ad ad

ग्लोबल


गान्धीले किन पाएनन् नोबेल पुरस्कार?

गान्धीले किन पाएनन् नोबेल पुरस्कार?

नेपालखबर
असोज १५, २०८० सोमबार १६:३,

आज पनि महात्मा गान्धीलाई अहिंसाको सबैभन्दा बलियो प्रतीकका रुपमा चिनिन्छ। २० औँ शताब्दीमा त झन् उनको ज्यादा प्रशंसा हुन्थ्यो। तर, उनले जीवनमा कहिल्यै नोबेल पुरस्कार जितेनन्। अनेक पटक मनोनयनमा परे पनि। किन त?

उनले सो पुस्कार नपाएकैले यी प्रश्नहरु बारम्बार सोध्ने गरिन्छ– के नर्वेजियन नोबेल कमिटीको सोचको दायरा साँघुरो थियो? के सो कमिटीका सदस्यहरु गैरयुरोपेलीहरुको स्वतन्त्रताको संघर्षलाई सराहना गर्दैनथे? अथवा, अथवा गान्धीलाई त्यस्तो पुरस्कार दिँदा बेलायतसँग नर्वेको सम्बन्ध बिग्रिने डर ती सदस्यहरुलाई थियो?

गान्धी १९३७, १९३८, १९३९, १९४७ र हत्या हुनुभन्दा केही दिनअघि १९४८ मा पनि मनोनित भएका थिए। पछि नोबेल कमिटीका सदस्यहरुले गान्धीलाई यो पुरस्कार नदिइएकोमा पछुतो पनि प्रकट गरे। १९८९ मा दलाई लामालाई नोबेल शान्ति पुरस्कार दिइँदै गर्दा कमिटीले भनेको थियो, ‘यो केही हदसम्म महात्मा गान्धीको स्मृतिको सम्मान हो।’ 

तर, उनलाई पुरस्कार किन दिइएन भन्नेबारे लामो समयसम्म केही बताइएन। उसोभए किन दिइएन त गान्धीलाई नोबेल शान्ति पुरस्कार?

१९६० सम्म नोबेल शान्ति पुरस्कार या त युरोपेलीहरुलाई दिइन्थ्यो, या अमेरिकीहरुलाई। पछि फर्केर हेर्दा नोबेल कमिटीको सोच साँघुरो देखिन्छ। त्यसअघि नोबेल शान्ति पुरस्कार जितेकाहरुभन्दा गान्धी एकदम अलग थिए। उनी वास्तविक राजनीतिकर्मी वा अन्तर्राष्ट्रिय कानुनका समर्थक थिएनन्। न त मानवीय राहत कार्यकर्ता वा अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका आयोजक नै थिए। उनी नयाँ खालका विजेताअन्तर्गत पर्थे।

गान्धीलाई पुरस्कृत गर्दा बेलायतले नकारात्मक प्रतिक्रिया जनाउन सक्ने सम्भावनाबारे कुनै छलफल, विचार गरिएको संकेत नोबेल कमिटीको अभिलेखमा भेटिँदैन। त्यसैले बेलायत रिसाउला भन्ने त्रासले पुरस्कार नदिइएको होला भन्ने तर्क खारेज गर्न सकिन्छ।

१९४७ मा गान्धीलाई पुरस्कृत गर्ने विषयमा नोबेल कमिटीमा चर्चा भएको थियो। कमिटीका अध्यक्ष गुनर जानको डायरीका विवरण अनुसार सो वर्षको अक्टोबर ३० मा कमिटीले निर्णय गर्नुपर्ने थियो। कमिटीका दुई सदस्यहरु हर्मन स्मिट र क्रिस्टियन अफ्टडाल गान्धीलाई पुरस्कार दिनुपर्ने पक्षमा बोलेका थिए। तर, अन्य तीन सदस्यलाई उनीहरुले मनाउन सकेनन्। अर्का सदस्य मार्टिन ट्रानमेलको राय भारत–पाकिस्तान द्वन्द्व चलिरहँदा गान्धीलाई पुरस्कृत गर्न हुँदैन भन्ने थियो। विदेशमन्त्री बर्गर ब्राडल्यान्ड ट्रानमेलसँग सहमत थिए।

त्यसको एक महिनाअघि एक भेलामा गान्धीले युद्धविरोधी अडान परिवर्तन गरेको संकेत पाइनेखालको एक भाषण गरेका थिए। रोयटर्सको टेलिग्राममा आधारित भएर २७ सेप्टेम्बर १९४७ मा द टाइम्सले ‘मिस्टर गान्धी अन ‘वार’ विद पाकिस्तान’ शीर्षकमा समाचार छापेको थियो–

‘गान्धीले आज राति प्रार्थना सभामा आफूले सबैखाले युद्धको विरोध गरेको भए पनि यदि पाकिस्तानबाट न्याय प्राप्त गर्ने कुनै उपाय भएन भने र यदि पाकिस्तान लगातार आफ्नो त्रुटि हेर्न इन्कार गर्छ भने भारतको केन्द्र सरकार उविरुद्ध युद्धमा जानुपर्छ भने। युद्ध कसैले नचाहे पनि आफूले कसैलाई अन्याय सहन सल्लाह दिन नसक्ने उनको भनाइ थियो। कुनै न्यायोचित कारणले सबै हिन्दूको विनाश गरे उनलाई आपत्ति हुने छैन। युद्ध भए पाकिस्तानका हिन्दूहरु गद्दार बन्न सक्दैनन्। यदि उनीहरु पाकिस्तानप्रति वफादार बन्न सक्दैनन् भने उनीहरुले देश छाड्नुपर्छ। त्यसैगरी पाकिस्तानप्रति वफादारी भएका मुसलमानहरु भारतमा बस्नु हुँदैन।’

उनको यो भाषणले उनले आफ्नो शान्तिवाद त्यागेको हो कि भन्ने प्रश्न मानिसहरुमा जन्मियो। नोबेल कमिटीका बहुमत सदस्यले उनलाई नछान्नुको प्रमुख कारण यही हुनसक्छ। 

१९४७ मा नोबेल शान्ति पुरस्कार क्वेकर्स नामक दुई राहत संस्थाको प्रतिनिधित्व गर्ने संस्थालाई प्रदान गरियो।

आफ्नो जीवनको अन्त्यतिर विभाजनपछि सुरु भएको हिन्दू र मुस्लिमबीचको हिंसा अन्त्य गर्न गान्धीले निकै मेहनत गरे। उनको मृत्युपछि १९४८ मा उनलाई पुरस्कृत गर्ने चर्चा पनि भएको थियो। तर, त्यसो भएन। १९४८ मा कसैलाई पुरस्कृत गरिएन। 

(नोबेल कमिटीले १९९९ मा लेखेको आलेखमा आधारित) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .