भारतीय तल्लो सदन लोकसभामा केही दिनयता तनाव जारी छ। साताअघि संसद्मा भएको अवैधानिक प्रवेश र ग्यास विस्फोटपछि तनाव बढ्दै गएको हो।
त्यही तनाव बढ्दै जाँदा दुई दिनमै लोकसभाबाट १२७ जना सांसद निलम्बित भएका छन्। मंगलबार मात्रै थप ४९ जना सांसद निलम्बनमा परेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार लोकसभाबाट थप ४९ सांसद निलम्बित भएका हुन्। जसमा फारूक अब्दुल्ला, शशि थरूर र मनीष तिवारी पनि सामेल छन्।
सोमबार मात्रै अहिलेसम्मकै धेरै ७८ सांसद निलम्बनमा परेका थिए। यस्तोमा दुई दिनभित्र १२७ जना सांसद निलम्बनमा परिसकेका छन्।
यस प्रकरणमा विपक्षी गठबन्धनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई तानाशाहीको आरोप लगाएका छन्।
केही दिनयता राज्यसभा र लोकसभामा हंगामापछि यति धेरै सांसद निलम्बनमा परेका हुन्। संसदमा महत्वपूर्ण विधेयक पेश हुने बेलामा ठूलो संख्यामा सांसदहरू निलम्बनमा परेका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार संसदीय कार्य मामिला मन्त्री प्रह्लाद जोशीले लोकसभामा बोल्दै संसद्मा अवैध गतिविधि हुन नदिन यो कदम चालिएको बताए।
हालै भएको विधानसभा चुनावमा भोगेको हारका कारण विपक्षले संसदीय मर्यादाविपरीत काम गरिरहेको उनले बताए। त्यहीकारण ठूलो संख्यामा सांसदलाई निलम्बनको प्रस्ताव ल्याउनुपरेको उनले बताए।
गत १३ डिसेम्बरमा संसद्भित्र र परिसरमा चारजनाले प्रदर्शन गर्दै रंगिन ग्यास फ्याँकेका थिए।
संसद्को सुरक्षामा भएको ठूलो कमजोरीको मामिलामा विपक्षले गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले सदनमा जवाफ दिनुपर्ने बताइरहेका छन्।
Shares
प्रतिक्रिया