युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध बमबारीपछि फुटेको छ।
रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध भत्किएपछि ८० हजार मानिस विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। बाँकी १६ हजार मानिस अझै त्यहीँ फसेका छन्।
धेरै गाउँहरूमा बाँध फुटेपछि बाढी पसेको छ, गाउँहरू पानीमा डुबेका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
युक्रेनी अधिकारीहरूले रुसले बाँध भत्काएको आरोप लगाएका छन्, तर रुसले भने यस घटनामा युक्रेन स्वयं जिम्मेवार भएको जवाफ दिएको छ।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हमलाको दोष रुसलाई दिँदै यो आक्रमण युद्ध अपराध जत्तिकै गम्भीर भएको बताएका छन्।
काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट युक्रेनको खेरसन प्रान्तको नोभा काखोभका शहरमा अवस्थित छ, जुन हाल रुसी कब्जामा छ। यो सोभियत अवधिमा निर्माण गरिएको थियो र नीपर नदीमा बनेका छवटा बाँधहरू मध्ये एक हो।
यो यति ठूलो बाँध हो कि यो युक्रेनको उत्तरी भागबाट दक्षिणी क्षेत्रमा फैलिएको छ। ३.२ किलोमिटर लामो यस बाँधको अग्लाई ३० मिटर रहेको छ। बाँध भत्किएपछि विभिन्न गाउँमा बाढी गएको छ भने यसले ठूलो विनाश हुने अनुमान गरिएको छ। बाँधको ठूलो हिस्सा भाँचिएर खेरसोनको ठूलो क्षेत्र डुबानमा परेको छ।
खेरसनका अधिकारीहरूले मानिसहरूलाई तल्लो क्षेत्र छोडेर तुरुन्तै उच्च क्षेत्रमा जान चेतावनी दिएका छन्।
रुसले बम हानेर बाँध भत्काएको आरोप स्विकार नगरे पनि धेरै विज्ञहरू युक्रेनको दाबी उपयुक्त ठान्छन्। किनभने उक्त बाँध माथिको बाटो भएर युक्रेनी सेना आफूले कब्जा गरेको क्षेत्रमा पुग्न सक्ने डर रुसलाई थियो।
तर रुसको दाबी भने उक्त क्षेत्रमा युक्रेनले नै बम हानेको छ। यद्यपि, बम कसले हान्यो भन्ने अझै खुलेको छैन।
निप्रो नदीको बाँधबाट ठूलो मात्रामा पानी आपूर्ति हुने भएकाले धेरै महत्वपूर्ण मानिन्छ।
यो बाँध धेरै अर्थमा धेरै महत्त्वपूर्ण छ।बाँधबाट ठूलो जनसंख्यालाई पानी आपूर्ति गरिन्छ। बाँधबाट रुसको कब्जामा रहेको युक्रेनी सहर क्रिमिया क्षेत्रमा पानी आपूर्ति हुन्थ्यो। अब बाँधमा समस्या आएपछि त्यहाँ ठूलो जनसंख्याले पानीको समस्या भोग्नुपर्ने हुनसक्छ।
यसअघि पनि रुसले युक्रेनका धेरै बाँधमा आक्रमण गरेको थियो। जसले धेरै क्षेत्र डुबानमा परेका थिए भने विद्युत् आपूर्ति पनि अवरुद्ध भएको थियो।
Shares
प्रतिक्रिया