालको भविष्य अथवा नेपाली विद्यार्थी जापान आउनुको उद्देश्य शिर्षकको चार सयदेखि आठ सय शब्दसम्मको हस्त लिखित निबन्ध र जापानमा प्राप्त आफ्ना सर्टिफिकेट पेश गर्नु पर्ने नियम रहेको छ।
Shares
प्रतिक्रिया