१ डिसेम्बर २०१८ मा ह्वावेकी चिफ फाइनान्सियल अफिसर मेङ वान्चाउ क्यानडाको भ्यानकुभर विमानस्थलमा पक्राउ परिन्। वित्तीय ठगीको आरोपमा अमेरिकी अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनी क्यानडामा पक्राउ परेकी थिइन्।
उनी ह्वावेका संस्थापक मेङ चेङफेइकी जेठी छोरी हुन्।
नौ दिनपछि डिसेम्बर १० मा चीनले क्यानडाका दुई नागरिक माइकल कोवरिग र माइकल स्पाभोरलाई जासुसीको आरोपमा समात्यो।
जमानतपछि मेङलाई नजरबन्दमा राखियो र उनको सुपुर्दगीसम्बन्धी मुद्दा चल्न थाल्यो।
उता चीनले दुईमध्ये एक क्यानडेली स्पाभोरलाई ११ वर्षको सजाय समेत सुनायो।
झण्डै तीनवर्षको कूटनीतिक तनाव, अदालती प्रक्रिया र राजनीतिक आरोपप्रत्यारोपबीच अमेरिकाले मेङलाई छाड्यो। उनी घर फर्किइन्। सँगै दुई क्यानडेली पनि घर फर्किए।
यस प्रकरणमा अमेरिका र चीन दुई झगडिया थिए। क्यानडाले त कानुनी बाध्यताका कारण मात्र मेङलाई पक्राउ गरेको थियो। तर, यसको सबैभन्दा ठूलो मूल्य भने क्यानडाले चुकायो। विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग उसको सम्बन्ध नराम्ररी बिग्रियो। मेङका बारेमा अभिव्यक्ति दिएका चीनका लागि क्यानडेली राजदूतले राजीनामा दिनुपर्ने अवस्था आयो।
यस प्रकरणलगत्तै दुई देशबीचको व्यापार, लगानी र जनस्तरको सम्बन्ध समेत घट्न पुग्यो।
क्यानडा र चीनबीचको तिक्तता कुन हदसम्म पुगेको रहेछ भन्ने कुरा गत वर्ष इन्डोनेसियाको बालीमा भएको जी२० सम्मेलनमा देखियो। सो सम्मेलनमा आफूहरुबीच भएको गोप्य कुराकानीको सूचना प्रेसमा चुहाएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई हप्काएका थिए।
दुई मुलुकबीचको तिक्तता शीर्ष नेताहरुको आपसी सम्बन्धमै अभिव्यक्त हुन पुगेको थियो।
क्यानडाले यी सारा दुःख अमेरिकाका लागि बेसाएको थियो। अमेरिकामा फैलिँदो चीनविराधी आम धारणा र ह्वावेलाई तह लगाउने अमेरिकी इच्छाको प्रत्युत्पादन दियो यो प्रकरण।
तर, गत साता न्युयोर्कमा पत्रकारहरुबाट प्रश्नको सामना गरिरहँदा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको अनुहारबाट उनको चिरपरिचत मुस्कान गायब थियो।
लगभग सबै प्रश्नहरु भारतसँग सम्बन्धित थिए। गतसाता ट्रुडोले क्यानडेली भूमिमा क्यानडेली नागरिकको हत्यामा भारतको संलग्नताको विश्वसनीय प्रमाण भेटिएको बताएका थिए।
भारतले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
विस्तारै होसियारीपूर्वक बोल्दै ट्रुडोले भने, ‘हामी भारतलाई उक्साउन वा समस्या खडा गर्न खोजिरहेका छैनौँ। हामी नियममा आधारित व्यवस्थाको पक्षमा खडा भएका हुन्।
थुप्रै पत्रकारले उनलाई सहयोगी मुलुकहरु कहाँ छन् भनेर सोधे। एक पत्रकारले भने, ‘अहिलेसम्म हेर्दा तपाईं एक्लो देखिनुहुन्छ।’
सार्वजनिक रुपमा हेर्दा क्यानडाभन्दा ३५ गुणा बढी जनसंख्या भएको र सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको भारतसँग जोरी खोजिरहेका ट्रुडो एक्लै नै देखिन्छन्।
ट्रुडोले भारतमाथि आरोप लगाएयता कसैले पनि उनको पूर्ण समर्थन गरेका छैनन्। फाइभ आइज मुलुकका सहयोगीहरुले समेत।
बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले ‘क्यानडाले भनेको कुरालाई गम्भीरतापूर्वक लिएको’ बताए। त्यस्तै भाषा प्रयोग गर्दै अस्ट्रेलियाले पनि चिन्तित भएको जनाएको छ।
तर, सबैभन्दा गहिरो मौनता क्यानडाको दक्षिणी छिमेकी अमेरिकाले साँधेको छ। यी दुई मुलुक अतिनिकट मानिन्छन्। तैपनि अमेरिका क्यानडाको पक्षमा बोलेन।
गतसाता राष्ट्रपति जो बाइडेनले सार्वजनिक रुपमा भारतको नाम लिए। राष्ट्रसंघको महासभामा। तर, भारतको भर्त्सना होइन, प्रशंसा गर्नका लागि–नयाँ आर्थिक करिडोर स्थापना गरेकोमा।
अमेरिका र क्यानडाबीच दरार उत्पन्न भएको भनाइको बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले खण्डन गरे। तर, अमेरिकी अधिकारीहरुको सार्वजनिक अभिव्यक्ति क्यानडालाई साथ दिने खालको छैन।
क्यानडालाई आफ्नै निकट सहयोगीहरुले परेको बेला किन सहयोग गरिरहेका छैनन् त?
भारतको रणनीतिक महत्वका तुलनामा क्यानडाको स्वार्थ अहिले अति नै सानो बन्न पुगेको विश्लेषकहरु बताउँछन्।
‘अमेरिका, बेलायत र इन्डोप्यासिफिक मुुलुकहरुले एउटा रणनीति बनाएका छन्, जसले मुख्यगरी भारतमाथि ध्यान केन्द्रित गरेको छ, भारतलाई चीनविरुद्धको किल्ला र प्रतिभारका रुपमा लिएको छ। यसलाई उनीहरु खेर फाल्न सक्दैनन्,’ विल्सन सेन्टरको क्यानडा इन्स्टिच्युटका अध्येता जेभियर देल्गाडो भन्छन्, ‘भूराजनीतिक यथार्थका कारण उनीहरु क्यानडाको बचाउमा आउन सकेनन्।’
त्यसमाथि क्यानडा आफैँमा विश्वशक्ति पनि होइन।
‘यो कमजोरीको क्षण हो,’ क्यानडा इन्स्टिच्युटका निर्देशक क्रिस्टोफर स्यान्ड्सको भनाइ बीबीसीले उधृत गरेको छ, ‘हाल हामी ‘हार्ड पावर’ को समयमा छौँ। यो क्यानडाको सबल क्षेत्र होइन। अहिले निर्णायक चिज भनेको शक्ति र पैसा हो, जुन क्यानडासँग छैन।’
ट्रुडोले एक्लो महसुस गरिरहँदा भारतले भने दाउ बढाउँदै लगेको छ। उसले अझ उच्च पदस्थलाई देशनिकाला गरेको छ, ट्राभल एड्भाइजरी जारी गरेको छ र सबैभन्दा नाटकीय कुरा भारत भ्रमणमा जान चाहने क्यानडेलीहरुका लागि भारतले भिसा सेवा समेत रद्द गरेको छ।
अनेक आन्तरिक विवादसँग रुमल्लिरहेका ट्रुडो अर्को विवादमा फसेका छन्। शनिबार उनी युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की क्यानडाको संसदमा पुगे। त्यहाँ ग्यालरीमा उभिएका थिए ९८ वर्षीय यारोस्लाव हुंका।
उनले दोस्रो विश्वयुद्धमा रुसविरुद्ध लडेको भन्दै सभामुख एन्टोनी रोटले प्रशंसा गरे। सबै सांसदले उठेर तालीको गडगडाहटमाझ हुंकाको बढाइँ गरे।
तर, वास्तवमा नाजी सैनिक समूहका सदस्य थिए हुंका, जो हिटलरको पक्ष लिएर रुसविरुद्ध लड्न पुगेका थिए। पछि उनी क्यानडा बसाइँ सरेका थिए। यसको व्यापक विरोध भएपछि रोटाले माफी मागेका छन्।
विपक्षी दलले भने यसमा ट्रुडो पनि जिम्मेवार रहेको भन्दै उनले माफी माग्नुपर्ने बताएको छ।
Shares
प्रतिक्रिया