ad ad

ग्लोबल


नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा इरानको ‘अत्याचारी शासन’ को निन्दा

नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा इरानको ‘अत्याचारी शासन’ को निन्दा

नेपालखबर
मंसिर २४, २०८० आइतबार २२:२२, काठमाडौँ

कारागारमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले आफ्ना छोराछोरीमार्फत दिनुभएको भाषणमा इरानमा ‘अत्याचारी तथा महिलाविरोधी धार्मिक’ सरकारको निन्दा गरेकी छिन्। 

मोहम्मदीको अनुपस्थितिमा आइतबार उनका छोराछोरीले नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन्।

इरानमा हिजाब लगाउनुपर्ने अनिवार्यता र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाएकी मोहम्मदी सन् २०२१ देखि तेहरानको इभिन कारागारमा बन्दी हुन्।

यसको सट्टा सन् २०१५ देखि फ्रान्समा निर्वासनमा बस्दै आएका उनका १७ वर्षीय जम्ल्याहा छोराछोरी अली र कियानाले जेलको कोठीबाट बाहिर निकाल्न सफल भएको भाषण पढ्दै उनका तर्फबाट पुरस्कार ग्रहण गरिन्।

‘म एक मध्यपूर्वी महिला हूँ र म यस्तो क्षेत्रबाट आएकी छु जुन आफ्नो समृद्ध सभ्यताका बाबजुद अहिले युद्ध, आतङ्कवादको आगो र अतिवादको बीचमा फसेको छ’, ‘जेलको अग्लो, चिसो पर्खालपछाडि’ लेखिएको एउटा सन्देशमा उनले भनिन्, ‘इरानी जनताले दृढताका साथ अवरोध र निरङ्कुशतालाई समाप्त पार्नेछन्, कुनै सन्देह छैन– यो निश्चित छ।’

मोहम्मदीलाई हालैका दशकहरूमा धेरै पटक गिरफ्तार गरियो र दोषी ठहर गरियो। उनका जम्ल्याहा छोराछोरीले करिब नौ वर्षदेखि आफ्नी आमालाई देख्न पाएका छैनन्। ‘म व्यक्तिगतरूमा अत्यन्त निराशावादी हुँ’, कियाना मोहम्मदीले भनिन्। यद्यपि भाइ अलिले उनी अत्यन्त आशावादी भएको बताए।

‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलनले सबै महिलालाई टाउकोमा स्कार्फ लगाउने प्रचलनको अन्त्य र तेहरानमा मुस्लिम धर्मगुरुको नेतृत्वको सरकारको समाप्तिको माग गर्दछ।

‘म एक इरानी महिला हूँ, सभ्यताका लागि गर्व र सम्मानजनक योगदानकर्ता हूँ, हाल यो निरङ्कुश धार्मिक सरकारको दमनको अधीनमा छ’, मोहम्मदीले भनिन्। 

पुरस्कार वितरण समारोहमा प्रतीकात्मकरूपमा एउटा कुर्सी खाली राखिएको छ जसमा मोहम्मदीको चित्र राखिएको थियो। 

मोहम्मदी ‘महिला, जीवन, स्वतन्त्रता’ विद्रोहको नेतृत्व गर्ने महिलामध्येकी एक छिन्। उक्त विद्रोहमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि पूरै इरानमा महिनौँसम्म विरोध प्रदर्शन भएको थियो।

इरानी कुर्द महिला अमिनीको सन् २०२२ सेप्टेम्बर १६ मा इरानको धार्मिक प्रहरीले महिलाहरूका लागि मुलुकको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा हिरासतमा लिएपछि मृत्यु भएको थियो।

नर्वेली शाही परिवार र विदेशी पाहुनाहरूसमक्ष पढिएको भाषणमा मोहम्मदीले भनिन्, ‘सरकारले अनिवार्य गरेको हिजाब कुनै धार्मिक दायित्व वा सांस्कृतिक परम्परा होइन, बरु पूरै समाजमा अधिकार र अधीनता कायम गर्ने माध्यम हो।’

उनले सरकारी दमन, स्वतन्त्र न्यायिक प्रणालीको कमी, प्रचार र सेन्सरसीप तथा भ्रष्टाचारको निन्दा गर्दै इरानले स्वयंलाई आफ्ना जनताबाट मौलिकरूपमा अलग गरिरहेको बताइन्। उनको परिवारका अनुसार मोहम्मदीले अहिले बहाई समुदायसँग ऐक्यबद्धता जनाउँदै भोक हड्ताल गरिरहेकी छिन्। 

नोबेल पुरस्कारको एक सय २० वर्षभन्दा लामो इतिहासमा हिरासतमा रहँदा यो पुरस्कार पाउने मोहम्मदी पाँचौँ व्यक्ति हुन्। उनीअघि जर्मनीका कार्ल भोन ओसिएट्स्की, म्यान्माकी आङ सान सुकी, चीनका लिउ जियाओबो र बेलारुसका एलेस बोलियात्स्कीले हिरासतमै रहँदा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .