ad ad

ग्लोबल


मलेसियामा विमान सडकमा ठोक्किँदा बाहिरका २ समेत १० जनाको मृत्यु

मलेसियामा विमान सडकमा ठोक्किँदा बाहिरका २ समेत १० जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
साउन ३२, २०८० बिहिबार १९:१९, क्वालालम्पुर

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन्। 

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, ‘दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक/एक जना गरी १० जनाको मृत्यु भएको छ।’

मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ। 

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै विमानमा ६ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ। 

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो। 

हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान सुरु गर्ने उनले बताए। 

मलेसियाली वायु सेनाका पूर्वसदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, ‘विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो’, उनले पत्रकारहरूसँग भने।

उनले थपे, ‘म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ। मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखेँ। तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ।’

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगरनजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो। विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ। 

एक्स (ट्विटर) का एक प्रयोगकर्तामार्फत दुर्घटनास्थलबाट आगो र कालो धुवाँ निस्केको छोटो भिडियो सार्वजनिक भएको छ। 

भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .