मणिपुरमा आदिवासी महिलालाई नाङ्गै पारेर गाउँ घुमाइएको तथा सार्वजनिक स्थानमा सामूहिक बलात्कार गरिएको भिडिओ सार्वजनिक भएपछि भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन जारी छ।
मणिपुरमा ३ जना महिलालाई निर्वस्त्र पारेको र एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ४ अभियुक्तलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको छ।
अर्कातर्फ लोकसभा र राज्यसभामा विपक्षी सांसदहरूले मणिपुर मुद्दाका विषयमा हंगामा मच्चाएका छन्। जसका कारण दुवै सदनका बैठक जुलाई २४ सम्मका लागि स्थगन गरिएको छ।
२१ वर्षीया सामूहिक बलात्कार पीडितले दैनिक भास्करसँग भनेकी छन्, ‘हामी प्रहरीको गाडीमा थियौँ। उनीहरू (प्रहरी) ले हामीलाई बचाउँछन् भन्ने लागेको थियो। मैटेई केटाहरूको भीडले हामी चढेको गाडीलाई घेरे। अनि हामीलाई बाहिर निकालेर शरीरका विभिन्न भागमा छुन थाले। ती केटाहरूले भने– बाँच्न चाहन्छौ भने लुगा फुकाल। हामीले सहयोगका लागि प्रहरीतर्फ हेर्यौँ, तर उनीहरूले मुख अर्कातिर फर्काए। त्यसपछि हामीले आफ्नो ज्यान जोगाउन लुगा फुकाल्यौँ।’
भारतको मणिपुरमा कुकी र मेइटेई समुदायबीच गत मे ३ देखि युद्ध भइरहेको हो। मणिपुर हिंसामा हालसम्म १४२ जनाको मृत्यु भइसकेको छ। झन्डै ६० हजार मानिस घरबारविहीन भएका छन्। दैनिक भास्करबाट
Shares
प्रतिक्रिया