इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्यांक क्षेत्रमा रहेको जेनिन क्याम्पमा ड्रोनबाट आक्रमण गरेको छ।
जेनिन क्याम्पमा प्यालेस्टिनी र इजरायली सेनाबीच भएको झडपपछि यो हमला गरिएको बीबीसीले जनाएको छ।
इजरायलको सेनाले सामाजिक सञ्जालमार्फत ड्रोन आक्रमणको जानकारी दिएको हो।
इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले सशस्त्र ‘आतंकवादी’सँग भिडन्तका क्रममा दुई जनालाई पक्राउ पनि गरिएको जनाएको छ।
यो हिंसात्मक झडप इजरायलको जेनिन क्याम्पनजिकै सशस्त्र गस्तीका क्रममा भएको हो।
प्यालेस्टिनी लडाकुले इजरायली सैनिकलाई गोली र बम प्रहार गरेपछि झडप सुरु भएको इजरायलको दाबी छ।
आईडीएफले विज्ञप्तिमार्फत ड्रोन आक्रमण ‘निर्धारित लक्ष्य’ मा गरिएको बताएको छ।
रिपोर्टअनुसार झडपमा कुनै पनि इजरायली सैनिक घाइते भएका छैनन्।
आइतबार इजरायलले जेनिन क्याम्पमा रहेको मस्जिदमा हवाई आक्रमण गरेको थियो। उक्त मस्जिदलाई ‘आतंकवादी गतिविधि’का लागि प्रयोग गर्ने गरिएको उसको दाबी छ।
Shares
प्रतिक्रिया